बुढ्यौली : पदमप्रसाद दाहाल (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,बैशाख २२।
‘भयो ! त्यो माइक बन्द गर, झर्को लागो ।’ गौतम बाले दिक्क मान्दै माइकवालालाई भने ।
‘हुँदैन हुँदैन ! हामी रमाइलो गर्दै, नाच्दै गाउँदै जाने हो ।’ बसभित्रका सबै ज्येष्ठ नागरिकहरू एकै स्वरमा कराए ।
‘हैन, यों उमेरमा पनि के रउस चलेको यिनेरलाई, शान्तसँग बस्ता पो आनन्द हुन्छ त !’
‘तेसो होइन, रमाइलो गर्दै हिँडदा पो मनको पिर व्यथा बिर्सन्छ त !’ दाहालनी आमै हौसियिन् ।
गौतम बाको केही सीप चलेन । केही तीर्थयात्रीहरू सिटमै बसेर हात हल्लाउँदै नाच्तै थिए भने कोही चै थप्पडी बजाएर स्वरमा स्वर मिलाउँदै थिए । माइकवालाले अचानक अर्कै भजन लगाइदिए । त्यो भजनमा कोही नाचेन, कोही बोलेन सुनि मात्र रहे । भजनको बोल थियो –‘यो जिन्दगी ओइलायो सानी, हेर्दा हेर्दै गइसक्यो जवानी’ भजनमा बुढो हुँदा भोग्नुपर्ने पिर व्यथा अप्ठ्यारा सबै कुरा ओकलिएको थियो ।
सबै ज्येष्ठहरू गम्भीर भइरहेको बेला गौतम बाले मौनतालाई चिर्दै कराए । ‘ए माईकवाला भाइ ! त्यो बुढेसकालको भजन फेरि दोहोर्याएर लगाऊ न है !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।