भाग्यमान दाइ !

भाग्यमान दाइ !

कपन अनलाइन 

काठमाडौं ,फागुन १६ । राम आचार्य ‘पुष्पप्रेमी’

मर्निङ वाकमा जाँदै गर्दा
धेरै पल्ट जम्काभेट भएको मेरो ।
हातमा मार्तल र
बाँसको चेपुवा बोकेर घरबाट
झोलुङ्गे पुलको बाटो हुँदै
तल काली खोलाको बगरतिर
गिटी कुट्न झर्दै गरेको
उनै भाग्यमान दाइसँग ।
सधैं सुन्ने गर्थें
एकतमासे आवाज
ट्वाक ट्वाक ट्वाक ।
उहि खोलाको बगरमा
जिन्दगीको परिभाषा
खोजिरहेका
भाग्यमान दाइले
मार्तोलले पत्थरमा
हिर्काएको आवाज ।
उनी बाहुनको छोरा रे
पुरोहितले न्वारन मै
राखिदिएको नामै रे
भाग्यमान ।
गिटी कुट्न ठूल्ठुला
पत्थर पल्टाउँदा
गल तातेर उनका हातमा
कयौं पत्र खाला लडेका छन ।
भोलीको लागि घान पुरा पारेर
साँझ घर फर्किन्छन ।
तर रातीको मुसलधारे
बर्षासँगै आएको बाढीले
सबै पत्थर बगरमा बिलाइदिन्छ,
उहि दैनिकी लिएर
भाग्यमान दाइ फेरि झर्छन
उहीँ बाटो हुँदै
तल झर्छन खोलाको बगरमा ।
कर्मलाई धर्म ठान्ने भाग्यमान दाइ
तिनै खाला लडेका हातले
ढुङ्गा पल्टाउनुलाई नै भाग्य ठान्छन्
हत्केला भरी उठेका
हजारौं ठेलाहरूले
टटाइ रहेको हातलाई
थुकले भिजाएर नरम पार्दै
फोर्न थाल्छन ठूला ठूला ढुङ्गाहरू
उठाउन थाल्छन् गिटीका थुप्राहरू,
कठै !
आज कहाँ पुगे होलान ती
गिटी र बालुवाहरू ?
क कसका महल बने होला ?
कति बने होला सडक, पुल,
सदन र सहरहरू
कति बने होला सर्वहाराका दरवारहरू
कति दलितका महलहरू
अनि कति होटल र रेस्टुरेण्टहरू ।
दिनमा दुगुना रातमा चौगुना
गिटी र बालुवाको रुप र
स्वरूप बदलिएकोछ
तर भाग्यमान दाइको
कर्म कहिल्यै बदलिएन ।
तथापि बदलिएको छैन उसको
घरबाट झोलुङ्गे पुलको बाटो हुँदै
तल खोलाको बगरमा झर्ने क्रम ।
गिटी र बालुवाका ह्रास माथि
जीवनको एउटा सपना देख्छन
कर्मको रुन्चे हाँसो भित्र
सहासको मुस्कान छर्छन्
जिउ भरी पसिनाको
भेल गड्गडाउँछ
टन्टलापुर घामको रापमा
तन्नाको छाप्रो मुनी
आफ्नु नानीबाबु सुताएर
गिटी कुट्न मस्त देखिन्छ
भाग्यमान दाइ ।
नानीहरू ब्युँझिएर खेल्न थाल्छन
तिनै गोला, लाम्चा, च्याप्टा
ढुङ्गाहरूको भाँडाकुटी खेल ।
कोही बेला ढुङ्गाको घर बनाएर
सपना ओछ्याउँछन
कोही बेला बालुवाको
भात पकाएर भोक मेट्छन,
बगरे हुरीले ढुङ्गाको घर र
बालुवाको भात उडाइदिन्छ
क्षणभरमा उनीहरूको
सबै सपनाहरु भत्किएर
तकानाचुर हुन्छ ।
त्यही बेला उनको
मन फुरुङ्ग हुन्छ
जिउमा लपक्क भिजेको
पसिनाको गन्धलाई
चिसो हावाले उडाएर
बगर भरी छरिदिन्छ ।
कमिसनको रागले मातिएको
सुकिला ठेकेदारको प्रवेशले
बगरे वातावरण
बजारमा रुपान्तरित हुन्छ
पसिनाले लपेटिएका
गिटीको थुप्रोहरू
कौडीको भाउमा
मोलमोलाई सुरु हुन्छ ।
ती अनौठा हिप्पी कुमार देखेर
नानीबाबुहरू
डरले पर.. पर… भाग्छन
नानी फकाएर गिटी
उम्काउने दाउमा
बगर भरी चकलेट छरिदिन्छन ,
बबुरा नानीहरू !
भाग्यमान दाइको
नजिक आउँछन र
भोटाको फेर समातेर
चकलेटतिर टुलु टुलु हेर्छन् ।
उनीहरूले त बालुवा र
गिटीको स्वाद मात्र चाखेका छन्
जानेकै छैनन् चकलेटको स्वाद ।
बिडम्बना पनि कस्तो ?
कसैका नानीहरू
चकलेटको स्वादमा हुर्किन्छन
कसैका नानीहरू गिटी र
बालुवाको स्वादमा बाँच्छन ।
आखिरमा यहि त छ भिन्नता,
चकलेटको स्वाद क्षण भरमा
बिलाएर जान्छ
तर बालुवा र गिटीको पीडा
जिन्दगीभर रहिरहन्छ ।
भोगाइ अनुसारको आ–आफ्नै
जीवनको परिभाषा
परिचयकै खोजीमा
मानिसहरू तँ छाड म छाड गर्छन
कोही सुखको खोजीमा भौंतारिन्छन्
कोही बाँच्नको लागि दौडिन्छन्
सबै,
आ— आफ्नै जीवनका काहानी लेख्न
आ— आफ्नै हतारमा दौडिन्छन ।
तर भाग्यमान दाइ,
आफ्नै जीवन ज्युँने
आधार खोज्दै दौडिरहन्छ
घरबाट झोलुङ्गे पुलको बाटो हुँदै
तल झर्छन
काली खोलाको बगरसम्म ।

तपाइँको प्रतिक्रिया ।