नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता सुरु

नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता सुरु

कपन अनलाइन

काठमाडौं , बैशाख १४।

नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग चेस प्रतियोगिता शुक्रबार देखि नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको छ। लोकतान्त्रिक खेलकुदका अध्यक्ष देवेन्द्र कुमार शेरचनको सभापतित्वमा सम्पन्न भएको उदघाटन समारोहमा देश भरिका शिर्षस्थ ११२ खेलाडीहरुको उपस्थिति रहेको थियो।

प्रतियोगिताको उदघाटन नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री, नेपाली काँग्रेस पार्टीका उपसभापति मा. पूर्ण बहादुर खड्काले गरेका छन्। पूर्व खेलकुद मन्त्रालय समेत सम्हालेका खड्काले खेलक्षेत्र माथि राष्ट्रको राम्रो नजर पर्न नसकेको जिकिर गरेका छन्। उनले खेलकर्मीहरुको चाहना अनुरुप कार्य योजना बनाउन सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गरेका छन्। नेपाली काँग्रेस पार्टीले लोकतान्त्रिक खेल संघ मार्फत खेल गतिविधि गर्दै संघहरुलाई कृयाशिल गर्ने निति अवलम्बन गराउने प्रतिबद्धता जनाएका छन्।

पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कूल ६ लाख ३७ हजार ४ सय सर्वाधिक पुरस्कार राशी भएको नेपाल कै बहु प्रतिक्षित चेस खेलमा कपिलवस्तु  जिल्लाका ६ वर्षीय अंकुर पोखरेल देखि मखन चेस क्लबका ८० वर्षीय भेट्रान खेलाडी सिताराम अग्रवालले समेत सहभागी जनाएका रहेका छन्।

बुद्धिचाल खेलमा ४२ जिल्लाका राष्ट्रिय खेलाडीहरु विभिन्न विधा अन्तर्गत ४० जनाले पुरस्कार पाउने संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्। प्रतियोगिताका प्रमुख निर्णायक सोराज ताम्राकारले ७ चरणको खेल पश्चात् ४ जना सुपर नकआउट सेमिफाइनल र फाइनल खेल्नेछ भने बाकी १०८ जनाले कूल ९ चरणको खेल खेल्ने बताए।

आज सम्पन्न पहिलो चरणको गणेशमान सिंह स्मृति चेस प्रतियोगितामा हेटौंडाका शिर्ष खेलाडी एफएम क्षितिज भण्डारी, काभ्रेका सिएम मिलन लामा, रौतहटका नेपाल च्याम्पियन एफएम रुपेश जैशवाल, ललितपुर स्पोर्ट्स क्लबका सिएम कृष्ण थापा,भक्तपुरका निकेन कुसाथा, लमजुङका सविन चन्द्र घिमिरे स्पोर्ट्स क्लबकै प्रेमकृष्ण महर्जनले विजयी शुरुआत गरेका छन् ।

यसैगरी काठमाडौंका पुरुषोत्तम सिलवाल, स्पोर्ट्स क्लबका सिएम सजिन महर्जन, ललितपुरका बद्रि लाल नेपाली, ललितपुरका सुरोज महर्जन, सुदिप तामाङ, काठमाडौका जनार्दन श्रेष्ठ, पेभिलियन चेस एकेडेमीका सुशील चौधरी, स्पोर्ट्स क्लबका सोम आले, काभ्रेका राहुल चौ प्रधान, सर्लाहीका कमल श्रेष्ठ, काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठ, ललितपुरका अशोकमोहन श्रेष्ठ,धनुषाका सूर्यनारायण दास, झापाका राजन सुवेदी, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले जीत आत्मसाथ गरेका छन्।

आज सम्पन्न भएको उत्कृष्ट खेलमा बाग्लुङका अनरेटेड तोरन भण्डारीले कारोकान डिफेन्स अन्तर्गत आफू भन्दा १९१२ उच्च रेटेड आशिष् फूँयाल माथि सानदार विजय प्राप्त गरेका छन। आशिशले गलत रुक मुभ गरे पछि दबाबमा परी अप्रत्याशित हार भोग्नु परेको छ।        प्रतियोगिता पूर्व कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले चेस र अन्य खेलको स्तर उन्नति गर्न राजनैतिक भातृ संगठनहरुले एकमुष्ट प्रयास गर्नु पर्ने धारणा राखेका थिए। कार्यक्रममा नेपाली काँग्रेस पार्टीका केन्द्रीय सदस्य जीत जंग बस्नेत, मुख्य सचिव कृष्णप्रसाद पौडेल, महानगर सभापति सुभानन धाख्वा , लोकतान्त्रिक खेलकुदका महासचिव दिपक गुरुङ, जिल्ला अध्यक्ष पुनित लगायतको उपस्थित रहेको थियो । भोलि दोस्रो चरणको खेल बिहान ९ बजे देखि शुरु हुनेछ भने तेश्रो चरणको खेल दिउँसो २ बजे शुरु हुनेछ।

तपाइँको प्रतिक्रिया ।