हात जोड्न म जान्दिँन : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ,बैशाख ८।
१. गर्छन् हात खुवै दुख्ख झारेर पसिना कति ?
गोड्छन् खेत उनै झार टिपेर मसिना कति ?
ढुङ्गा ठूला यिनै फोड्छन् कोदालो खन्दछन् यिनै
गाह्रो लगाउँछन् आफैँ कपडा बुन्दछन् यिनै ।
२. दोटा हात सबैलाई पाल्ने यत्न गरी – गरी
थकाइ मार्छु भन्दैनन् गर्छन् धन्दा मरी – मरी
खान्छ मुख मिठो चोखो मिलाई बातले तर
बोकोस् करोडको झोला भोकायो हात भन्छ र ?
३. हात हुन् दिनका लागि लिनका लागि हुन् कहाँ ?
हात हुन् गुनका लागि सुनका लागि हुन् कहाँ ?
हात हुन् सीपका लागि धितका लागि हुन् कहाँ ?
हात हुन् जीतका लागि रीतका लागि हुन् कहाँ ?
४. हातको सीपले जैल्यै माथले श्रेय पाउने
ठेला हात भरी पल्टुन् आँखा टाढा रमाउने
हुँदा खानेहरू बाल्छन् हातले साँझको टुकी
हुने खानेहरू जानून् हातको यही ढुक्ढुकी ।
५. गरेर हातले काम जुँगामा ताउ लाउँछन्
गनेर हातले पैसा अनेक दाउ लाउँछन्
सजाइँदै अरू बस्दा नाङ्गै छु ठाउँ छैन क्यै
नाम चम्किन्छ मान्छेको हातको भाउ छैन क्यै ?
६. गर्छु प्रयत्न आफैँले माग्नुपर्छ म ठान्दिँन
श्रम पोख्छु परे आफैँ हात थाप्न म मान्दिँन
प्रतिवाद गरूँ किन्तु कर्म छोड्न म जान्दिँन
युध्द गर्छु परे चर्को हात जोड्न म जान्दिँन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक सप्ताहक
तपाइँको प्रतिक्रिया ।