चलचित्र समीक्षाः हिमाली सौन्दर्य र साहसिक आरोहणको जीवन्त पर्याय चलचित्र ‘एभरेस्ट’

चलचित्र समीक्षाः हिमाली सौन्दर्य र साहसिक आरोहणको जीवन्त पर्याय चलचित्र ‘एभरेस्ट’

काठमाडौँ, १४ असोज । कोही हेरेर लोभिन्छन्, कोही आफ्नो जीवनको अन्तिम लक्ष्य एकपटक भएपनि सगरमाथा आरोहण गर्नुलाई बनाउँछन् । कोही सफलताको चुचुरो चुम्छन् भने कोही त्यसपछि र कोही आरोहणकै क्रममा ज्यान गुमाउन पुग्छन् ।

तर जस्तोसुकै परिस्थिति आए पनि विश्वकै अग्लो हिमाली चुचुरो सगरमाथाले यसरी नै आफूतिर कैयौँलाई आकर्षित गरिरहेको हुन्छ ।

सगरमाथाको सौन्दर्य, आरोहणका रोमाञ्चकारी अनुभव, आरोहणका क्रममा ज्यान गुमाउनेप्रतिको समवेदना र त्यसैक्रममा मृत्युलाई जितेर फर्कनेको सफल कथालाई हालै प्रदर्शनमा आएको हलिउड चलचित्र ‘एभरेस्ट’ ले समेटेको छ ।

download

सन् १९९६ मे १० का दिन रब हल र स्कट फिशरसहित आठ पर्वतारोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउन पुगेको यथार्थ घटनालाई मुख्य विषय बनाएर निर्माण गरिएको सो चलचित्रले सगरमाथा आरोहणप्रतिको उच्चाकर्षणलाई प्रस्तुत गर्न सफल भएको छ । रब हल र स्कट फिशर अरूलाई हिमाल आरोहण गराउने काममा संलग्न हुन्छन् ।

विश्वका सातैवटा अग्लो हिमालको आरोहण गर्ने लक्ष्य बोकेकी एक जापानी महिला आरोहीले यसअघि छवटै हिमालको सफल आरोहण गरिसकेकी हुन्छिन् । सगरमाथालाई चुम्ने लक्ष्य लिएर उनी रब हलकै टोलीमा सहभागी हुन्छिन् । उनले सातौँ शिखर सगरमाथाको सफल आरोहण त गर्छिन् तर त्यसको खुसी मनाउन उनी जीवित रहन्नन् ।

यसैगरी, अर्का आरोहीले आफ्नो जीवनको अन्तिम लक्ष्य नै सगरमाथा आरोहणलाई बनाएका हुन्छन् । उनको स्वास्थ्यस्थिति राम्रो नहुँदा नहुँदै पनि सगरमाथा चढ्न पुग्छन् । उनलाई सगरमाथाको चुचुरोमा पु¥याउने जिम्मा रबले लिएका हुन्छन् । अन्य आरोहीलाई सगरमाथा पु¥याएर फर्कने क्रममा बाटोमा रबले उनलाई भेट्छन् । समय छैन फर्कौँभन्दा पनि उनले चुचुरोमा पुगेरै छाड्ने अडान लिएपछि रब उनलाई लिएर चुचुरोमा पु¥याउँछन् । तर फर्कँदा मौसमले साथ दिँदैन । रबसँग भएको अक्सिजनको सिलिन्डर पनि सकिन्छ । बिरामी साथीको तल झर्ने क्रममा खसेर मृत्यु हुन्छ । उनका लागि अक्सिजन लिएर आइपुगेका अर्का साथीको पनि मृत्यु हुन्छ । उनले आफ्नो अन्तिम अवस्थामा पनि सङ्घर्ष त गर्छन् तर प्रतिकूल मौसम र अक्सिजनको अभावका कारण उनको पनि मृत्यु हुन पुग्छ ।

स्कट फिशरको भने सगरमाथाको चुचुरोमा पुग्नुअघि नै मृत्यु हुन्छ । दुर्घटनामा मृत्यु भएको ठानिएका अर्का एक आरोहीले आफ्ना दुवै हात र नाक हिउँका कारण गुमाउन पुगे पनि मृत्युलाई जितेर आफ्ना साथीहरु भएको ठाउँमा उनी आइपुग्छन् । सफल आरोहण गरेर फर्किएकाहरु पनि आफ्ना साथीहरुको मृत्यु भएपछि आरोहणको खुसी मनाउन सक्दैनन् र आफ्नो देश फर्कन्छन् ।

चलचित्रमा आरोहणका क्रममा देखाइएका दृश्यले दर्शकलाई आफैँ सगरमाथा चढ्दै गरेको जस्तो अनुभव हुन्छ । आरोहण साँच्चिकै साहसिक र ज्यानकै बाजी राखेर खेलिने खेल भन्ने अनुभूति चलचित्रले गराउँछ । सगरमाथालाई नजिकबाट नदेखेका दर्शकले भने भरपुर मात्रामा सगरमाथाको सौन्दर्यलाई चलचित्रमार्फत दृश्यपान गर्न सक्छन् । चलचित्रले सगरमाथालाई निकै आकर्षक रुपमा देखाए पनि चलचित्र हेरिरहँदा अझै यसको आकर्षणलाई पूर्ण रुपमा उतार्न नसकेको अनुभव हुन्छ । लगभग ९५ प्रतिशत छायाङ्कन नेपालको हिमाली र अन्य क्षेत्रमा गरिए पनि हिमालबाहेक अन्य दृश्यमा नेपाललाई चिनाउने कुनै स्थानलाई देखाइएको छैन ।

चलचित्रमा जब सगरमाथा आरोहणका लागि रब हलको आरोही टोली नेपाल आइपुग्छ, उनीहरुले सार्वजनिक यातायात माइक्रोबसको यात्रा गर्दा पृष्ठभूमिमा हिन्दी गीत बजिरहेको सुनिन्छ । यसले उनीहरु नेपालमा नभई भारतको कुनै सहरमा गएको जस्तो देखिएको छ । सन् १९९६ को कथा भएपनि काठमाडौँको अहिलेको भीडभाड र भौतिक पूर्वाधारलाई फिल्ममा देखाइएको छ ।

नेपाली कलाकारले पनि सो चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा आरोहण टोलीको उद्धारमा नेपाली पथप्रदर्शक शेर्पा, नेपाली क्याप्टेन मदन केसीको भूमिकामा रहेका कलाकार विजय लामाले समेत अभिनय गरेको भएपनि उनीहरुलाई त्यति स्पष्ट देखाइएको छैन । आफ्नो ज्यानको बाजी थापेर उद्धार गर्न खटिने भएपनि शेर्पालाई त्यति राम्ररी चलचित्रमा प्रस्तुत गर्न सकेको छैन । उद्धार गर्ने क्रममा कलाकार लामाले ‘जय गोरखकाली’ भन्ने शब्द प्रयोग गरेका छन् ।

चलचित्रमा रबले अन्तिम अवस्थामा स्याटलाइट फोनमार्फत आफ्नी श्रीमतीसँग कुरा गर्दै जन्मन लागेकी छोरीको नाम ‘सराह’ राख्नु, उनी जन्मँदा आफू साथमा नभएपनि आफ्नो माया पनि दिनु भन्छन् । यसले दर्शकको सहानुभूति बटुल्न खोजेपनि त्यति सफल भएको देखिँदैन ।

चलचित्रमा कथा सकिएपछि रब हललगायत टोलीका सम्पूर्ण सदस्यको वास्तविक तस्बिर देखाइएको छ । रब हलको मृत्यु हुँदा गर्भमा रहेकी र अहिले १९ वर्ष पुगेकी छोरी सराहलाई पनि देखाइएको छ । यसले वास्तविक आरोही कस्ता थिए त भन्ने जानकारी दर्शकले पाएका छन् ।

बाल्टासर कोर्माकुरले निर्देशन गरेको सो चलचित्रमा जोस ब्रोलिन, जेसन क्लार्क, जेक ग्यालेनहाल, जोन ह्याक्स, रोविन राइट, साम वर्थिङ्टनको मुख्य भूमिका रहेको छ । चलचित्र न्युजिल्यान्ड, अमेरिका र नेपालको काठमाडौँ, सोलुखुम्बुको लुक्ला, फाप्दिङ, नाम्चे, तेङ्बुचे, फेरुचे, लोपुचेलगायतका स्थानमा छायाङ्कन गरिएको छ । यसअघि हलिउडमा सगरमाथालाई कथावस्तु बनाएर चलचित्र निर्माण गरेको पाइँदैन ।

युनिभर्सल पिक्चर्स इन्टरनेसनल र वर्किङ टाइटल प्रालिले सो चलचित्र ९ करोड ४० लाख डलरको लागतमा निर्माण गरेको बताइन्छ । असोज १ गतेदेखि विश्वभर सो चलचित्रको प्रदर्शनी गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।