ग्यास बिक्री वितरणको नयाँ व्यवस्था

धनगढी, १४ असोज । खान पकाउने ग्यासको अभाव हुन थालेको अवस्थालाई दृष्टिगत गरी कैलाली जिल्लामा ग्यास बिक्री वितरणका लागि नयाँ व्यवस्था अपनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका बिक्रेताले ग्यास बिक्री गर्दा आजदेखि उपभोक्ताको अभिलेख राखेर एक परिवारलाई एक सिलिन्डर मात्र ‘कार्ड’का आधारमा सिलिन्डर उपलब्ध गराउने, कानुनी प्रक्रिया पूरा नगरी ग्यास बिक्री गर्ने, कालोबजारी र कृत्रिम अभाव खडा गर्ने ग्यासका बिक्रेताउपर कारबाही गर्ने लगायतका निर्णय गरिएको जनाएको छ ।

यसैगरी ग्यासको न्यायोचित र व्यवस्थित वितरण भए÷नभएको बारे अनुगमन गर्ने लगायतका निणर्यसमेत गरिएको छ । यसैबीच कैलाली भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका दुईवटा ट्याङ्कर बुधबार धनगढी भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । थप एक ट्याङ्करसहित १८ वटा मालवाहक साधन सीमापारि गौरीफन्टामा नै रोकिएको जनाइएको छ ।

देशका विभिन्न सीमा नाकामा आन्दोलनकारीको विरोधका कार्यक्रम रहेको भए पनि कैलाली भन्सारको सीमा नाकामा कुनै पनि पक्षको प्रदर्शन, घेराउका कार्यक्रम नरही स्थिति सामान्य रहेको छ । ।

तपाइँको प्रतिक्रिया ।