रेडियो पत्रकार ,हरि दुलाल: महा-भुकम्पबाट खण्डहर बनेको मेरो सिन्धुपाल्चोक मेलम्चीका बस्तीहरु

रेडियो पत्रकार ,हरि दुलाल: महा-भुकम्पबाट खण्डहर बनेको मेरो सिन्धुपाल्चोक मेलम्चीका बस्तीहरु

रेडियो पत्रकार ,हरि दुलाल 

बैशाख १२ को महा-भुकम्पबाट खण्डहर बनेको मेरो बस्ती सिन्धुपाल्चोक मेलम्चीका लागि भनेर काठमाण्डौमा संकलन गरिएको एक गाडी खाद्यसामग्री बोकेर सोमबार गाउँ पुग्दा गाउँलेहरुको मनमा केहि मात्र भएपनि खुसिका लहरहरुले स्पर्श गरेको अनुभूति गर्दै आफ्नो प्रयासको श्रेय लिएर घर (जुन अहिले ध्वस्त छ) को आँगनिमा पुगे। जस्ताको टहरामुनि परिवारका सदस्यहरु घाटबाट फर्किएका मलामी जस्तो फुङ्ग उडेको अनुहार लिएर थकित र चिन्तित मुद्रामा बसिरहेका थिए। एकपट्टी भत्किएको घर एउटा कुनामा ग्यासको चुलो अर्कोपट्टी सुत्नका लागि प्रयोग गरिने कपडाहरु एकछेउमा चामलको पोको एक गाग्री पानी र केहि तरकारीहरु थिए।

sindhupalchock
आमाले एउटा थाल पखालेर खाना राखिदिनुभयो,एक कुनामा उभिएर खाना खाएँ त्यति बेला रातको १० बजिसकेकाले खाना खाएसँगै सुत्ने तयारी भयो। टहरामुनि गुन्द्री ,गुन्द्रीमाथि लगाइएको बिस्तारा,  ब्ल्याङकेट तानेर एकछेउमा ढल्किएँ। भत्किएको घरबाट निकालिएको पुरानो जस्ता भएर होला सुतेको ओछ्यानबाट सजिलै आकाशका तारा र जुन देखिन्थ निदाउने प्रयास गरेँ तर अहँ सकिन मन भक्कानियो, कसरी पखालियौं हामी, प्राकृतिक बिपत्तिले उठ्नै नसक्ने गरी गरल्याम्म ढलाइदियो सानातिना गरेर भएका तिन घर भत्किए।

khanaभकारीमा राखेको अन्नपात माटोमा मिलीन भयो सँगसँगै लत्ता-कपड़ा पुरिए भाँडाकुँडा कुच्चीए, उफ़ ! परिवारको मिहेनत र सपना ढल्यो, सुन्दर घर रमणीय लाग्ने त्यो खेल्ने आँगन फुलहरु मगमगाउने रछ्यान कसरी चिरिप्प भयो, आफ्नै अनुहार हेर्ने ऐना झऱ्यामझुरुम् फुटेजस्तो मनमा एस्तै असंख्य तरङ्गहरुले लात मार्दामार्दै रातको १२ बजिसकेछ। मलाई निद्रा नलागेको सुइको पाएरै होला अली परबाट आवाज आयो, “कान्छा निद्रा लागेन ? आफ्नो ओछ्यानको तन्ना मिलेन भने ननिदाई सानै देखि झगडा गर्थिस तल बिझाउने ढुंगामाथि पातलो गुन्द्री र डसना हाल्याछ” आमाको त्यो आवाजले निःशब्द भएँ एकपटक फेरी निमोठीएँ र आँखाबाट अनायासै आँसु बगाए ।….

तपाइँको प्रतिक्रिया ।