प्राविधिक शिक्षा नै किन ?

प्राविधिक शिक्षा नै किन ?

कपन अनलाइन

काठमाण्डौ ,पुस २८/राजेशमान के.सी.
शिक्षा मानव मात्रको पहिचान हो र विकासको मुहान हो । शिक्षा मुलतः दुई प्रकारको हुन्छ । एउटा साधारण वा सैद्धान्तिक शिक्षा र अर्को प्राविधिक वा व्यावसायिक शिक्षा । वर्तमान परिप्रेक्ष्यमा कुरा गर्ने हो भने साधारण वा सैद्धान्तिक शिक्षा भन्दा प्राविधिक वा व्यावसायिक शिक्षा बढी व्यावहारिक र रोजगारीको दृष्टिकोणले समेत बढी उपयोगी देखिएको छ । नेपालको सन्दर्भमा भन्नु पर्दा साधारण वा सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक वा व्यावसायिक शिक्षाको औचित्य र आवश्यकता बढी देखिन्छ । कारण व्यावसायिक शिक्षा सीपमूलक र रोजगारमुखी हुन्छ भने सैद्धान्तिक शिक्षाबाट बौद्धिक ज्ञान त प्राप्त हुन्छ तर रोजगार वा अर्थोपार्जनको दृष्टिले भने अलिक असान्दर्भिक र अव्यावहारिक पनि देखिएको छ ।
कुनै पनि मुलुकले समयको माग र आवश्यकता अनुरुप शिक्षा प्रदान गर्न सक्नु पर्दछ । समयको माग र आवश्यकता अनुरुप यदि शिक्षा प्रदान गर्न सकिएन भने यसबाट समाजमा विभिन्न प्रकारका विकृति र विसंगतिहरु जन्मिन सक्छन् । खासगरी सैद्धान्तिक शिक्षामा मात्र जोड दिने गर्नाले देशमा शैक्षिक बेरोजगारीको समस्या उत्पन्न हुन पुग्दछ । बेरोजगारी समस्या वास्तवमा व्यावहारिक शिक्षाको अभावले गर्दा नै उत्पन्न हुने गर्दछ । जहा“सम्म वेरोजगारी समस्याले निम्त्याउने अन्य विकृति वा विसंगतिहरुको कुरा छ, समाजमा बेलाबखत घट्ने चोरी, लुटपात र आपराधिक गतिविधिहरुमा समेत यसको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहने कुरालाई नकार्न सकिन्न । त्यसैले वर्तमान सन्दर्भमा हाम्रो लागि यस्तो शिक्षा चाहिएको छ जसले हाम्रो आर्थिक अवस्थामा सुधार ल्याई आत्मनिर्भरतातर्फ उन्मुख हुन प्रेरित गरोस् । प्राविधिक शिक्षाले व्यक्तिको कार्यकुशलतामा बृद्धि गरी व्यक्ति, समाज अनि सिंगो राष्ट्रलाई आत्मनिर्भर बन्न सघाउ पुर्याउने भएको हुनाले देशमा विद्यमान आर्थिक रुपले सक्रिय जनशक्तिलाई प्राविधिक एबं् व्यावसायिक शिक्षा प्रदान गरी दक्ष जनशक्तिको उत्पादनतर्फ जोड दिनुपर्ने खा“चो देखिएको छ ।

नेपालको श्रम वजारमा अहिले प्रतिवर्ष झण्डै ४ लाख नया“श्रमशक्तिको प्रवेश हुने गरेको तथ्यांक छ । तर रोजगारीको अवसर भने अत्यन्त न्यून रहेको छ । प्राप्त जानकारी अनसार मुलुकमा अहिले वार्षिक ४ प्रतिशतका दरले बेरोजगारीको संख्यामा बृद्धि भइरहेको छ । बेरोजगारीहरुको संख्या यसैगरी बृद्धि हु“दै गएको खण्डमा यसले अरु सामाजिक–आर्थिक समस्याहरु निम्त्याउने पक्का छ । तसर्थ देशमा विद्यमान बेरोजगारीको विकराल समस्यालाई न्यूनीकरण गर्नका लागि पनि प्राविधिक एबं व्यावसायिक शिक्षालाई गाउ“–गाउ“मा पुर्याउनु पर्ने खा“चो देखिएको छ । यसका साथै सरकारद्धारा एउटै छाता संगठनको अवधारणा ल्याई वैदेशिक रोजगारीका लागि बाहिरिएको जनशक्तिलाई समेत आवश्यकता अनुरुप आधारभूत सीपमूलक तालीमको अनिवार्य व्यवस्था गरी उनीहरुलाई वैदेशिक श्रम वजारमा खपत हुन सक्ने अवस्थामा पुर्याउन उपयुक्त नीति नियम लागू गर्नु पर्ने खा“चो देखिएको छ ।
निश्चय पनि नेपाल जस्तो गरीव र वेरोजगारी समस्या विकराल भएको मुलुकमा प्राविधिक क्षिक्षाले ज्यादै ठूलो महत्व राख्दछ । मुलुकमा एकातर्फ विकास निर्माणको लागि दक्ष जनशक्तिको अभाव खड्किरहेको छ भने अर्कोतर्फ सैद्धान्तिक शिक्षा हासिल गरेका शिक्षित बेरोजगारहरुको संख्यामा दिन प्रतिदिन बृद्धि हु“दै गइरहेको छ । त्यसैले शिक्षा सीपमूलक र रोजगारमूलक हुनुपर्ने टड्कारो खा“चो देखिएको छ । त्यसैले वर्तमान सन्दर्भमा श्रम प्रतिको सामाजिक सोचाईमा परिवर्तन ल्याई सीपमूलक अथवा रोजगारमूलक शिक्षाप्रति कसरी सम्मान र आकर्षण बढाउन सकिन्छ भन्नेतर्फ सम्बन्धीत निकायको गम्भीर ध्यान पुग्नु पर्ने खा“चो देखिएको छ । यसको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटीइभीटी०) को महत्वपूर्ण भूमिका रहन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद मुलुकको एक मात्र राष्ट्यि स्तरको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रदान गर्ने र संयोजन गर्ने स“स्था मानिन्छ । हाल यसले निम्न र मध्यम स्तरका प्राविधि जनशक्ति उत्पादन गर्ने कार्य गरिरहेको छ । प्राप्त जानकारी अनुसार हाल यस परिषद अन्तर्गत नेपाल राज्यका निजी शिक्षालयहरुमा हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, जे.टि.ए. भेटरिेनरी, कृषि, फर्मेसी, दन्त चिकित्सा, नेत्र चिकित्सा, ल्याव टेक्निसियन, इलेक्ट्रीकल, मेकानिकल, प्लम्बीङ्ग, कम्प्युटर, होटल म्यानेजमेन्ट आदि विषयमा तीन वर्ष डिप्लोमा तहदेखि छोटो अवधिमा दुई हप्ते, चार हप्ते र दुई महिने लगायतका प्राविधिक शिक्षा एवम् व्यावसायिक तालीमहरु संचालन भइरहेका छन् । यसका साथै परिषदले महिला, गरीव, दलित, जनजाति, मुक्त कमैया, वादी, अपाङ्ग, दूर्गम क्षेत्रका बासिन्दा एबं् सुविधाविहीनहरुलाई यस किसिमको शिक्षा तथा तालीम कार्यक्रममा विशेष प्राथमीकता दिई सहभागितामूलक तालीमतर्फ जोड दिएको छ भने परम्परागत सीप र प्रविधिहरुको स्तर निर्धारण गरी त्यसको प्रवर्धन र प्रोत्साहन गर्नेतर्फ पनि यसको नीति रहेको बुझिएको छ ।
त्यसो त प्राविधिक शिक्षाको महत्वबारे कुरा गर्दा आजभन्दा ५ दशक अघि नै लागू गरिएको नया“ शिक्षा योजना, २०२८ ले पनि प्राविधिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिएको थियो । तर नीति र योजना राम्रो भएर पनि फितलो राजनैतिक प्रतिबद्धता एवम् जन चेतनाको कमीले गर्दा त्यसको सफल कार्यान्वयन हुन सकेन र त्यो त्यत्तिकै तुहिएर गयो । अहिले आएर फेरि यसको आवश्यकता र महत्वका बारेमा व्यापक चर्चा परिचर्चा भइरहेको छ । निश्चय पनि प्राविधिक वा सीपमूलक शिक्षा पाएको कुनै पनि व्यक्ति वा नागरिकले नै देशलाई आर्थिक रुपमा टेवा पुर्याउन सक्तछ र यसबाट देशमा विद्यमान शैक्षिक बेरोजगारको समस्याबाट समेत देशले भरपर्दो राहत पाउन सक्तछ । यो कुरा विश्वका थुप्रै मुलुकहरुको उदाहरणबाट पनि स्पष्ट भईसकेको छ । त्यसैले देशमा विद्यमान शिक्षित वा अशिक्षित बेरोजगारी समस्याको निराकरण गर्न एवम् आर्थिक स्वाबलम्बनका लागि भरपर्दो विकल्प भनेको प्राविधिक वा व्यावसायिक शिक्षा नै मान्न सकिन्छ ।
समग्रमा भन्नु पर्दा वर्तमान सन्दर्भमा नेपाल जस्तो गरीव र विकासोन्मुख मुलुकको लागि साधारण वा सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक वा व्यावसायिक शिक्षा बढी व्यावहारिक र उपयोगी हुने देखिएको छ । किनकि प्राविधिक वा व्यावसायिक शिक्षाले नै व्यक्तिलाई दक्ष र सीपयुक्त तुल्याई आत्मनिर्भरतर्फ डोर्याउन र मुलुकमा विद्यमान सामाजिक–आर्थिक समस्या न्यूनीकरण गरी मुलुकलाई विकासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान पुर्याउन सक्ने कुरामा विश्वस्त रहन सकिन्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।