विदुर वेग !

विदुर वेग !

कपन अनलाइन, १४ भाद्र ।

काठमाडौं क्षेत्र नं. ४ र बुढानिलकण्ठ नगरपालिकाको स्थानीयस्तरमा नेकपा एमाले पाको र सुदृढ मानिन्छ । स्थानीयस्तरमा राजनीति गर्ने नेताहरुको सुदृढ र व्यवस्थित हिँडाइका कारण यी दुई भौगोलिक परिधिमा एमालेको सांगठनिक रुप राम्रो मानिन्छ । बिभिन्न कालखण्डमा साना-ठूला स्थानीय नेता लाखापाखा लागे पनि एमाले यो भौगोलिक परिधिमा हिजो जुन ठाउँमा थियो आज पनि उही ठाउँमा छ वा टसमस छैन । यसरी एमालेलाई सुदृढ र व्यवस्थित स्थानीय स्वरुप दिनका लागि यस परिधिमा खटिने केही नामहरुलाई यहाँ अन्य पार्टीकाहरुले पनि सम्मानित रुपमा लिने गर्छन् ।

यसरी सम्मानितरुपमा नाम लिइनेहरुमा कामनपा ८ का निर्मल कुइँकेल, चपलीका उद्ध्व खरेल र विदुरविक्रम खड्का, माहांकालका कुसुमकुमार कार्की, बुढानिलकण्ठका बालकृष्ण श्रेष्ठ, कामनपा ३३ की रन्जना मास्के, चुनिखेलका श्रीकृष्ण श्रेष्ठ, खड्का भद्रकालीका पहलमान खड्का आदिको नाम प्रमुखताका साथ आउँछ । त्यसो त विकास भए पनि विनाश भए पनि कपन गाविसका मिठाराम अधिकारीलाई पनि सांगठनिक भन्नेहरु पनि छन् ।

माथि उल्लेखित यिनै व्यक्तिहरुकै धरातलमा ०४९ सालदेखि आजसम्म यो भौगोलिक क्षेत्रमा एमाले प्रतिस्थापित छ । यी नामहरुसँगै केही अरु नाम पनि आए । केही उत्कृष्ट काम पनि गरे तर कालन्तरमा विस्थापित भए, तिनीहरु उल्लेख्य रहेनन् । यिनै माथि उल्लेखित व्यक्ति तथा पुस्ताको सुदृढ र व्यवस्थित कामका कारण आज नयाँ पुस्ता यो भौगोलिक क्षेत्रभित्र एमालेमा आकर्षित पनि छ । समयसँगै युवा नेतृत्व विकसित पनि हुँदैछ । तुलनात्मकरुपमा हेर्दा प्रतिष्पर्धी अन्य पार्टीभन्दा एमालेभित्र युवा पुस्तामा सत्ता तथा शक्ति हस्तान्तरण गर्ने काम बढिरहेको पनि देखिन्छ ।

यतिखेर गुटगत राजनीतिमा नरुमल्लिने पार्टी अब नेपालमा रहेन । यो परिवेशमा एमाले पनि अछुतो छैन । माथि लेखिएका वा लेख्न बाँकी सबै स्थानीयस्तरका यहाँका नेताहरुले पनि आफ्को कित्ता स्पष्ट पारिसकेका छन् । यद्यपि कोही कोही नेताहरुचाहिँ बेलाबेलामा कित्ता परिवर्तन गरेर आफूलाई कमजोर बनाउन उद्धत पनि छन् ।

IMG_1300
यतिखेर काठमाडौं क्षेत्र नं. ४ को नेतृत्वमा कुसुमकुमार कार्की छन् भने बुनपाको नेतृत्वमा संगम गहतराज छन् । यी दुवैले आफूलाई वफादार एमाले बताए पनि कार्की नेपाल पक्षीय र गहतराज ओली पक्षीय नेता हुन् भन्ने कुरामा दुईमत छैन । संगठन प्रमुखमा कार्की र गहतराज देखिए पनि बुढानिलकण्ठ नगरपालिका कार्यालयमा को प्रतिनिधि गयो पार्टीबाट भन्ने कुरासँग संगठन प्रमुखको भन्दा बढि महत्व रहने गरेको छ ।

नगरपालिकामा प्रतिनिधित्व गर्ने व्यक्ति संगठनमा काम गर्ने व्यक्तिभन्दा बढि जनसरोकारसँग गाँसिने भएकाले पनि त्यो व्यक्तिलाई भविष्यको नगरपालिका प्रमुखको टिकट दावेदार भनेर पनि लिइने गरिन्छ । नगरपालिका कार्यालयमा सहजीकरण समिति भनेर राखिएको राजनीतिक दलहरुको महत्वपूर्ण व्यक्तिहरुकै वरिपरी नगरपालिकाको विकाससँग जोडिएको पक्षहरु घुम्ने गरेकाले पनि यहाँ पुग्नुलाई सौभाग्य वा महत्व दिइएको हो । नेकपा एमालेतर्फबाट यतिखेर बुढानिलकण्ठ नगरपालिकामा प्रतिनिधित्व गरिरहेका छन् विदुरविक्रम खड्काले ।

गत असार १७ गतेका दिनबाट बुढानिलकण्ठ नगरपालिका सहजीकरण समितिमा खड्काले बिधिबत प्रवेश पाएका हुन् । नगरपालिकामा विदुरको प्रवेशलाई धेरैले अनुमान गरेका सम्म थिएनन् । वर्गीयरुपले नै आफू कम्युनिस्ट हो भन्न्ठान्ने विदुरविक्रम खड्का परिआएको खण्डमा तिखो आलोचना गर्न सक्ने मानिसको रुपमा चिनिन्छन् । पार्टीबाट स्थानीय निकायमा चुनावी प्रतिस्पर्धामा भाग नलिए पनि चपली भद्रकालीमा उद्धब खरेलले गाविस अध्यक्ष जित्दा विदुर नै पार्टी सचिव थिए ।

संगठनका क्षेत्रमा आफूलाई चलायमान र जिम्मेवार बनाउन चाहने खड्का नगरपालिकामा विसुद्ध पार्टी र जनताका लागि आफू काम गर्ने बताउँछन् । आफू व्यक्तिगत स्वार्थप्रेरित भएर केही नगर्ने बताउँदै उनले अरु पार्टीहरुसँग पनि जनताका लागि काम गर्न हातेमालो गर्न तयार रहेको बताए । सहजीकरण समितिका सबैलाई बुनपा कसरी राम्रो बनाउने बारेमै ध्याउन्न रहेको बताउँदै आफूले बुनपालाई राम्रो बनाउन सहजकर्ताको भूमिकामा कमजोरी नदेखाउने दावी गरे ।

विदुरविक्रम खड्का एमालेभित्रै पनि उग्र नै मानिन्छन् । सामाजिक संजालमा पनि उग्र नै छन् । आफ्नै पार्टीका चित्त नबुझेका कुरा पनि सामाजिक संजालमा तिखोरुपले पोख्छन् । यो लोकतान्त्रिक युगमा आफ्ना कुरा पारदर्शीरुपमा राख्नुपर्छ उनले भने । एमालेभित्र ओली गुटका मानिने विदुरलाई नगरपालिकामा प्रतिनिधित्व गराउनुमा पनि उनको कडा शैली भएकाले पनि हुन सक्ने आंकलन गरिन्छ ।

क्षेत्र नं. ४ मा माधव नेपाल पक्षको विजयपछि ओली पक्ष कमजोर नहोस् भनेर विदुरको रुपमा कडा मानिसलाई जिल्ला समितिले ल्याएको भन्ने गरिन्छ । यद्यपि उनी अघि सहजीकरण समितिमा रहेका उद्धव खरेल पनि ओली ग्रुपकै भनेर चिनिन्छन् । खरेललाई प्रदेश कमिटिमा लगेर विदुरलाई नगरपालिका सहजीकरण समितिमा ल्याइएको थियो ।

विदुर नगरपालिका आएपछि नगरले विभिन्न वडामा ३० लाख बराबरको बाटो राम्रो बनाउने शीर्षकमा गरेको खर्चको कट्टर आलोचक हुन् । उनले यो बजेटमा भ्रष्टाचार भएको बताउँदै छन् । उपभोक्ता समितिसमेत नबनाई निर्माण व्यवसायीलाई बिग्रेको बाटो बनाउने कामको उनले चर्काे बिरोध गरेका छन् ।

विदुरले सहजीकरणका अरु साथीहरुलाई पनि साथ लिएर ३० खर्च गरिएको बाटो निरीक्षण पनि गरे तर निरीक्षणमा कार्यकारी अधिकृतसहित सबै दल राम्रो काम नभएको ठहरमा पुगेको उनको भनाई छ । चित्त नबुझेको कुरा वा गलत कुरालाई प्रस्तुत गर्दा कडा वा आवेगपूर्ण प्रस्तुती दिने सक्ने उनको स्वभावका कारण आफ्ना पार्टीभित्रका र अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु उनीसँग सचेत रहने गर्छन् ।

IMG_1292

नगरपालिकाको सहजीकरण समितिमा पुगेका विदुरविक्रम खड्का विकासप्रेमी मानिस हुन् । उनले ०४२ सालमा नागी गुम्बामा गएर उद्धव खरेलसँग देखेको वा कोरेको सिमांकनका केही आधारमा अहिले चपली क्षेत्र विकास भएको उनीको दावी छ । चपलीको बाटोघाटो विकासमा तत्कालिन बेलामा पाएको दुःख सम्झिँदै अहिले अन्यत्रभन्दा चपली बस्नयोग्य हुनुमा आफूलेहरुले गरेको योगदान पनि हो भन्छन् । विकासका लागि कुनै समय आफ्नै पार्टीका साथी तथा तत्कालिन विष्णुबुढानिलकण्ठ गाविसका अध्यक्ष बालकृष्ण श्रेष्ठसँग झगडासम्म गरेको अनुभूति उनको छ ।

बुनपाको सबैभन्दा विशाल बस्ती भएको कपन क्षेत्रको विकास कमजोर भएको विदुरको धारणा छ । विशाल बस्तीलाई विकास भनिए पनि समग्रमा समस्याको केन्द्र बन्न पुगेको कपनप्रति चिन्ता पनि गरे उनले । विदुर र खरेलले चपलीमा विकासको खाका कोरेजस्तै कपनमा पनि तत्कालिन बेलामा भविष्य सोच्ने नेता भएको भए विकासको रुप अर्कै हुने थियो भन्ने धारणा उनको छ । तथापि अब पनि बस्नयोग्य कपन बनाउन आफू जोड दिने बताउँछन् बिदुर ।

बुनपाको समग्र विकासमा  विदुर खड्काको दुरगामी वेग छ । उनी बुनपाको विकासका लागि बाटोघाटोमा फोकस हुनुपर्ने बताउँछन् । ठूला योजनालाई प्राथमिकता दिँदै मकै छरेजस्तै बजेट नछर्न सहजीकरण समितिले कार्यकारी अधिकृतसँग छलफल गरिरहेको र चाँडैनै मूर्तरुप दिने उनी बताउँछन् ।

बाटो, खानेपानी, स्वास्थ्य केन्द्र र शिक्षाको क्षेत्रमा विकासको रुप उनी देख्छन् । बोल्दै जाँदा कतिखेर उनी उग्र बने भन्ने भेउ नपाउने भनेर आरोप लाग्ने विदुर माहाभारतकालिन विदुरजस्तै भविष्यद्रष्टा र कुटनीतिक बन्न सक्लान् वा नसक्लान् भविष्यले बताउला तर विदुरविक्रम खड्काको सपना साकार हुन सके बुनपाको विकासको गोरेटोचाहिँ कोरिनेछ ।

-तस्वीर: बसन्त गौतम

तपाइँको प्रतिक्रिया ।