आमाविनाको घर :त्रिलोचन आचार्य (कविता )

आमाविनाको घर :त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं , बैशाख १५।

१. गाली अम्मृत लाग्दथ्यो मकन त्यो को गर्छ गाली अब ?
थाली हर्दम भर्दथिन् म कन त्यो को भर्छ थाली अब ?
कस्ले भन्दछ कर्म नै जगत हो कर्तव्य पूरा गर
चारैतर्फ उजाड देख्दछु मता आमाविनको घर ।
२. आमा अक्षर बन्थिन् अब यहाँ के पढ्नु के पढ्नु खै  ?
आमा तागत बन्दथिन् प्रगतिमा के बढ्नु के बढ्नु खै ?
आमा जीवन बन्दथिन् असजिला गर्थिन् सबै ती पर
मान्छे हो परिपूर्ण हुन्न कहिल्यै आमाविनको घर ।
३. आमा धड्कन सुन्थिन् हृदयको बुझ्थिन् दुखेसाहरू
आमा अड्चन फाल्दथिन् दुखव्यथा आफैँ खपेरै बरू
कस्तो शक्ति रहेछ काख उनको ?लाग्दैनथ्यो क्यै डर
छानोहीन हुँदोरहेछ जगमा आमाविनको घर ।
४. बोलीमा व्यवहारमा हृदयको आदर्श जो मिल्दथ्यो
आँखामा दिलमा सधैँ सुरसिलो माधुर्य पो खुल्दथ्यो
आफैँ भै वलिदान सृष्टि सरिता गर्थिन् उनी सुन्दर
बन्ने गर्दछ अन्धकार जगमा आमाविनको घर ।
५. आमा फूल बनेर नित्य घरमा बास्ना मिठो छर्दथिन्
आमा यत्न गरेर नित्य घरमा सद्भावना भर्दथिन्
आमा एक अनेक सन्तति भरी बन्थिन् सधैँ निर्झर
कैल्यै उच्च र पूर्ण हुन्न भवमा आमाविनको घर ।
६. कोठामा जननी हुँदा चहकिलो कोठा उसै बन्दथ्यो
भान्छामा जननी हुँदा गहकिलो भान्छा उसै बन्दथ्यो
आँखामा जननी हुँदा जगत यो हुन्थ्यो त्यसै सुन्दर
न्यानो बास हुँदो रहेनछ हरे आमाविनको घर ।
७. छाती खिन्न हुँदोछ नित्य मनको विश्वास त्यो मैलँदा
धर्ती खिन्न हुँदोछ नित्य गुनको भण्डार टाढा हुँदा
सारा सृष्टि हुँदोछ खिन्न मनले पालेर नाना डर
साह्रै खिन्न हुँदो रहेछ जगमा आमाविनको घर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।