बिना मिलनको बिछोड : गजेन्द्रप्रसाद श्रेष्ठ (कविता )
कपन अनलाइन
काठमाडौं , बैशाख १५।
हिड्दाहिड्दै बाटोमा एकदिन
आँखा आँखाको बातचित भयो
मानौ वर्षौं वर्षौंको चिनजान जस्तो
यहि भेटमै पुरै कुरा गरौं जस्तो ।
म विस्तारै मुस्कुराए
लाजले धर्तीतिर हेरिन् ऊनी
त्यो लजालु मुहार उठाउन भन्दा
खै किन, अगाडि बढेनन् यी पाइला ।
वर्तमानमा नियमित भएको छ
नयन नयनको वार्तालाप
सँगै थपिएको छ
दुबैको दन्तलहरको मुस्कान ।
हामीलाई
निकै पटक बसन्तले स्वागत गर्न खोज्यो
सूर्यले एकताको लागि उर्जा दिईरह्यो
पवनले निरन्तर जिस्काईरह्यो
तरपनि सडकको दुई किनारामै रह्यौ हामी ।
एकाएक एकदिन
सडकबाट आँखाको ज्योति
चाँदीको मिठो मुस्कान हराएपछि
म खोज्दैछु अहिले
आँखाको भाकामामुस्कान सहितको एकताका अवरोधहरू ।
‘मौकामा चौका हान्ने’ नेपाली उखानका बिपरित
समय पनि चल्दो रहेनछ
मन मुटु र मष्तिस्कले आफैंलाई दोषी करार गरेपछि
प्रत्यक्षदर्शी समयले भन्योः–
‘मनुष्य, दोबाटोमा निर्णय नगरेपछि
जिन्दगीको यात्रामा
पछुताउँनुको विकल्प रहदैन ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक