कोरोना र मेरो अनुभव : गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ (अनुभूति)
कपन अनलाइन
काठमाडौं ,मंसीर ६।
विश्वमापाँच करोडभन्दा बढी मानिसलाई अतिक्रमण गरेर तेह लाखभन्दा बढीको ज्यान लिइसकेको कोभिड – १९, कोरोना भाइरसले दक्षिण एशियाली देशहरू मध्ये नेपालमा सबैभन्दा बढी आक्रमण गरिरहेको अवस्था छ । छिमेकी भारतमा समेत यसको असर र मृत्युदर कम भैरहेको अवस्थामा नेपालले उसलाई पनि जितेको छ । चिन, भुटान, न्युजिल्याण्ड आदि देशले सहजै यसलाई नियन्त्रण गरिसकेको अवस्था छ भने बाँकी देशमा यूरोप र अमेरिका बाहेकका देशमा नियन्त्रणोन्मुख रहेको छ ।
नेपालको वर्तमान अवस्था सहज देखिएको छैन । त्यसमा पनि सङ्घीय राजधानी रहेको उपत्यकाभित्र काठमाडौ जिल्लाको अवस्था भयावह भै सरकारी निकायको नियन्त्रण बाहिर पुगेको छ । यो अवस्थाजनसमुदायको मात्र हैन सरकारी निकायबाट बेला बेलाआइरहने वक्तव्यले नै पुष्टि गरिरहेको छ ।
केन्द्रिय नियामक समित तथा निकाय किंकर्तव्यविमूढको अवस्थामा पुगेका छ । मात्र छ जना सङ्क्रमित भएको अवस्थामा एकाएक लकडाउनको घोषणा गरी एसीई परिक्षा नै बन्द गराएको सरकारले अहिले दुईलाख भन्दा बढी सङ्क्रमित र लगभग एघार सय नेपालीको मृत्यु भैसक्दा पनि केही गर्ने आँटपरक घोषणा नगरी हात उठाएर मौन बसेको छ ।
सुरुवाती क्रममा नेपालकै पर्सा र बाँके जिल्लामाजुन रूपमा भयावहको अवस्था थियो त्यो अवस्था अहिले छैन । त्यहाँको जनसमुदाय, राजनीतिक निकाय र सरकारी तथा गैरसरकारी निकाय यसर्थमा बधाइका पात्र छन् । तर राजधानी काठमाडौंभने अपवादको रूपमा देखापरेको छ ।
प्रदेश सरकार र स्थानीय सरकार ती स्थानहरूमा निकै सक्रिय भएभने त्यस्तो अवस्था यहाँ हुन सकेन । वाग्मती प्रदेश सरकार भन्दछ “उपत्यकाको तीनै जिल्ला सङ्घीय सरकारको जिम्माको हो ”। यता स्थानीय सरकार अलमलिएको अवस्था छ भने आशाको केन्द्रविन्दु रहेको केन्द्रीय सरकारको हातउठाइ तथा लाचारीपना समेत देखिएको छ । जुन समयदेखि सरकारले गृह बन्द (lockdown) को अवस्था सिर्जना गर्यो सोही बेलादेखि यहाँको अवस्था विकरालबन्दै गयो । यो कुरा सरकारी विज्ञहरूले पनि बुझ्न सकेनन् ।
अरबौ रूपिँया खर्च भैसकेकोले नहुनेको बाहेक अन्यको उपचार गराउन अब सरकार सक्दैन, त्यतिमात्र हैन कोरोना ग्रस्तलाई सरकारी संस्थाहरूमा छुट्टै व्यवस्था गरेर राख्न सकिन्न भन्दैः घरमै बस्ने व्यवस्था एकाएक गर्यो । यस्तै पीसीआर टेष्ट पनि सबैको गर्न नसकिने घोषणा गर्यो । यहीबेला देखि काठमाडौ उपत्यका झन् उच्च जोखिममा पर्न पुग्यो । यहाँ स्थायी वसोवास गरिरहेका कुल जनसमुदायको आधाभन्दा बढी जनसंख्या कामदारको रहेको छ । उनीहरूको नत घरमा छुट्टै बस्ने व्यवस्था छ न पीसीआर गर्ने पैसा ।
त्यसैले रोग लुकाएर हिंड्ने र रोग लागे पनि सहेर बस्ने तर नजँचाउने प्रवृत्तिको विकास हुनगएको कुरा सरकारी विज्ञहरूले थाहापाएर पनिचुप रहे । सरकारलाई उपयुक्त सुझावदिन सकेनन् या सरकारले प्राप्त सुझावहरू रद्दीको टोकरीमा राखीदियो । यही कारणबाट राजधानीको दुरावस्था भएको हो ।
यो भयावह अवस्थाको शिकार लेखक स्वयं पनि पर्न गयो । परिबारको कुनै पनि सदस्यको जान अनजानको गल्तीले सबै परिबार ग्रस्त हुने र जतिसुकै प्रयास गर्दा पनि कोरोनाको प्रहारबाट वच्ननसक्ने रहेछ । अधिकांश नेपाली वा राजधानीबासी, समाजको अनेक प्रकारको दुत्कार र सम्भावित बहिष्करणको कारण हल्लानगरी चुपचाप बस्ने रहेछन् । सरकारी नीतिपनि सुरुदेखि नै यसलाई व्यक्तिगत स्वतन्त्रता भित्र राखेर व्यक्तिको परिचय गोप्य राखिदिने परिबाटी बसालि दिएकोले स्थानीय निकाय समेत सो नियम मान्न बाध्य भए ।
यसले गर्दा कुन् छिमेकीको अवस्था कस्तो ?भन्ने कसैलाई पनि थाहा हुने अवस्था भएन । परिबारका सबै सदस्य ग्रस्त भएपछि अत्यास लाग्दो जीवन हुनगयो । परिबारका सदस्य मध्ये एकजना प्रहरी अस्पतालको चिकित्शक भएको कारण उपचारमा असहज त भएन तर ऊ स्वयं ग्रसित भए पछिको स्थिति भने गम्भीर बन्नपुग्यो । आफू स्वय मधुमेह र उच्च रक्तचाप तथा सहचारीको दमको समस्या भएकाले सबैजना चिन्तित हुनु स्वाभाविक थियो, भयो पनि ।
नलाग्नु रोग लागिसकेको प्रमाणित भैसकेपछि त्रशित हुने कुरा नभएर संयमित र आशान्वित हुनु नै रोगसँग लड्ने मुख्य साधन हो । परिवारको मूल सदस्यले सबैलाई सान्त्वना दिनु आवश्यक थियो दिइयो, तीन चार दिनप्रायः सबैलाई जरो, दुखाइ आदिको कारण कष्ट अनुभव भएपनि स्वीकृत चिकित्शको सल्लाह अनुसार गर्दा र औषधि सेवनगर्दा विस्तार रोग कमहुँदै जाने स्पष्ट अनुभव भयो ।
यसको साथै नियमित रूपमा शारीरिक व्यायाम, प्राणायाम र ध्यानमा आफूलाई लगाउँदा आत्मसाहस बढ्न गै रोगको असर त्यति नपर्ने स्पष्ट भयो । यो रोगको सार्वजनिकीकरण नगर्न परिबारका सदस्यहरूको सुझाव रहे पनि रोग प्रमाणित भएको तीन दिनमा फेसबुकको माध्यबाट आफू कोरोना ग्रस्त भएको कुरा सार्वजनिक गरियो ।
धेरैले सहानुभूति र शुभकामना दिए, भेट्न कोही आएनन्, आउने कुरा पनि भएन । स्थानीय सरकारका प्रमुखले एक दिनफोन गरेर हालचाल बुझ्ने कामबाहेक कसैको सोधनी समेत भएन । १७ दिन भएपछि स्थानीय निकाय अन्तर्गत रहेको स्वास्थ्य केन्द्रमा पुनःपीसीआर टेष्टको लागि जाँदा कार्यरत स्वास्थ्य कार्यकर्ताहरूले भन्नुभयो “तपाइँको पोजेटिव आएको १७ दिन भैसकेकोले अब परीक्षण गराउनु पर्दैन, तपाइँबाट कसैलाई सर्दैन त्यसैले आफ्नो कार्यक्षेत्रमा काम गर्न सक्नुहुनेछ । सरकारी नीति नै यस्तै छ यदि गराउनु हुन्छ भने निजी अस्पतालमा जानुहोस् भनी फिर्ता गरि दिए । निजी अस्पतालमा गै परीक्षण गराउँदा पोजिटिव आयो । त्यसको सात दिनपछि पुनः परीक्षण गराउँदा पनि उस्तै अवस्था देखिनपुग्यो ।
तर उपरोक्त सरकारी नीतिको हवाला दिँदै कर्मचारीले भनेको कुरालाई समाजले स्वीकार गरेन । नियमित घरबन्दमा बसी निको भैसकेको अवस्था भएपनि गोप्यता नराखिएको कारण समाजका प्रत्येक सदस्यले नेगेटिव आएको प्रमाण खोज्न थालेपछि भने सामाजिक स्थिति गम्भीर रहेको पुष्टि भयो ।
यसले गर्दा कुनै पनि समाजिक काम गर्न सकिने अवस्था देखिएन । सरकारले नीति बनाउने तर यसको प्रचार गर्न र जनतालाई बुझाउन नसकेको कारण हजारौं तथाकथित कोरोना मुक्त नेपाली बहिष्कारको शिकार हुनुपर्ने अवस्था विद्यमान छ ।
एक महिनाभन्दा बढी घरबन्दमा रहेर पनि बाहिर निस्केर आ–आफ्नो काममा लाग्नसक्ने सामाजिक अवस्था छैन, मेरो र परिबारको अवस्था पनि यही छ । पूर्व निश्चित भै तयारी समेत सम्पन्न भएको कार्यक्रम पनि सामाजिक बहिष्करणको कारण बाध्य भएर स्थगित गर्नु पर्यो। १४ दिनपछि सरकारी कार्यमा कर्मचारी खट्न सक्छन् तर समान्य कामदार, यदि उसले आफूलाई लागेको रोग नलुकाएको अवस्थामा काममा फर्किन नसक्ने अवस्था विद्यमान छ ।
परीक्षण गर्न पैसाको आवश्यक पर्ने तैपनि नेगेटिव आइहाल्ने सम्भावना धेरै कमहुने भएकोले आजभोलि नेपाली कामदार समाजिक बहिष्करणको कारण रोग लुकाउन बाध्य देखिएका छन् । रोगग्रस्त अवस्थामा धेरै नेपाली यथास्थानमा यथावत काम गरिरहेको पाइने र कामदार नभएकाहरू पनि रोग लुकाएरै हिंड्ने भएकाले रोगको अतिक्रमण भयावह भएको हो ।
सरकार यसरी आँखाबन्द गरेर बस्न मिल्छ ? कोभिड- १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) अहिले मौन भएर बसेको छ । काठमाडौ उसकै कार्यक्षेत्र रहेको राजधानी जिल्लालाई वेवारिसी बनाएको छ ।
सो समितिको लाचारीपनको कारण सरकार समेत काठमाडौ प्रति उदासीन भएको देखिएको छ । राजधानीलाई माया गर्ने राजधानी नै चुनाव क्षेत्र भएका नेताहरू केन्द्रिय सरकारमा नभएको कारण पनि यसरी उपेक्षित भएको अनुमान काठमाडौबासीले लगाउन थालिसकेका छन् । यदि सङ्क्रमितहरूको पूर्ण सरकारी नियन्त्रण हुनेगरी सरकारी स्वास्थ्य केन्द्र वा सरकार नियन्त्रित अस्थायी स्वास्थ्य शिविरको पर्याप्त व्यवस्था हुनसकेको भए कसैले पनि गृहबन्दमा बस्न बाध्यहुनुपर्ने थिएन र यो रोगले आफ्नो पञ्जा भयावहरूपमा फैलाउन सक्ने थिएन । उदाहरणको रूपमा माथि वताइए अनुसारका जिल्लाहरूले प्राय सबैलाई गृहबन्दमा बस्न बाध्य पारिएको भए उनीहरू सङ्क्रामक रोग नियन्त्रण गर्न यसरी सफल हुने थिएनन् ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक