देशको गीत : दिनेश विक्रम थापा (कविता )

देशको गीत : दिनेश विक्रम थापा (कविता )

कपन अनलाइन

काठमाडौं ,मंसीर ६ ।

पीडाका नदीहरू माथि
आमाले ओढेको खास्टो झैं उज्यालो
एउटा पुल बनाउन फर्केको छु
आफ्नै गाउँ देश
आखिर,
फुल्दो रहेनछ गुराँस

ठडिँदो रहेनछ सम्वृद्धिको आकास
जति रोपे पनि
मोतिदाना यो मरुभूमिमा !

मेरा सपनाहरू
टिप्छु र फर्कन्छु भनेको थिएँ
आमाको परेलीको डिलमा जमेको
अभावको गहिरो दह
मञ्जुश्रीले चोभार काटेर बगाएझैं नागदह
बगाउन सक्ने भएर फर्किन्छु भनेको थिएँ
सान्नानीको,
उध्रेको चोली र फाँटेको लुङ्गी
फेर्न सक्ने भएर फर्किन्छु भनेको थिएँ
नानीबाबुहरूको,
उज्यालो भविष्यको बाह्रखरी
लेख्न सक्ने भएर फर्किन्छु भनेको थिएँ
सकिएन, पटक्कै सकिएन ।
मरुभूमिमा,
कहिल्यै बसन्त आउँदो रहेनछ आमा !
नानीहरूलाई,
सधैँ उधारा सपनाहरू बाँड्न सक्दिनँ
त्यसैले,
म फर्केर आउँदैछु आफ्नै गाउँ देश !

०००

बगाउँछु पसिनाको नदी
फोर्छु बाँझाबारी र खेतका गराहरू
फुलाउँछु ढकमक्क लालीगुराँस
हत्केलाहरूभरी
रोप्छु सृजनाका सुनाखरीहरू
मेरा पाखापखेराहरू भरी
शून्यवस्तीहरू
पूर्ववत घमाइलो बनाउँछु
आँगनमा फुलेका घामफूल  जस्तै ।
आमा,
हाम्रो सिमाना हडप्दै छ छिमेकी
पढेको छु अखबारका पानाहरूमा
र देखेको छु इन्टरनेटमा यसको नयाँनक्सा
कालापानी
लिपु लेक र लिपियाधुरा
हराएछन् रातारात मेरो नक्साबाट

लड्छु सिमाको लडाई
जोगाउँछु मेरो देशको माटो
आमा,
मलाई मेरो रगतले
आफ्नै माटो रङ्गाउन मन लागेको छ
जुरेली चरी झैं
स्वाभिमानी बन्छु र बस्छु आफ्नै गाउँ
पौरख गर्छु र सिँगार्छु आफ्नै गाउँ
डम्फु,मादल र खैजडी बजाउँछु
बाँसुरी, सारङ्गी र मुर्चुङ्गा बजाउँछु
र,
निरन्तर गाइरहन्छु देशका गीत ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।