महामारीले ल्याएको गाउँ विकासको अवसर

महामारीले ल्याएको गाउँ विकासको अवसर

कपन अनलाइन

काठमाडौं ,असोज २४ /सविता पोखरेल
म गाउँमै जन्मे, गाउँमै हुर्के । धेरैजसो त्यही पढेँ । गाउँ नै सर्वेसर्वा थियो मेरो लागि । गाउँ छोडेर उच्च शिक्षाको लागि भनेर शहर पसेपछी वर्षमा केही पटक थोरै समयका लागि मात्र गाउँ जान्थ्यौं । दशैं तिहार वा असार÷साउनमा । बाध्यताले गाउँ बस्न नपाउँदा कहिलेकाँही आफैप्रति गुनासो रहन्छ । बाँकी जीवन गाउँमै व्यतित होस् भन्ने चाहाना छ अझै पनि ।
गाउँ पुग्दा, त्यहाँ रहँदा शहर बस्ने दिनहरूको लागि शक्ति भरेर आए जस्तो, मानौं आफु ब्याट्री चार्ज भएजस्तो लाग्थ्यो । म स्फूर्त हुन्थेँ । हल्का हुन्थेँ । भएका तनावहरू सखाप हुन्थे । वेदना भए बतासिन्थे । कुनै महिला बच्चा जन्माएपछि पूर्ण हुन्छे भन्ने कुरा पनि नचाहिँदो लाग्थ्यो मलाई जब म गाउँमा पाइला टेकेर फर्किरहेको हुन्थेँ । किनकी आफूलाई पूर्ण अनुभूति गर्न सक्थेँ । यति प्रसन्न हुन्थेकी त्यसको मापन कुनै यन्त्रले गर्न सक्दैन ।
शहर रहरले कहिल्यै बसिनँ । कुनै निश्चित योजना बनाएर चट्टै यहाँको बसाई छोडेर गाउँ जान पनि सकिनँ किनकी शहरले मलाई बाध्यताको भूमरीमा फसायो । धेर–थोर कमाईमा भुलायो । जागिरको प्रलोभनमा डुलायो । आर्थिक अभावको उन्मुक्तिमा यतै कुदायो । भौतिक सुख र सम्पन्नताको खोजमा दौडायो ।
शहरबाट कोलाहल र प्रदुषणले वाक्क भएर भाग्दै एकदिन म थाहा पत्तो नभएको गाउँको एक झुपडीमा गएर बास बसेको थिएँ । जहाँ एक दिदी हुनुहन्थ्यो र एक जना बिरामी मान्छे पनि हुनुहुन्थ्यो  । भुकम्पले भएको घर भत्काइदिएपछि राहतमा पाएको जस्ताले टहरो बनाएर बसिरहनुभएको थियो । त्यो अनिश्चित यात्रामा निस्कँदा बोकेको केहि फलफूल मैले उहाँहरूसँग बाडेर खाएको थिएँ र उहाँहरूले बेलुकी बास र गाँसको बस्दोबस्त गरीदिएर ठूलो गुन लगाउनुभएको थियो । उहाँहरूको जीवनशैलीमा गाउँलेपन थियो । महल थिएन तर विशाल मन थियो । धन थिएन तर हार्दिकता थियो । सद्भाव र माया थियो ।
भनिन्छ नी मानिस कहिल्यै एक्लो हुदैन । ऊ भित्र उसको मित्र हुन्छ जसको शक्तिले मानिस नियन्त्रित हुन्छ । त्यही म भीत्रको मित्रले मलाई त्यहाँ पु¥याएको थियो । गाउँघरको न्यास्रो वा त्यहाँ पाइला टेक्ने हुटहुटीले पनि त्यो डाँडा  सम्मपुर्याउन  धेरै मात्रामा भूमिका खेलेको थियो । यसरी त्यो नयाँ ठाउँको गाउँमा पाइला टेकेर भएपनि मैले काठमाडौंबाट टाढा अवस्थित मेरो गाउँको न्यास्रो मेटेको थिएँ ।
बर्खामा झमझम परेको झरी गाउँखेतकै झल्को दिलाएर जान्छ । ‘डी’ खोलाको भेल खेतमा पस्थ्यो । म दौडदै खेतमा पुग्थेँ र भेललाई खोलैखोला पठाउन खेतको आलीतीर भएको माटो उप्काउन कोदाली उठाउथेँ । बढ्दो वर्षासँगै खोलाको पानी पनि उत्तेजीत भएर बढ्दै जान्थ्यो । माटोका ठूलाठूला चप्काहरू खेत र खोलाको सिमानामा राखेपछि भेल झनै वेग्र गतिले ओरालो लाग्थ्यो मानौं उसको यात्रा तय भइसकेको छ र उसलाई छिटो गन्तव्यमा पुग्नु छ । सागरदेखी बादलसम्म, बादलदेखी सागरसम्म ।
गाउँमा मानीसहरू घाम पानी नभनी खेतबारीमा काम गरीरहन्छन् । कोही दिनभर खेतमा पानी लगाउँदै घाँस काट्छन् । कोही खेतको पानी र हिलोमा खुट्टा डुबाउँदै दिनभर धान रोप्ने, गोड्ने गरीरहन्छन् । कोही दाउरा चिर्ने, मलको भारी बोक्ने गर्छन् । कोही कोदो रोपीरहन्छन्, खेतबारी जोतीरहन्छन, खनीरहन्छन् । शारीरिक रूपमा घोटिदैं दिनहरू बितीरहेको हुन्छ । यसरी भविष्यको सुन्दर कल्पनामा गाउँका किसानहरू वर्तमान समय खेतबारीमा श्रम गरेरै रमाइरहेका छन् । यसमा उनीहरूलाई कुनै खेद छैन । हीनताबोध हुँदैन । प्रायः अरूको कमाई र परिश्रममा किसानहरू कदापी आश्रित हँुदैनन् । यसैले पनि किसानहरू बस्ने ठाउँ गाउँ भएको हो । र त्यो गाउँ प्रायः सबैको सुन्दर ठाउँ भएको हो । अझै जनसंख्याको ठूलो हिस्सा कृषिमा आश्रित भएकोले पनि किसानहरूप्रति सम्मानसहितको सहयोगको भाव जाग्नुपर्छ । अन्य अर्थ नलागेमा सम्माननीय र माननीय अरू कसैलाई नभनेर ति श्रमका पूजारीहरूलाई भन्दा शोभा हुन्छ जस्तो लाग्छ मलाई । प्रायः अरूको कमाई र परिश्रममा आश्रित भएर खानेहरूको ग्याष्ट्रिकले पेट फुलीरहेको हुन्छ भने आफ्नै मेहेनत र परिश्रम गरेर खाने र अरुलाई खुवाउनेहरुको गर्वले छाती फुलिरहेको हुन्छ ।
भौगोलिक रूपमा पनि विशेष हुन्छन् पहाडका गाउँघरहरू । तराइमा बसिरहेको एउटा मानिस पहाडमा एउटा घर अडिएको देख्दा पनि आत्तिन्छ । कसरी जाने त्यहाँ ? कसरी बस्छन् मान्छेहरू ? कसरी अडिइरहेको छ घर ? त्यहाँका मानिसहरूले सामान्य लिइरहँदा ऊ भने अचम्म मानेर हेर्छ । उसलाई उकाली÷ओराली हिड्न मुस्किल पर्छ । झरना र भञ्ज्याङ अनौठो लाग्छ । यही काठमाडौंमा जन्मिएर हुर्केकाहरूलाई चोभार डांडो अत्याधिक रमणीय र सुन्दर लाग्न सक्छ तर हामीजस्ता नौ डाडा कटेर मामाघर जाने गरेकाहरूलाई त्यो दृश्य सामान्य लाग्नु पनि ठीकै हो । त्यसै गरी तराईक्षेत्रका गाउँघर वा शहर वरपर एउटै पहाड ठड्डीएको नदेख्दा पहाडमा जन्मेहुर्केको मानिसलाई बडो अत्यास लाग्छ । त्यहाँ चल्ने बतासको आवाजले कहाली लाग्छ । यसले हामी के बुझ्न सक्छौ भने त्यहाँ एउटै दृश्य वा कुराको पनि फरक–फरक मत प्राप्त हुन्छ जहाँ भिन्नाभिन्नै वातावरणमा हुर्किएका मानिसहरू छन् । जुन क्षेत्रको भए पनि गाउँले जीवन उत्कृष्ट हुन्छ । स्वस्थ र रोचक हुन्छ ।
जताततै फोहोर थुप्रिएर, धुलो उडेर सास फेर्न पनि गा¥हो भईरहेको शहरको उकुसमुकुसपूर्ण जीवनबाट अत्तालिएर कहिलेकाही म केवल कल्पना गर्ने प्रयास गर्छु कि सबै फोहोरहरू छुट्याएर फोहोरलाई व्यवस्थापन गर्ने यन्त्र बनेको । सबै फोहोर उत्पादनकर्ताहरूलाई फोहोर व्यवस्थापनमा सहजता मिलेको । फोहोर मोहोर बनेको । यो कल्पना गर्नै पनि गा¥हो छ । किनकी शहर धेरै प्रदुषित भईसकेको छ, भईरहेको छ ।
फोहोर उत्सर्जनको कारण को हो ? भन्ने कुरा मनमा आउँदा “गाउँबाट आएका मानिसहरूले गर्दा यहाँको वातावरण दुषित हुँदै गयो” भन्ने कुरा नसुनिएको पनि होइन । त्यसकारणले पनि सायद त्यस्तो कल्पन्छु । कुरा जायजै हो । त्यसैले आफु पनि यसमा एक दोषी भएको आभाष बढ्दै जान्छ । अनि निर्दोषी बन्नेतर्फ सोच्नुपर्यो । बढ्दो अनियन्त्रित जनसंख्याले फोहोरमात्र हैन बेरोजगारी, भोकमरी, बजार माग, कालोबजारी जस्ता सबै कुराहरू बढाउँछ तर देशको समृद्धिचाँहि घटाइरहेको हुन्छ ।
कोभिड –१९ नामक भाइरसको संक्रमणको त्रासपछि भने भित्र–भित्र जनसंख्याले निम्त्याउने कोलाहलहरू कति होलान् तर बाहिर लकडाउनले शान्त थियो शहर । गाडीहरू कम गुडेका थिए । फोहोरको मात्रा कम भएको थियो । विष्णुमती, मनोहरा, रूद्रमतीहरू कञ्चन बगिरहेका थिए । सडक र नदीहरू तुलनात्मक रूपमा पहिलेभन्दा धेरै सफा देखिन्छन् । मौसम पनि सफा देखीन्छ । नदेखीने हावा पनि गर्मी हटाउन बहिरहेको छ । यसैबीचमा नदेखीने भाइरसको प्रकोप र यसबाट बच्ने क्रममा आइलाग्ने अनेकन समस्या पनि हामीमाझ ज्यूँकात्यूँ छ । यही कारणले पनि उच्च शिक्षा, राम्रो कामको अवसर र व्यापार व्यवसायको लागि शहर छिरेकाहरूमात्र हैन विदेशीएकाहरू पनि अहिले अत्याधिक गाउँघरको सम्झना गरिरहेका छन् । त्यो स्थान जहाँ जीवनको प्रादुर्भाव भएको हो कसको प्रिय नहोला र ? त्यसैले त वृद्धावस्थामा वा जीवनको अन्तिम क्षणमा मानिसहरू आफ्नो गाउँठाउँमा जाने इच्छा गर्छन् । ए, ज्यूदाँ जवानहरू हो जीवनको अन्तिम क्षण नहुँदै ति गाउँघरमा बसेर उच्चशिक्षा, राम्रो काम र स्थानीय व्यापार व्यवसायको सम्भावनाहरू बढाउने प्रयास गर्ने कि मर्ने बेलामा गाउँमा पाइला टेक्ने रहरले जाने ? यो प्रश्न स्वयं मेरोे लागि पनि उठेको छ ।
अहिले देशमा तीन तहको सरकार छ । उनीहरूको दम्भ, आत्मविश्वास र व्यवहारले यो लाग्दैन कि कोही भन्दा कोही कम छ । तर राज्य शक्ति हरेक तहमा विकेन्द्रीकरण भइरहँदा वस्तु तथा सेवाको उत्पादन वितरण र नियन्त्रणमा सबै अंगहरू आफैंमा सक्षम हुनुपर्ने चुनौती पनि छ । विकासका गतिविधिहरू सबै क्षेत्रमा समान रूपमा अगाडि बढाउनु पर्ने अवस्था छ । केन्द्र सरकारले नियन्त्रणमूखी, सल्लाहकार र समन्वयको भूमिकालाई हेलचेक्र्याई नगरी निभाउनु छ । अब स्थानीय र प्रदेश सरकारहरू पनि आफैंमा मजबुत हुने बेला आएको छ । संघियताको मर्म शक्ति विकेन्द्रिकरण गरी स्थानीय स्रोत साधनको सहि परिचालन गर्दै उत्पादन वृद्धि गर्नु हैन र ? नेताहरू याने नेतृत्वकर्ताहरूले यसलाई बुझ्नु पर्ने हैन र ? के छ स्थानीय स्रोत साधन परिचालनका नयाँ योजनाहरू ? के गरी संघ, प्रदेश र स्थानीय सरकारले सम्पूर्ण नागरीकलाई नेपाली हुनुमा गर्वको अनुभूति दिलाउन सक्छन् भन्ने कुरा सरकार प्रमुख तथा सम्बन्धीत व्यक्तिहरूका भाषण र भुलभुलैयासहितका कार्यक्रमहरूले हैन की उनीहरूको व्यवहारले बताउँदै जानेछ ।

आशा गरौं गाउँघरका अभावहरू क्रमशः पुरा हुदै जानेछन् । नयाँ–नयाँ कृषि क्षेत्रका लागि औजारहरू बन्नेछन् । किसानहरूका मागहरू सम्बोधन हुनेछन् । कृषि क्षेत्रमा क्रान्ति हुनेछ । गाउँघर नै सुन्दर, शान्त र वातावरणमैत्री बन्नेछ ।
अप्ठ्यारोमा, पिडामा, महामारीमा सम्झने भनेकै आफ्नोलाई हो । आफ्नो गाउँ ठाउँ सम्झिएर यतिबेला धेरै मानिसहरु विदेशबाट र शहरबाट गाउँ गाउँमा पुगेका छन् । आफ्नो प्रिय ठाउँ पुगेका छन् । घरमा जे छ, मिठो मसिनो खाएर भएका खेत बारी, पाखा र कान्लामा कोदालो चलाउन उद्दत्त छन् । अब भविष्यको बाटोहरु कसरी बनाउने ? केही योजनामा छन् भने अधिकांस अन्योलमा छन् ।

फलामलाई आकार दिन तातेकै बेला हान्नुपर्छ भनेझै गाउँहरुको विकास गर्ने पनि अवसर यही हो । हाम्रा पूर्खाको नासो हाम्रा सन्ततीलाई कस्तो रुपमा सुम्पने हो ? त्यसको प्रारुप बनाउनुपर्छ । आफ्नोपन र मौलिकतालाई कुन रुपमा विकसीत गराउने हो ? अब त सोच्नैपर्छ । अधिकांस युवाहरु गाउँ फर्केका बेला हामी विकासका ठोस कदमहरुको लागि ज्ञान र विवेकसहित सही मार्गमा लाग्नुपर्छ र सबैलाई त्यसमा सहभागी गराउनुपर्छ । अब सबै सरकारहरु तात्नुपर्छ, सरकारका मान्छेहरु जाग्नुपर्छ । यसमा गाउलेहरु पनि लाग्नुपर्छ ।

गाउँको सरोकार राख्नेहरुलाई झक्झकाउनुपर्छ । हामी सधै देश विकास भएन मात्र भन्छौं । देश विकास हुन त एक एक गर्दै अनेक गाउँहरु पनि त विकास हुनुप¥यो नि । पहिले आ–आफ्नो गाउँ बनाउँ अनि स्वतः देश विकास हुन्छ ।
यसरी मलाई यस्तो र उस्तो गर्नुपर्छ भनेर यहाँ लेख्न सजिलो भएजस्तो किञ्चित सजिलो छैन देश विकास हुन । देश भित्र धेरै अङ्ग र प्रत्यङ्ग हुन्छन् । ति अनेकन अङ्गहरुको अवस्था, समस्याबारे अवगत भएर समाधानको लागि आवश्यक पहलकदमी चाल्ने को ? हामी अधिकांसको सोच र कर्म एकै हुदैन ।

यहाँ हरेक नागरीकहरुको मानसिकता र उसको व्यवहारकै संयोजनमा आधारित हुन्छ कुनै पनि गाउँ, शहर वा देशको विकास कति मात्रामा भयो, हुदैछ र हुनेछ भन्ने विषय । तथापि राम्रो काम गर्नलाई राम्रो कुरा हामीले सोच्नु त पर्छ नै ।
हाल चर्चित भाइरसबाट संक्रमितको संख्या तुलनात्मक रुपमा शहरमा भन्दा पनि गाउँमा अत्याधिक कम मात्रामा देखिएको अवस्था छ । अझै धेरै हामी त्यो गाउँठाउँ सम्झिरहनेछौं । गाउलेमन, त्यहाँ बहने पवन र त्यहाँबाट देखिने गगन सम्झिरहनेछौं । खोला, नाला, झरना, बन पाखा बेसी र बगर पनि अझै कति सम्झिरहनेछौं । दशैं तिहार र अन्य चाडवाँडको रमझम र हाम्रो बालापन सम्झिरहनेछौं । हाम्रा घर, खेत, बारी, बुढा हुँदै गएका बुवा आमा झनै सम्झिरहेका छौं, सम्झिरहनेछौं ।
जिउन पाउँ तिम्रो छातिमाथिको माटोमा ।
रम्न पाउँ तिम्रो विकास मार्गको बाटोमा ।।
जय मातृभूमि !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।