यो देश चम्काउन : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,असोज २४ ।
१. कालो रात नओड ए ! शिखर हो फालेर आओ तल
मीठा गीतहरू सुनिन्न किन हे ! बैशाखका कोकिल
हे ! खोला खहरे नभागन उता तिर्खा यतै मेट्नु छ
टाढा कुद्न भिषा लियौ किन युवा ? मोती यतै भेट्नु छ ।
२. भोका पेटहरू सशक्त सपना देखेर आऊन् अब
निर्धा मानिसले दरो मन गरी आऊन् बताऊन् अब
के बग्छौ पसिना ? भए गरिबले भोकै गुजार्ने कुरा
चल्छन् हात, अझै पुगेन किन खै ? आँखा उघार्ने कुरा ।
३. आफैँ चुम्नु छ लक्ष्य जागृत बनी बाटो उज्यालो बनोस्
भेट्ने छौ सुन यै पहाड वनको माटो उज्यालो बनोस्
थाप्दैछन् अनुदान दान किन ती भान्छेहरूले भनुन्
तारा झार्दछु भन्दथे किन लुके मान्छेहरूले भनुन् ।
४. मोटा हो अब छोड बन्न उपियाँ नाच्छौ चुसेरै कति ?
आओ बाहिर लौ यता सब जुका बाँँच्छौ लुकेरै कति ?
के लेख्छौ भन हे ! विधान बलले च्यात्ने बिगार्ने भए ?
सक्दो अग्लनुपर्छ पर्बतहरू धर्ती सिँगार्ने भए ।
५. गाऊन् यै वन फाँटका लय˗भरी हाम्रा कलाकारले
रोपुन् प्रेम प्रफुल्ल फुल्ल मनले बैशाख आषाढले
मान्छे हो अब छोडिद्यौ विरहका गानाहरू गाउन
साँच्चै दृढ बनेर उठ्नु छ, उठौँ, यो देश चम्काउन ।
सहकार्य :कपों बानेश्वर साहित्यिक साप्ताहिक