बुढानिलकण्ठ मन्दिरको विषय : स्थानीय प्रतिष्ठाको ब्यापार की रास्ट्रिय सरोकार ?
कपन अनलाइन
काठमाडौं ,असोज १/पुन्यराज पुडासैनी
विश्वका सबै धर्मको तत्वज्ञान बुझेर संसारको भ्रमणका साधक शिवपुरी बाबा र आध्यात्मिक गुरु र विचारक खप्तड बाबाले आफ्नो जीवनको अन्तिम समय बिताएको तपभूमिको काखमा रहेको बुढानिलकण्ठको मन्दिरका नाम बाट बुढानिलकण्ठ नगरपालिकाको नामकरण भएको छ।
काठमाडौं उपत्यकाका लागि पानीको पुनर्भरण गर्ने जल भण्डारका रुपमा रहेको पावन शिवपुरी पर्वत शृंखलाको काखमा रहेको बुढानिलकण्ठ मन्दिर प्रा यस क्षेत्रको प्राचिन,ऐतिहासिक र महिमा बोकेको धार्मिक स्थल हो।
विस्वमा रहेका धार्मिक मठ,मन्दिर र सम्पदाहरुको सुचिमा पर्ने यस मन्दिरको प्रवर्धन र विकासको अवस्था भने यसको महत्वको तुलनामा निकै नगन्य देखिन्छ।
नेपाल सरकारको संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतका पशुपति क्षेत्र विकास कोष,लुम्बिनी विकास कोष , बौद्धनाथ क्षेत्र विकास समिति जस्तै बुढानिलकण्ठ क्षेत्र विकास समिति पनि यस क्षेत्रको प्रवर्धन ,विकास र विस्तारको जिम्मेवारी प्राप्त गरेको शक्तिशाली समिति हो।
साविकका बिष्णु बुढानिलकण्ठ,चपली भद्रकाली ,चुनिखेल ,खड्का भद्रकाली ,टोखा सरस्वती र टोखा चंडेश्वरीका धार्मिक ,पुरातात्विक र सांस्कृतिक सम्पदाहरुको संरक्षण ,विकास र प्रवर्धनको जिम्मेवारी रहेको समितिले हाल सम्म गरेका गतिविधि ,योजना र प्रयास भने बुढानिलकण्ठ मन्दिर क्षेत्रलाई प्राथमिकताको केन्द्रमा राखेको देखिन्छ।
क्षेत्र विकास समितिले यसरि उच्च प्राथमिकतामा राखेपनि करिव ४ दशक देखिका अधुरा कार्य पुरा गर्न भने सकेको देखिदैन भने विचमा केहि पदाधिकारीले गरेको पहलले पनि कुनै सार्थक परिणाम दिएको देखिदैन।र हरेक पटक बनेका समिति र तिनका नेतृत्वहरुले यस क्षेत्रको विस्तार र विकासलाई लागि खुल्ला बहसको विषय बनाएको पनि पाइदैन।
बुढानिलकण्ठ क्षेत्रका सम्पदाहरुको संरक्षण गर्ने जिम्मेवारी पाएका प्रत्येक समितिका लागि चुनौतीका रुपमा रहेको विषय सो क्षेत्रको जग्गा अधिग्रहण र बस्ती व्यवस्थापन रहेको थियो र अहिले पनि मुख्य विषय त्यहि नै रहेको छ। पटक पटक प्रयास भए पनि सो क्षेत्रमा रहेको जग्गा अधिग्रहण गर्ने कार्य सम्पन्न गर्न सकिएको देखिदैन र सो क्षेत्रको नेतृत्व गरेका हरेक व्यक्तिहरुले दायित्व पुरा गरेर विदा हुदै गर्दा यहि विषयको गम्भीर बोझ बोकेर बाहिरिएको महसुस गर्न सकिन्छ । यस विषयमा भएका हरेक छलफल ,बहस र अन्तरक्रियाहरुमा उनीहरुले व्यक्त गरेका विचार र अनुभव सुन्दा यो कुरा प्रस्ट बुझिन्छ।
आफ्नो थातथलोको गौरवका रुपमा रहेको धार्मिक सम्पदाको विकासको लक्ष्य बोकेर गएका उनीहरुले सोचे अनुसार सो लक्ष्य प्राप्त गर्न नसक्नुका कारणहरुका वारेमा कुनै दल ,संस्था ,टोल,क्षेत्रमा मात्र सिमित नराखी अव सार्वजनिक बहस र छलफल गर्नुपर्ने देखिन्छ।
त्यति मात्र हैन पंचायत कालको २०४२ शालमा अधिग्रहण शुरु भएर गणतन्त्रको २०७७ शाल सम्म पनि सम्पन्न हुन् सकेन भन्ने विषय किन आज सम्म सो मन्दिर आसपास भन्दा माथि गएर सार्वजनिक बहसको विषय बन्न सकेन ? यो पनि निकै गम्भीरता पुर्वक मनन गर्नुपर्ने विषय रहेको छ।
यो विषय केवल धार्मिक सम्पदाको विकास संग मात्र जोडिएको छैन किनकी सो क्षेत्रमा करिव ४ दशक सम्म आफ्नो घरवास र स्थायित्वको अनिश्चितताको रापमा पिल्सिएका स्थानीयहरुको पिडा र उनीहरुले भोगेको मानसिक यातना पनि निकै विचारणीय विषय रहेको छ।
हरेक पटक बनेका समितिहरुले सो क्षेत्रका स्थानीयहरुको न मागलाई संबोधन गर्न सकेका छन न संबोधन गर्न किन सकिएन भनेर सार्वजनिक रुपमा नै बहस चलाएको पाइन्छ। यस विषयलाई बहसको केन्द्रमा राखेर छलफल गर्न नसक्नुका पछाडी स्थानीय संग उनीहरुको व्यक्तिगत र सामाजिक सम्बन्ध वा प्रत्यक्ष अप्रत्यक्ष सरोकार प्रमुख कारणका रुपमा रहेको प्रस्ट देखिन्छ।
यिनै सम्बन्धका विविध आयामहरु दृश्य अदृश्य संघर्षको स्वरूपमा प्रकट हुँदा सो क्षेत्रको मुद्दा पेचिलो बनेर हरेक प्रयासलाई विफल बनाउदै आएको तथ्यलाई उजागर गर्न र त्यसका वारेमा खुल्ला बहस गर्न किन कसैले आँट गरेनन ? भन्ने प्रश्न अहिले सुसुप्त रुपमा बुढानिलकण्ठका विभिन्न मंचहरुमा उठिरहेको छ।
साथै यो प्रश्न संग जोडिएर अरु धेरै प्रश्नहरु बुढानिलकण्ठका जनताहरुको चासो र सरोकारका विषय बनेर प्रकट भैरहेका छन र बुढानिलकण्ठ मन्दिर क्षेत्रको विकासलाई अव स्थानीय हैन रास्ट्रिय बहसको विषय बनाउनुपर्ने मागहरु पनि उठिरहेका छन।
बुढानिलकण्ठ क्षेत्र विकास र विस्तारको मुख्य बाधकका रुपमा रहेको जग्गा अधिग्रहणको विषय स्थानीय स्तर बाट संबोधन हुन सक्ने विषय हो कि हैन ? यसो गर्न सकिन्छ वा सकिदैन ? वा नेपाल सरकारले अन्य प्रमुख मठ मन्दिर र देवालय समान महत्व दिएको यस क्षेत्रको विषयलाई स्थानीय स्तरमै सिमित बनाउने कि रास्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न पहल गर्ने ? अवका दिनमा बुढानिलकण्ठमा बहस यिनै विषयमा केन्द्रित गर्नुपर्ने देखिन्छ।
यदि यस्तो हुन् सकेन भने फेरी पनि सधै झैँ क्षेत्र विकास समितिलाई सहयोग भन्दा अवरोधलाई आफ्नो सफलता ठान्ने प्रवृतिगत रोगले ग्रस्त केहि समिति र व्यक्तिहरुको तुजुक देखाउने मैदान बन्ने बाहेक अर्को कुनै अपेक्षा गर्न सकिने देखिदैन।
त्यति मात्र हैन व्यक्तिगत,सामाजिक,राजनीतिक र प्रतिष्ठाको लोभले थिचेर यो लाजमर्दो अवस्थालाई बुझेर पनि मौन बसेका सरोकारवालाहरुलाई एउटा प्रश्नले हर कदममा पछ्याउनेदेखिन्छ ।
उनीहरुलाई बुढानिलकण्ठवासीले त्यसवेला पक्कै सोध्नेछन , बुढानिलकण्ठ मन्दिरको विषय : स्थानीय प्रतिष्ठाको ब्यापार की रास्ट्रिय सरोकार ?