जातपात, छुवाछुतका बारेमा : बदला लिने होइन, बदलिने र बदल्ने काम गरौँ
कपन अनलाइन
काठमाडौं ,भाद्र २२ /मंगल परियार
हिन्दुस्तानका राष्ट्रपिता महात्मा गाँधी रहेछन् । उनले ब्रिटिश गोराहरूको शासनबाट भारतलाई मुक्त गराउन स्वतन्त्रता आन्दोलन चलाएका थिए । त्यो आन्दोलनको नारा ‘अंग्रेज भारत छोड’ भन्ने थियो । त्यो आन्दोलनमा त्यहाँका निकै ठूला नेता, कर्मचारी, धनीमानी, साहुमहाजन पनि मिलेर ती महात्मा गाँधीलाई नेता मानेर पछि लागेका थिए । भित्रभित्र अंग्रेजको शासनका हिन्दुस्तानी कर्मचारीहरू पनि महात्मा गाँधीलाई साथ दिन्थे । अंग्रेजी सम्वत १९४७ को अगस्ट १५ मा ब्रिटिश गोराहरूले हिन्दुस्तान छोडे । अनि बल्ल हिन्दुस्तान स्वतन्त्र भयो, ठूलो देश पनि भयो ।
ती ब्रिटिश गोराहरू सुरुमा आउँदा हिन्दुस्तानमा शासन गर्न आएका थिएनन् ।
उनीहरू बेपार गर्न आएका थिए । उनीहरूले अहिले जस्तो विकास नभएको गाउँ नै गाउँ भएको, खेतीपाती गरेर काम चलाउने देश थियो हिन्दुस्तान । त्यहाँ वनजंगल धेरै थिए । वनमा धेरै किसिमका जरीबुटी र जनावरहरू थिए । कतै कतै डाँडाकाँडामा कोइला पनि थियो । खोलाहरू थिए । सागर पनि छ । यी सबैलाई र हिन्दुस्तानी मानिसहरूलाई मुख्य निसाना बनाएर ब्रिटिश गोराहरू हिन्दुस्तान आएका थिए । उनीहरूलाई भारतको यो सबै देखेर लोभ लागेको थियो । त्यहाँ मानिस पनि सोझा थिए, थोरै पैसामा पनि काम गर्न तयार हुन्थे । यसो हुँदा गोराहरूलाई फाइदै फाइदा हुन्थ्यो । अनि त्यही भयो । शोषण पनि गरे, विकास पनि गरे । सबैथरीका जनताले आन्दोलन गरेर तिनीहरूलाई भगाए ।
यसरी गोराहरूलाई भगाएपछि हिन्दुस्तानका मानिसहरूको मन बलियो भयो । बल्ल आपूmलाई आफैले पत्याउन लागे । अनि अलिअलि घमण्ड पनि जाग्यो । अनि केही जोशिला हिन्दुस्तानीहरूले तिनै महात्मा गाँधीलाई भनेछन् : गाँधीजी, यिनीहरूले हामीलाई गर्नुसम्म गरेका हुन्; यिनलाई हामीले यसै किन छोड्ने ? अनि महात्मागाँधीले ती मानिसहरूलाई भनेछन् : यिनीहरूले हाम्रो आँखा फेरिदिएका होलान्, के हामीले बदलामा यिनीहरूको पनि आँखै फोर्दिने त ? आँखा फोरिदिएको बदलामा आँखै फोर्दिने लडाइँ गर्ने हो भने संसारमा सबैको आँखा फुट्न सक्छ । ‘आँख के बदले आँख करेंगे तो सभी लोग अन्धे बन जायेंगे’ यस्तै केही भनेका थिए रे । हो, होइन थाहा छैन, यस्तो केही सुनेको थिएँ ।
हामीले पनि बदल्ने र बदलिने कुरा गर्नुपर्छ, बदला लिने कुरा गर्नु हुन्न जस्तो लाग्छ । मैले यो किन भनेको भन्दा हाम्रो नेपाली समाजलाई अझै धेरै बदल्न बाँकी छ । म आज दलितको कुरा गर्छु । कुरै कुरामा अरु जातको पनि कुरा आउला, अन्यथा नलिदिनु होला । पार्टीको पनि कुरा आउला । तर, मुख्य विषय दलितको कुरा हो ।
अरुलाई भन्दा म दलित दाजुभाइ–दिदीबहिनीलाई नै धेरै भन्छु । किन भने अहिले दलितको मुद्दा सही तरिकाले अघि बढाउन सकिएन भने यसले समाजलाई राम्रो गर्दैन, दलितलाई पनि राम्रो गर्दैन । मेरो विचारमा त हाम्रो लागि दलित भन्ने शब्द पनि सही हो जस्तो लाग्दैन । हाम्रो दलित आन्दोलनको मुद्दा पहिचानवादी समुदायसँग मिसाउन हुँदैन । यहाँका जनजातिको पहिचान फरक छ, किनभने उनीहरूको फरक भाषा र संस्कृति हुन्छ र छ पनि । नेवार, मगर, गुरुङ, राई, लिम्बु, थकाली, तमाङ सबैको फरक फरक संस्कृति र संस्कार छ । उनीहरूको नाचगान भने पनि खानपान भने पनि फरकै हुन्छ । पहाडमा ती माथि लेखेका जाति र अरु पनि जनजाति छन् । तराईमा अरु जात उस्तै धेरै छन्, जनजाति थारु मात्र हो । थारुको पनि फरकै रीतिथिति र परम्परा, संस्कार, संस्कृति छ ।
यहाँ भन्न खोजेको दलितको छुट्टै पहिचान के छ त ? पेसा र काम मात्र धेरै छ, संस्कार, संस्कृति, परम्परा बाहुन, क्षत्रिको भन्दा फरकै छैन । फरक त बाहुन, क्षेत्रिले बनाएका हुन्, हामीले बनाको होइन । हामीले किन फरक बनाउने ? हामीले किन मान्ने ? हामी त एउटै हौँ । हाम्रो गोत्र पनि बाहुन, क्षेत्रिसँग मिल्छ ।
दलित आयोगले निकालेको लिस्टमा थर दलित र बाहुन, क्षेत्रिको मिल्छ । क्षेत्रिको नमिलेको पनि बाहुनसँग सबै मिल्छ । मैले यहाँ पहाडे दलित र पहाडे बाहुनको कुरा गरेको छु । तराईका दलित र अरुको बीचमा के कसो छ, साथीहरूले भन्नुहोला । बाहुनको थर र दलितको थर सबै मिलेपछि हाम्रो भाषा र संस्कार, संस्कृतिको फरक पहिचान कहाँ हुन्छ त ?
हाम्रो नेपाली समाजको जातपातको वर्गीकरण ब्राह्मण, क्षेत्रि, वैश्य, शूद्र भनेर गरिएको आधारमा कायम राखिएको छ । दलितलाई शूद्र बनाए, दलितले पनि त्यही मान्दै आए । तर, पहाडमा हेर्ने हो भने बाहुन, क्षेत्रि र शूद्र मात्र देखिन्छन् । पहाडमा मैले खसआर्य समुदायको जातमा वैश्य देख्दिनँ । बेपार गर्ने त छन्– नेवार, थकालीहरू, तर उनीहरू त जनजाति हुन् । उनीहरू हिन्दु सामाजिक वर्गीकरणमा कहाँ पर्दछन् र ? तराईमा अरु मिल्छ, तर थारु वैश्य होइन जस्तो लाग्छ र यिनलाई जनजातिमा पारेको पनि छ ।
अर्को कुरा, यदि शूद्र पानी नचल्ने जात हो भने कामी, दमै, सार्की, गाइने आदिले आपूmलाई शूद्र किन मान्ने ? यो त पेसासँग जोडेको देखिन्छ । जस्तो कि पहाडमा चमार जाति छैन ।
छालालाई चर्म भनिन्छ, यो छालाको काम गर्नेलाई चर्मकार–चमार भनिएको भन्ने पाइन्छ । यस्तो काम हाम्रो पहाडी क्षेत्रमा सार्कीले गर्दथे । अनि पहाडको सार्की र तराईको चमारलाई बराबर मानियो । जातै हो भने पहाडमा चमार किन भएन र तराईमा सार्की किन भएन । कामले उस्तै बनाउने हो भने बाहुन, क्षेत्रिले गर्ने काम अरुले र अरुले गर्ने काम बाहुन, क्षेत्रिले गर्छन् भने बराबर किन हुन्न त ? मेरो यो प्रश्न छ । तराईका बेपारी (बनियाँ, अरु पनि होलान्) वैश्य हुन् भने पहाडका नेवार, थकाली वैश्य नभएर जनजाति कसरी भए ? कामको हिसाबले कि नाक–नश्लको हिसाबले कुरा गर्ने हो ? यात काम–पेसाको हिसाबले जात बनाउन प¥यो कि भने नाक–नश्लको कुरा गर्न प¥यो । जे गरे पनि आपसमा लड्न किन पर्छ र ?
यसरी हेर्ने हो भने सबै कुरा मिल्छ । शास्त्रमा सुने अनुसार पढ्ने–पढाउने, शिक्षा, ज्ञान दिने ब्राह्मण; राजकाज चलाउने, राजनीति गर्ने, सेना–प्रहरी बनेका सुरक्षा विषयका क्षेत्रि भए; बेपार–व्यवसाय गर्ने, उद्योग गर्ने, बैंक–सहकारी, वित्तीय संस्था चलाउने, तिनीहरूमा काम गर्ने वैश्य हुन्; शिक्षा–ज्ञान नदिने, राजनीति नगर्ने, सेना–प्रहरी नबनेका, उत्पादन नगर्ने, नाफाका लागि कुनै वस्तु–मालसामानको वितरण पनि नगर्ने, खालि सेवा मात्र दिनेहरू (टेलिफोन, इन्टरनेट, ढुवानी, भण्डारण, ठेक्कापट्टा, परामर्श सेवा, विभिन्न औजार, मसिन, यन्त्र, उपकरणहरूको मर्मत गर्ने, स्वास्थ्य सेवा दिने, नापनक्सा गर्ने, अर्काको घर, पसल, कारखानामा काम गर्नेहरू आदि सबै) शूद्र हुने भए । कुरा त छर्लङ्गै गर्नपर्छ नि ।
मैले सुने अनुसार त वेदमा ब्राह्मण, क्षेत्रि, वैश्य र शूद्रको मात्र व्यवस्था छैन, सिल्पी र सेवक भन्ने पनि छ ।
यसरी हेर्दा त काम बाँडेर गरिएको रहेछ । वेद, शास्त्रको त के दोष छ त ?अनि हामी मात्र शूद्र किन भइरहने ? शूद्र भए पनि अछुत किन भइरहने ? हाम्रै इतिहासमा पनि बागलुङका गरगरे भनेर चिनिने बाउबाजेको पालादेखि आरन थाप्ने पेसा भएका सर्वजित भगतले आपूmलाई शूद्र मानेनन् । उनले हिन्दुस्तानको बनारस पढेछन् र घर छोराको न्वारन, व्रतवन्ध गरिदिएका हुन् भन्ने सुनिन्छ ।
वेदका ऋषिमुनिको कहीँ थर–जात जनाइएको हुन्न भनिन्छ । रामको पुर्खाले राज्य गरेको त्रेताजुगभन्दा पहिले त कामहरू फरक फरक भए पनि जात त छुट्याएको देखिन्न ।
त्रेताजुग र त्यसदेखि यता पनि त्यस्तो देखिन्न । दशरथ, रामहरू क्षेत्रि थिए भनिन्छ, तर उनीहरू र उनीहरूको पनि जात–थर लेखिएको छैन । रामायणका कुनै पनि मानिस पात्रको नामसँग जात र थर जोडिएको देखिन्नँ । अघि–पछिका देवीदेउताका पनि नाम मात्र सुनिन्छ, जातथर थाहा पाइएको छैन ।
हामीले पनि समाजमा दलितलाई कमजोर बनाउन र अछुत बनाइरहन, सामाजिक रूपले दलनमा राख्न अरुले जे जे सूत्र, सूक्त, मन्त्र सतहमा ल्याए, तिनैलाई समाएर हामी सिँगौरी किन खेल्ने हो र ? बजार पाइने वेद र शास्त्रका किताब खोजे, किनेरपढौँ । तिनका जरा जरा समातौँ । मैले बुझेसम्म शास्त्रहरूमा धेरै विरोधाभास छ । एउटै विषयमा पनि एक ठाउँमा अर्कै र अर्को ठाउँमा अर्कै लेखिएको बुझिन्छ । मनुस्मृतिमा जातपातको बारेमा लेखेको शुक्रनीतिसँग मिल्दैन । वेदको एक ठाउँमा लेखेको अर्कोले काट्छ । यी सबै विद्वानहरूले रचेका र सँगालेका हुन्, साँच्चैका देवीदेउताले बनाएको या प्रकृतिमा फलेका त होइनन् निश्चय नै । विद्वानहरूका बीचमा पनि राय त फरक फरक परेकै हुन्छन् । हामीले ती फरक कुरा छुट्याउन लाग्नपर्छ ।
सबै बाहुनलाई विरोध गर्न पनि हुन्न । जसरी दलित जन्मे, त्यसरी नै अरु जन्मे । जन्मने कुरा इच्छा लागे जसरी त पक्कै हुन्न । कसका पुर्खाले के गरे भनेर हामीले विरोध या समर्थन गर्ने हो भने महात्मा गाँधीले भनेझैँ सबै स्वहा पो भइन्छ । हिजो जे भए पनि अहिले नेपालको संविधानले छुवाछुतलाई मान्यता दिएको छैन । अहिले पढाइलेखाइमा पनि दलित समुदाय अलि अगाडि बढेको अवस्था छ । सबै पार्टीमा राजनीतिमा पनि लागेका छन् । मानमर्यादामा पनि अघि बढेका छन् ।
अरु जाति समुदायका सिधासाधाहरूलाई हामीले पनि सम्झाउनु पर्छ । बुद्धिजीवीहरूसँग सकारात्मक चर्चा गर्नुपर्छ । इतिहासमा कसरी दलित बनाइयो, बनाइन्थ्यो, कसरी भातपानीबाट खसालिन्थ्यो भन्ने कुरा खोज्नुपर्छ । जसरी अहिले त्यो चलन हराएर गयो, अहिलेको हेलाहोँचो पनि मेटाउनुपर्छ भनेर छलफल चलाउनु पर्छ ।
जे थियो त्यस बारेमा थाहा पाउनु पर्छ । पक्कै पनि एकनासले नराम्रै नराम्रो थियो भन्न सकिन्न । अहिले पनि केही राम्रा कुरा छन् नि, तिनलाई पनि टिप्नुपर्छ । जस्तै – पशुपति, जनकपुर, मुक्तिनाथ, गलेश्वर, मनकामना, गुह्येश्वरी, चन्द्रागिरीको भालेश्वर, ललितपुरको कृष्ण मन्दिर, भक्तपुरको डोलेश्वर, चाँगुनारायण, पोखराको विन्दवासिनी जस्ता धेरै ठूला मन्दिरहरूमा जान र पूजा गर्न रोकतोक छैन । अन्त पनि यस्तो धेरै ठाउँमा भइसकेको छ ।
अहिले जेसुकै कारणले भए पनि बिहे, व्रतबन्ध, पाश्नी जस्ता भोजपार्टी पार्टी प्यालेसहरूमा गर्ने चलन बढेको छ । त्यहाँ जातपात हेरिँदैन । घर बोलाउन असजिलो मानेर पनि हुन सक्छ, तर यसलाई पनि सुधारकै रूपमा लिन सकिन्छ ।
धेरैजसो सामाजिक संघसंस्थाहरूले आर्थिक स्रोत जुटाउन आयोजना गर्ने सप्ताह यज्ञहरूमा खास विभेद हुँदैन । अझ वाचन शिरोमणि नारायण पोख्रेलले त आफ्नो प्रवचनमा जातपातको भेद गर्न हुन्न भन्थे ।
त्यति मात्र नभई यज्ञमा स्वयंसेवक राख्दा पनि दलितहरूलाई राख्ने गर्थे । भित्रभित्र मानिसले के गर्छन्, के सोच्छन्, त्यो फरक हो, तर बाहिर खुला रूपमा जातपातको भेदभाव कम भएको छ ।
धेरै विद्वानहरूले त शास्त्रमा, वेदमा जाति उत्थान गर्ने प्रावधान रहेको पनि भन्दछन् । ती कुराहरू खोज्नुपर्छ । सबैले बुझ्ने गरी, सबैलाई बुझाउने गरी बदला लिने नभई, बदिने र बदल्ने गरी जातको आधारमा हुने छुवाछुत हटाउने काममा लाग्नु पर्छ । भेदभावले गर्दा समाज पछि परेको छ । यसमा अझै झगडा बढाएर पछि पर्नु र पार्नु हुँदैन । तरिका भने फेर्नु पर्छ । क्रमशः………