समाजवादी क्रान्तिका लागि बैचारिक बिकासको अनिवार्यता
कपन अनलाइन
काठमाडौं, भाद्र २२ /महेश्वर फुयाल (बिबेक)
समकालीन नेपाली बाम राजनीतिका दुई अलग धाराको प्रतिनिधित्व गर्ने तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको एकता मार्फत बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन एक ऐतिहासीक पहलकदमी थियो। जुन पहलकदमीले नेपाली कम्युनिस्ट आन्दोलनले निर्दिष्ट गरेका नेपाली क्रान्तिका बाँकि कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको सुनिश्चितता र समाजवाद स्थापना सहित नेपाली माैलिकता र बिषेशतायुक्त समाजवाद निर्माण गर्दै विश्व कम्युनिस्ट आन्दोलनलाई पुनः एक पटक समाजवाद तर्फ डोहोर्याउनको लागि नेतृत्वदायी भुमिकाको केन्द्रमा रहन सक्ने अबसर पनि नेकपाको अगाडि सृजना गरेको छ ।
एकातर्फ बर्तमान भुमण्डलिकृत विश्व सामाज्यवादी युग र क्रमश: खस्कदो अमेरिकी अर्थतन्त्र र गतिशिल रूपमा बिकास हुँदै गएको चिनियाँ प्रभाब ,फेरिएको विश्व राजनीतिक अन्तरबिरोध र सामाज्यवाद बिरोधि मोर्चा सशक्त रहनुका साथै गैरराजनीतिक चरित्रको अमेरिकी नेतृत्व, प्रशासन र नितिका कारण स्वयं सामाज्यवादी कित्ता कमजोर बन्ने अबस्था देखिन्छ ।
अर्को तर्फ २० औ शताव्दी जसरी विश्व कम्युनिस्ट आन्दोलनले नराम्रो क्षति बेहोर्नु पर्यो । ठुला ठुला बलिदान र कुर्वानिहरूले पनि पराजय भोग्दै विश्व कम्युनिस्ट आन्दोलन सेट ब्याक भयो । बिश्वभरिका श्रमजीवी सर्वाहारा मेहनतकश जतना र तिनका प्रतिनिधितब गर्ने विश्व भाईचारा संगठनहरू कमजोर बने । साम्राज्यवादी एम्बुसमा फसे र त्याहा बाट अघि बढ्न नसक्ने अबस्थामा पुगे जस्को मुल कारण बिचारको बिकास गर्दै क्रान्तिको रक्षा बिकास र सफलताका सन्दर्भमा जस्तो सृजनात्मक प्रयोग हुनेपर्ने थियो।तर त्यसको ठिक उल्टो यान्त्रिक र जडसुत्रिय रूपले नक्कल गर्न खोज्दा विश्व कम्युनिस्ट आन्दोलन नै रक्षात्मक चरणमा पुग्यो ।
क्रान्तिको पुनराबृत्ति असम्भब छ र क्रान्तिको बिकास मात्र सम्भब छ भन्ने तथ्यलाई बोध गर्न नसक्दा २० औं सताब्दिमा कम्युनिस्ट आन्दोलनले आशा हैन निरासा मात्र छर्न पुग्यो ।यसरी हेर्दा २१ औं शताब्दिको सुरूवाति चरण सम्म ब्याप्त अमेरिकि साम्राज्यवादको एकछत्र प्रभाब निस्तेज तुल्याउदै विश्व कम्युनिस्ट आन्दोलनलाई बैचारिक आलोकमा सुसज्जित गर्न कम चुनाैतिको बिषय थिएन ।
२० औ शताब्दीका असफताका घटनाहरूले श्रमजीवी सर्वाहारा बर्गिय जनता र तिनका प्रतिनिधिमुलक संस्थाहरूलाई बिश्वब्यापी रूपमा निरास पारेको थियो भने साम्राज्यवाद र तिनका दलालहरू २१ औ शताव्दी सम्म पुग्दा मार्क्सवाद असफर र कम्युनिस्ट आन्दोलन असम्भव भन्ने स्याल हुईया मच्याउन थाले पनि रक्षात्मक अबस्थाबाट विश्व कम्युनिस्ट आन्दोलन सुस्तरि सुस्तरि क्रियात्मक चरणमा प्रबेस गर्यो ।
यो चरणमा दक्षिण अमेरिकी देशहरूमा समाजवादको झण्डाहरू फहराउन थाले, उत्पिडित राष्ट्र र जनताहरू साम्राज्यवादका बिरूद्व गोलवन्द हुन थाले भने दक्षीण एसिया लगायतका देशहरूमा बामपन्थी आन्दोलन पुनर्संगठित हुँदै अघि बढ्न थाले ।
नेपालमा पनि २०४६ सालको आन्दोलन पश्चात् कम्युनिस्ट धार बलियो रूपमा अगाडि बढे पनि कम्युनिस्ट पार्टीहरू एकताबद्ध थिएनन्। जनमतमा बलियो हुँदाहुदै पनि बिभाजित हुँदा कमजोर थिए । मुल रूपमा चाैम मशाल, एकताकेन्द्र हुँदै बनेको माओवादी जसले दिर्घकालिन जनयुद्व मार्फत गाँउबाट सहर घेर्ने र अन्तत सामन्तवादी राज्यलाई अपदस्त गर्दै जनवादी ब्यवस्था स्थापना गर्ने उदेश्य बोकेको थियो। त्यस्तै अर्को तर्फ कोके माले हुँदै बनेको नेकपा एमालेले शान्तिपुर्ण जनसंघर्ष र संसदिय ब्यबस्थालाई अधिक उपयोग गर्दै जनअधिकारहरूलाई सबल र सुदृड बनाउदै अघि बढ्ने उदेश्य बोकेको थियो। यिनै दुई धारा बिचको वरिपरि नेपाली कम्युनिस्ट आन्दोलन केन्द्रित रहयो ।
दूबै धारहरू आफुलाई नेपाली कम्युनिस्ट आन्दोलनको मुलधारका रूपमा परिभाषित पनि गर्दथे । दिर्घकालिन जनयुद्वको कार्यदिशा अवलम्बन गरेको तत्कालिन माओवादी जस्ले मालेमावाद सहित प्रचण्डपथ र एक्काईसाै सताब्दिको जनवादलाई आफ्नो बैचारिक आधारका रूपमा अगाडी सारेको थियो।
जसको बैचारिक आधार मार्फत १० बर्षे जनयुद्वको छोटो अबधिमा विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ रक्तसंचार प्रभाहित गर्न सफल भयो र तत्कालीन माओवादी पार्टीकै एजेण्डा अनुरूप नेपालमा गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समानुपातिक सहभागीता जस्ता अग्रगामी मुद्वाहरू स्थापित भए। संविधान सभा मार्फत संविधान जारी भयो । यदी जनयुद्वको जगमा १२ बुदे सहमति हुन्नथ्यो र १२ बुदे सहमतिको आधारमा १९ दिने जनआन्दोलन नभएको भए यी परिवर्तनहरु संभव थिएनन् ।
तत्कालिन नेकपा एमालेले मालेवाद र जनताको बहुदलिय जनवादलाई आफ्नो मुल बैचारिक आधार बनायो । संसदिय ब्यबस्थामा सहभागी बन्दै अल्पमतको ९ महिने सरकार संचालन पनि गर्यो।पछि राजाले माघ १९ को कदमबाट जन अधिकार खोसिसकेपछि नेपाली काँग्रेस सहितको पक्षलाई राजाको निरंकुशता बिरूद्व सडक संघर्ष गर्दै १२ बुँदे सहमति सम्म डोहोर्याउन सफल देखियो। यसले गर्दा जनयुद्व र जनआन्दोलनको संयोजन भयो र कम बल प्रयोगमा नै नेपाली राज्य प्रणालीको मुल चरित्रमा फेरवदल आयो र सामन्तवादले घुडा टेक्यो ।
गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता जस्ता उपलब्धिहरूले जनवादी क्रान्तिले निर्दिष्ट गरेका आधाआधी कार्यभार पूरा गरेका छन् भने बाँकि कार्यभार क्रमशः पूरा गर्दै समाजवादी क्रान्तिको आधार निर्माण र सुनिश्चितता अबको नेपाली क्रान्तिको साझा लक्ष्य र कार्यभारका रुपमा रहेको छ।
जब लक्ष्य र उदेश्य एक हुन्छ र कार्यदिशा समान हुन्छ। अलथलग भएर गरिने पहलले भन्दा एकीकृत पहलकदमीले गुणात्मक रूपमा उपलब्धि हासिलका लागि आधार पनि तयार गर्दछ । यहि मुलभुत मान्यताका साथ दुईवटा शक्तिशाली कम्युनिस्ट पार्टीहरू विघटन गरेर बलियो र एकीकृत पार्टीको रूपमा नेकपा गठन भयो।
नेकपाको एक मात्र उदेश्य दलाल नोकरशाही पुँजीवादलाई परास्त गर्दै समाजवाद स्थापना गर्नु हो जसका लागि हिजोको चरित्रको पार्टी, संगठन, प्रबिति र बिचारले सम्भव हुदैन । मार्क्सवादको रचनात्मक प्रयोग मार्फत बैचारिक उत्कृष्टता हाँसिल गरेर समाजवादी क्रान्तिकाे नेतृत्व गर्न सक्ने पार्टी निर्माण आजको प्रमुख कार्यभार हो ।
बिगतका बिचार शृंखलामा समकालीन सामाजिक राजनीतिक अन्तरबिरोधको समाना गर्दै अघि बढ्न जसरी मार्गनिर्देशन गर्दै बर्तमान अन्तरबिरोध र तमाम खालेप्रतिकुलताहरूलाई परास्त गर्दै अघि बढ्न पुन एक पटक बिचारमा शंस्लेषण जरूरी छ ।
नयाँ र माैलिक बिचारका आधारमा नेपालबाट समाजवादी क्रान्ति सम्पन्न गर्दै विश्व कम्युनिस्ट आन्दोलनलाई समेत एउटा मोडल दिन सक्ने सम्भाबनाको सन्निकटमा नेकपा रहेक छ । आशा र विस्वास गराै नेकपा नेतृत्वले यो युगिन कार्यभार पूरा गर्न कुनै मानेमा पनि चुक्ने छैन ।
(लेखक फुयाल नेकपा काठमाडौं जिल्ला कमिटि कार्यालयका सदस्य हुन् )