बुढानिलकण्ठ मन्दिर र हात्ती छामिरहेका अन्धाहरु

बुढानिलकण्ठ मन्दिर र हात्ती छामिरहेका अन्धाहरु

कपन अनलाइन

काठमाडौं ,भाद्र २२/पुन्यराज पुडासैनी 

“अन्धो मान्छे र हात्ती ” कवी जोन गडफ्रेको निकै नै चर्चित कविता हो जसमा ६ जना अन्धा मान्छेहरुले हात्तीका विभिन्न भागहरु छामेर हात्तीको स्वरुपको कल्पना गरिरहेका हुन्छन। यो कवितामा हात्तिको शरीर छाम्नेले पर्खाल रैछ हात्ती भन्छ भने कान छाम्नेले नान्ग्लो पो रैछ भनेर खुसि मानिरहेको हुन्छ। यसै क्रममा ६ जना नै अन्धा मान्छेहरुले हात्तीको फरक फरक स्वरुपको कल्पना गर्दछन तर कसैले पनि वास्तविक रुप पहिचान गर्न सक्दैनन्। बुढानिलकण्ठ मन्दिर पनि अहिले अहिले त्यहि हात्ती झैँ भएको छ यसको विकास र सुधारका हिमायती हौ भन्नेहरु तिनै अन्धा मान्छे झैँ बनेका छन।

साविक बिष्णु बुढानिलकण्ठ ,चपली भद्रकाली ,खड्का भद्रकाली ,चुनिखेल ,टोखा चंडेश्वरी र टोखा सरस्वती गाविसका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धनका लागि गठन गरिएको बुढानिलकण्ठ क्षेत्र विकास समिति र विभिन्न समयमा यसको नेतृत्व गरेका व्यक्तिहरुले  पनि हालसम्म त्यहि हात्ती छामेर आफ्नो अनुकुलको ब्याख्या बाहेक खास केहि गुणात्मक काम गरेको त्यहाका अभिलेख र संरचनाहरुले देखाउदैनन।

यो बुढानिलकण्ठ नामक हात्तीको स्वरूप यस्तो छ कि एक तिर बाट हेर्नेले यसमा क्षेत्र विकास समिति छाम्ने गर्दछन भने अर्को तिर बाट जानेले मन्दिर तथा पुजा व्यवस्थापन समिति मात्र देख्दछन त्यसतै अरु भन्दा पृथक देखाउन अर्को तर्फ बाट जानेले सनातन धर्म विकास समिति नामक गैर सरकारी संस्था मात्र देख्ने गरेका छन।

अनि किनारमा बसेकाहरु पनि तिनै तिन थरी धारणाको धारमा अल्मलिएर महात्मा गान्धीको बाँदर झैँ हेर्ने ,सुन्ने तर नबोल्ने मन्त्रलाई जप्दै आफ्नो पहिचान र इतिहास बोकेको हात्ती (बुढानिलकण्ठ) को वास्तविक स्वरूपलाई उजागर गर्नका लागि उदासिन देखिन्छन।अनि सरोकार राख्ने जनताहरुले त्यो हात्तीको शिर ,शरीर र पाउ प्रस्ट संग नदेखाईदिंदा वा देखाउन पहल नगर्दा बुढानिलकण्ठ क्षेत्रको विकासका नाराहरु उचाल्नेहरुको नियति बादशाहको पोशाक झैँ बनेको छ।

बुढानिलकण्ठ नामक यो हात्ती छाम्ने खेल अहिले निकै नै पेचिलो बन्दै गएको छ किनकि सभी अन्धा व्यक्तिहरु आफुले छाम्दा भेटेको अंग नै हात्ती भनेर दावी गरिरहेका छन र यो दावीको रमिता हेर्न किनारमा बसेका रमितेहरु आ आफ्नै स्वार्थको बाजा बजाएर चटक देखाइरहेका छन।पावन जप तप र ध्यानभुमि  बुढानिलकण्ठ क्षेत्रको बिडम्बना त्यो हात्ती वरिपरि रहेका अन्धाहरु बाट छुटकारा दिलाएर अगाडी बढाउने माहुते भने अझै भेटिएको छैन।

बुढानिलकण्ठ क्षेत्र विकास समितिको इतिहास र यसका नेतृत्वहरुले आफ्नो बुताले भ्याए सम्मको प्रयास गर्दा पनि अहिलेसम्म बुढानिलकण्ठवासीले गर्व गर्न लायक कुनै उपलव्धि हासिल गरेको देखिदैन। सुन्दा अप्रिय लाग्न सक्छ तर अहिले सम्मका नेतृत्वहरुले हात्तीको अग्र भागमा बसेर केहि अगाडी तान्ने प्रयास मात्र गरेको महसुस हुन्छ तर कसैले पनि एकाद उपलव्धि देखाए पनि माहुते बन्ने हिम्मत देखाएको अनुभव गर्न सकिन्न।

बुढानिलकण्ठ क्षेत्र विकास समितिमा  कस्तो नेतृत्व आवस्यक छ ?

बुढानिलकण्ठ क्षेत्र विकास समितिलाई जसरी केवल बुढानिलकण्ठ मन्दिर क्षेत्रको मात्र नेतृत्वदायी समिति हो भन्ने देखिएकोले  त्यसलाई चिर्दै साविक ६ वटा गाविसका सबै मठ मन्दिर र धार्मिक सम्पदाहरुको प्रवर्धन गर्ने शक्तिशाली संस्था हो भनेर प्रस्ट भन्न र त्यहि अनुसार गर्न सक्ने नेतृत्व आवस्यक रहेको छ।

त्यस्तै अनेकन दाउपेच र अवरोध गर्न मात्र स्थापना भएका झैँ प्रचार गरिएका विभिन्न समितिहरु क्षेत्र विकास समितिका सहयोगी हुन भनेर तिनीहरुलाई कार्यगत र नीतिगत रुपमा भन्न सक्ने नेतृत्व सायद बुढानिलकण्ठ क्षेत्र विकास समितिले खोजिरहेको छ।

हरेक पटकको निर्वाचनमा सुमधुर चुनावी नारा बन्दै आएको यस क्षेत्रको विस्तार र विकासलाई अव नारा हैन तपाईहरुको अभिभारा हो भनेर संघीय ,प्रदेस र स्थानीय सरकारलाई भन्न सक्ने नेतृत्व आवस्यक रहेको छ भने सो क्षेत्रको गौरवपूर्ण  इतिहास र आध्यात्मिक आलोकलाई कथनीमा हैन करनीमा नै प्रस्ट देखाउन सक्ने साहासी नेतृत्वको आवस्यकता टड्कारो रुपमा देखिएको छ।

अहिले सम्म निश्चित क्षेत्रका स्थानीयहरुको शक्ति ,पहुँच र धमास देखाउने संक्रिण मानसिकतालाई क्षेत् विक्षत बनाउदै २०४२ शाल देखि निरन्तर अनिश्चय र अन्यौलमा रहेका मन्दिर क्षेत्रका जनतालाई अहिले सम्म भएका प्रयास र जकडिएर बसेका समस्याका गाँठा फुकाउने नेतृत्वको खोजि अहिले बुढानिलकण्ठ मन्दिरले गरिरहेको छ।

किन सरोकारवालाहरुको निर्णायक पहल आवस्यक ?

जव जव बुढानिलकण्ठ क्षेत्र विकास समिति र यसका सरोकारवालाहरुले कुनै परिवर्तनको प्रयास गर्दछन त्यसवेला कुनै न कुनै रुपमा तिनको  विरोध भएको देखिन्छ। त्यो विरोध यति गजव तरिका डिजाइन हुन्छ कि त्यो व्यक्ति केन्द्रित बनाइन्छ र यसलाई व्यक्तिगत प्रतिष्ठा र पहिचानको मुद्दाका रुपमा मुखरित गरिन्छ। अहिले सम्म सफल रुपमा बुढानिलकण्ठ मन्दिर क्षेत्रमा प्रयोगमा आइरहेको यो अभ्यास अन्त्य गर्नका लागि यसका सरोकारवालाहरुको निर्णायक पहल आवस्यक देखिन्छ।

यसका प्रत्यक्ष सरोकारवाला अहिले काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेल ,बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ र सो क्षेत्र विकास समितिमा हाल सम्मका  अध्यक्ष र सदस्य सचिवको भूमिका निर्वाह गरेका व्यक्तित्वहरु नै  हुन्। जसले समस्या बढ्दै जाँदा खिल पल्टेको घाउ झैँ जटिल बन्छ भन्ने सत्यलाई मनन गर्दै  यसको समाधानको पहल गर्नुपर्ने देखिन्छ भने उनीहरु संग थोरै सुधारको प्रयास गर्दा पनि त्यसमा तगारो हाल्न खोज्ने पात्र र प्रवृतिलाई जनताको माझमा सावर्जनिक गर्ने साहास पनि देखाउनु पर्ने आवस्यकता रहेको छ।

साथै बुढानिलकण्ठ क्षेत्रको विस्तार ,बस्ति व्यवस्थापन र प्रवर्धनका लागि खुल्ला ,पारदर्शी र व्यापक बहस गर्नुपर्ने देखिन्छ।यदि  यसो नगरेर फेरिपनि पुरानै शैलीमा यसको सामाधान खोजियो भने बुढानिलकण्ठ नामक हात्ती जहाँको तही रहनेछ तर त्यसलाई छाम्ने अन्धाहरुको शंख्या भने बढेको भन्दै बुढानिलकण्ठ मन्दिर र हात्ती छामिरहेका अन्धाहरु -२ लेख्नु नपर्ला भन्न सकिन्न।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।