यस वर्ष कागेश्वरीमा कागेअष्टमी मेला नलाग्ने
कपन अनलाइन
काठमाडौं, भाद्र ७ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदी स्थित कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीको दिन लाग्ने लाग्ने कागेअष्टमी मेला यस बर्ष नहुने भएको छ ।कागेअष्टमी मेला यो वर्ष स्थगित गर्ने निर्णय भएको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमण जोखिम र सरकारले गरेको निषेधाज्ञाका कारण कागेअष्टमी मेला पनि नहुने कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मकुन्द प्रसाद गजुरेलले जानकारी गराए ।कोभिड १९ को महामारीको अवस्थामा जमघट, भेला, पूजा, आरती, मेला, भजन कृतन जस्ता काममा सरकारले रोक लगाएको छ । कोरोना भाइरस एकबाट अर्कोमा सर्ने रोग भएकाले संक्रमण रोग फैलन नदिन मेला स्थगित गर्ने निर्णय गरेको गजुरेलले बताए ।
यस मन्दिरमा मेला भर्नको लागि काठमाडौं उपत्यकाको साथै देश विदेशबाट समेत भक्तजनहरु आउने गरेका छन् । रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पबित्र जल कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने जनविश्वास रहँदै आएको छ ।वडा अध्यक्ष मकुन्द गजुरेलका आनुसार कागको रूपमा रहेका कागेश्वर महादेवमा स्नान गरेर जल चढाई पूजाआजा गर्दा सम्पूर्ण पाप नाश हुने र सुख, शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ ।
फोटो : ललिता खड्का