हरितालिका तीज : महिलाहरूको विजयोत्सवको पर्व

हरितालिका तीज : महिलाहरूको विजयोत्सवको पर्व

कपन अनलाइन

काठमाडौं ,भाद्र ५ / घनश्याम कोइराला 
हाम्रो समाजमा प्रचलित पर्वहरू केही प्रकृतिसँग सम्बन्धित, केही इतिहाससँग सम्बन्धित, केही धर्मसँग, केही संस्कृतिसँग, केही सामाजिक उपलब्धि वा त्यसको अपेक्षासँग जोडिएका छन् । तर, व्यवहारमा सबैलाई धर्मसँग जोडेर हेर्ने, बुझ्ने र धार्मिक हिसाबले मनाउने प्रचलन रहिआएको छ ।
हरितालिका तीजलाई पनि ‘व्रत’को रूपमा धार्मिक हिसाबले मानिदैआएको छ । तर, हरितालिका तीज धार्मिक ‘व्रत’ मात्र होइन । ‘व्रत’ भनेको धार्मिक उद्देश्यले गरिने उपवास त हो, तर यही मात्र होइन, व्रतको अर्थ सङ्कल्प वा अठोट पनि हो ।

तीजमा विवाहिताहरू जीवन साथीको सुस्वास्थ्य र दीर्घ जीवनको कामनापूर्वक महादेवको पूजा गर्दछन् भने युवा अवस्थाका अविवाहिताहरू असल जीवनसाथीको कामना राखेर व्रत पूजागर्ने गर्दछन् । यसरी यो दिन कामना र सङ्कल्पको पर्व हो । यसलाई नाचगान गरेर उत्सवमय ढंगले मनाइन्छ, त्यसैले यो खुसीको पर्व हो । विवाहपछि जन्मघर छोडेर कर्मघर गएका छोरी, दिदी, बहिनीहरू माइतमा आउने भएको हुनाले पारीवारिक मेलमिलापको रमाइलो पर्व पनि हो ।
हाम्रो समाजमा संस्कृत भाषामा लेखिएजति सबैलाई धर्म र देवीदेवतासँग जोडेर हेर्ने र बुझ्ने गरिन्छ । त्यसैले हो कि यो बढी ‘धार्मिक’ जस्तो देखिन्छ । महादेव हिन्दूहरूका आराध्य देव भएको हुनाले महादेव र पार्वतीसँग जोडिएको विषय भएकोले सिंगो तीज पर्व नै ‘हिन्दू’ पहिचानमा सीमित गरेर हेरिने बुझिने गरिएको देखिन्छ ।

यसका रूप पक्षले यस्तै देखाउँछ र यस्तै बुझाउँछ । यसलाई जीवनसाथीको स्वास्थ्य र दीर्घायु एवं असल जीवनसाथी प्राप्त गर्ने कामनासँग जोडेर हेर्ने बुझ्ने हो भने यो सबैको पर्व हुन सक्दछ ।
धर्म मानिसहरूको विश्वासको विषय हो । यो स्वतन्त्रताको विषय त हो नै, धर्म एउटा मात्र पनि छैन । धर्म धेरै छन् । हिन्दू सनातन धर्म मूलतः ‘बहुदेव’संस्कृतिको जग हो । वेदमा आधारित धर्म भएको हुनाले यसमा हरेक उपयोगी पक्ष ‘देव’का रूपमा पूजित र प्रशंसित छन् । वेद अनुसार चराचरका सबै गुण र गुणीहरू ‘देव’ हुन् । सबै देवहरूप्रति विश्वास र सम्मान वेदको खास विशेषता हो । सनातनले यही पक्ष वहन गर्दैआएको छ ।
समय क्रममा, समाजको विशिष्टता र भिन्न आवश्यकताले विशेष प्रकारका धार्मिक मतहरू पनि विकसित भएका छन् । यिनीहरूमा सबैलाई मान्नेभन्दा पनि एउटैमा सबै मान्ने धाराहरू विकसित भएका छन् । यस्ता धाराहरूलाई सम्प्रदाय वा पन्थ आदि पनि भनिएको पाइन्छ । हिन्दूभित्रै निर्गुण, निराकार मान्ने र सगुण साकार मान्ने धाराहरू छन् । यस कारण सबै हिन्दू नारीहरूले तीज मान्दैनन्, तीजमा व्रत बस्दैनन् । कयौँ निष्ठावान हिन्दू नारीहरू तीजमा व्रत बस्दैनन्, बस्दै बस्दैनन् । त्यसैले आ–आफ्नै धार्मिक मान्यता र विश्वासका आधारमा पनि तीज हिन्दू नारीहरूको हो, तर सबै हिन्दू नारीहरूको होइन ।
तीज सामाजिकहिसाबले पनि निकै महत्वको पर्व हो । यो महिलाहरूको लागि ‘वर’ छान्ने स्वतन्त्रताफलिभूत भएको दिन हो । वास्तवमा भन्ने हो भने आफ्ना बाबु पर्वतराज हिमालयका विरुद्ध पार्वतीको शिष्ट र शालीन विद्रोहको विजय दिवस हो । कथा प्रसंग अनुसार पर्वतराज आफ्नी छोरी पार्वतीको विवाह विष्णुसँग गरिदिन चाहन्थे र त्यही अनुसारको तयारी भइरहेको थियो ।

पार्वती भने शिव(महादेव)सँग विाह गर्न चाहन्थिन् । महादेवलाई जीवनसाथीको रूपमा प्राप्त गरेरै छोड्ने संकल्प(व्रत)बद्ध थिइन् । यो कुरा पार्वतीका अन्तरङ्ग साथीहरूले थाहा पाएपछि उनीहरूले पार्वतीलाई अपहरण गरे अर्थात् लुकाए । अन्तमा उनको विवाह महादेवसँग भयो । मुख्य घटना यही नै हो ।त्यसैले यस दिनको नाम नै हरिता (अपहरण गरिएकी) + आलिका(साथीहरूद्वारा)= हरितालिका(साथीहरूद्वारा लुकाइएकी) रहन गयो । यस हिसाबले हेर्दा आजका नारीहरूले रोजेको जीवनसाथी पाउन विजय प्राप्त गरेको दिनको रूपमा विजयोत्सव गरेर मनाउन पर्ने दिन हो । नारीले जीवनसाथी रोज्न पाउने अधिकारको लडाइँ गरिरहेको नारी आन्दोलनले तीज विरुद्ध होइन, तीजको पक्षमा केन्द्रित हुन आवश्यक छ ।

जहाँसम्म विरोध र स्वतन्त्रताको कुरा छ, यस अवसरमा गाइने गीतहरू घर, माइत, समाजका विसंगति विरुद्ध केन्द्रित भएको सुनिन्थ्यो, यदाकदा अहिले पनि सुन्न पाइन्छ ।
यसरी तीज पर्व धार्मिक, सांस्कृतिक, पारीवारिक, सामाजिक हिसाबले महत्वपूर्ण छ र यो बहुआयामिक छ । यसको एउटा मात्र आयामको चर्चा गर्नु र बुझ्नु तीजलाई राम्ररी नबुझेको ठहर्छ । विष्णुले पनि पर्वराजसँग अर्घेल्याइँ नगरेको, महादेवले पनि घमण्ड नगरेको, पार्वतीले रोजेको जीवनसाथी पाएको, जितजितको पर्व तीज सम्बन्धित सबैप्रति कृतज्ञ हँुदै उल्लासपूर्वक मनाउनु राम्रो हुन्छ ।
व्रत वा संकल्प एकै प्रकारको हुँदैन । संभवतः अहिले नारीले पनि जीवनसाथी रोज्न पाउने अवस्था बलियो हुँदै आएको भएर होला यही प्रयोजनका लागि व्रतको औचित्य देखिरहेका छैनन् ।
गतिला भाव र आसयका सांस्कृतिक पर्वहरू जोगाउनु पर्छ । राम्रा र उपयोगी विषयलाई समाजको कुनै एउटा धर्म, जात, समुदायसँग मात्र जोड्नु राम्रो होइन । यसमा फरक मत राख्नेहरूको दोहोलो काढ्नु पनि राम्रो होइन । रामचरित मानसका रचयिता तुलसीदासले लेखेका छन् ‘उल्टा नाम जपत जग जाना वालमीकि भए ब्रह्म समानाअर्थात् महर्षि वाल्मीकि उल्टो नाम जपेर संसार प्रसिद्ध र ब्रह्म समान भए ।’ धर्मग्रन्थहरूबाट हामीले लिने शिक्षामा यो साह्रै महत्वपूर्ण छ । कुनै पनि पर्वबारे सबैको धारणा वा विचार एउटै हुनुपर्छ भन्ने केही छैन ।
हाम्रा पर्वहरू खुम्चिदैछन् ।

पाको उमेरकाहरू शारीरिक अशक्तताका कारण मनाउन सक्दैनन् । किशोर र युवा उमेरकाहरू पुरानो तरिकासँग सहमत देखिँदैनन् । सबै भूगोल र सबै जातिले मनाउने प्रचलन पनि छैन । हिन्दूहरूमा पनि सबै जातले सँगै मनाउन पाउने अवस्था छैन, जातीय विभेदका पर्खाल विद्यमान छन् ।
यस पटक त दुःखपूर्ण कोभिड–१९ का कारण कतै पनि चहल–पहल छैन ।सहरतिर पर्वको नाममा गहना र कपडाको प्रदर्शन अचाक्ली हुँदै गरेको थियो । महिनौँ पार्टी प्यालेस र रेष्टुरेन्टहरूमा हुने गरेका महँगो दरमा पैसा तिरेर सहभागी हुनुपर्ने अवस्था झाँगिदै गरेको थियो । यसले तीज कमजोर आर्थिक वर्गका मानिसहरूलाई कठोर कहर बनिरहेको थियो । कमजोर आर्थिक वर्गका मानिसहरू विस्तारै वहिष्करणमा पर्ने खतरा बढिरहेको सत्यबाट आँखा चिम्लनु हुँदैन । यस्ता विसंगतिहरूले चाडपर्व, धर्म, संस्कृतिप्रति वितृष्णा बढाउँदै गएको यथार्थ सबैसामु छ । यस्ता कारणले धर्मान्तरणको मतलाई बल प्रदान गर्न सक्दछ ।
राजनीतिक दल, सामाजिक संघ–संस्थाहरूले तीज पर्वका आधार, यसका सकारात्मक पक्षहरू, यसमा सच्याउन–सुधार गर्नुपर्ने पक्षहरूबारे छलफल अन्तक्र्रिया गर्नुपर्नेमा जानी नजानी थप भड्किलो बनाउन भूमिका खेलेको पाइयो ।

माइतीले छोरी, दिदी, बहिनीलाई बोलाएर पारीवारिक वातावरणमा सुखदुःख आदान–प्रदान गर्ने सीमा मिचिदै जानु सांस्कृतिक हिसाबले पनि उपयुक्त होइन ।
नारी–पुरुष जीवनरथका दुई पाङ्ग्रा भनेर स्वीकार गरिएको सत्यमाथि पर्दाले छोपेर एउटा पाङ्ग्रा (नारी) अर्को पाङ्ग्रा (पुरुष)को खुट्टा पखालेको पानी खानुपर्ने विषय आजको सभ्य समाजमा पाच्य विषय होइन । तीजको व्रतले यस्तो अपाच्य विषय बोकिरहँदा यसप्रति आजको पुस्ता सहमत हुन सक्दैन र भोलिको पुस्ताले त यसलाई घृणाकै विषय ठान्नेछ । यस्तो अवस्थामा यी सांस्कृतिक महत्वका पर्वहरू जोगिएलान् त ?
वैदिक र शास्त्रीय मान्यताका आधारमा चल्ने विषयलाई सकारात्मक रूपमा लिँदा पनि व्यवहारमा संगति देखिँदैन । शास्त्रले वर्जित गरेका काम गरे पनि ब्राह्मण हुन पाइने, त्यही आधारमा क्षत्रि, वैश्य र शूद्रको निरन्तरता जोगिने, पुरुषसत्ताको आधिपत्य रहने, जातका आधारमा विभेदलाई सही ठह¥याउने र समानताको प्रश्नमा अनुदार बन्ने व्यवहारले संस्कृति जोगिँदैन ।
आजको पुस्ता संस्कृतिसम्बद्ध शिक्षा लिनबाट तर्किरहेको छ ।

यस्तो शिक्षामा व्यावसायिकता छैन भन्ने बुझाइ बढेको छ । व्यावसायिक नहुनु भनेको जीवनसँग नजोडिनु हो । जीवनसँग जोडिएनन् भने कुनै पनि धर्म, परम्परा, संस्कृति टिक्न सक्दैन ।
वन्यबाट ग्रामीण हुँदै सहरी बन्दै गरेको; श्रम गरेर पनि अनुकम्पामा जीवन चलाउनपर्ने अवस्थाबाट सामूहिक सौदाबाजीको अधिकार सहित औद्योगिक क्षेत्रमा श्रम गर्ने अवस्थामा पुगेको; पुख्र्यौली पैतृक सम्पत्तिभन्दा पर वैदेशिक उपार्जनमा लागिसकेको पुस्तालाई हाम्रो संस्कृतितर्फ आकर्षित गर्न धर्म, संस्कृति क्षेत्रमा संलग्नहरूले बढी ध्यान दिन आवश्यक देखिन्छ ।
हाम्रा पुर्खा ऋषिमुनिले समाजको आवश्यकताले निर्माण पद्धति र निर्धाण गरेका दायरा अपरिवर्तनीय होइनन् । तिनीहरूमा परिवर्तन भएका छन्, परिवर्तनशीलतालाई अनेकौँ दृष्टान्तद्वारा स्पष्ट पारिने प्रयास भएका धेरै उदाहरणहरू छन् । सामाजिक वर्ण बन्ने र फेरिने विषय, जातिच्युत हुने जाति उत्कर्ष हुने विषय शास्त्रमा छन् ।

देवीका रूपमा पूजिने नारीशक्तिको वर्चस्वका अनेकौँ प्रसंग छन् । हाम्रा प्राचीन परम्पराका आधार र औचित्यलाई सम्मान गर्नु, अवलम्बन गर्नु राम्रो हो । यो हाम्रो मौलिक संस्कृतिको पहिचानको विषय हो, तर यसको अर्को पाटो भनेको परिवर्तनशीलता हो । यो दोस्रो पाटो आजको सन्दर्भमा पहिलो स्थानमा रहेको छ । सांस्कृतिक पर्वहरूलाई औचित्यपूर्ण, समन्यायिक, सर्वस्वीकार्य बनाउन सकेमा मात्र यी जोगिन्छन् । अन्यथा हाम्रो समाज निरस, यान्त्रिक, समाजमा परिणत हुन कत्ति बेर लाग्नेछैन ।

(कोइराला सांस्कृतिक अभियन्ता हुन् )

तपाइँको प्रतिक्रिया ।