बीर अस्पताल र प्रसुति गृहलाई काठमाडौं महानगरपालिकाको कोरोना परीक्षण मेसिन सहयोग

बीर अस्पताल र प्रसुति गृहलाई काठमाडौं महानगरपालिकाको कोरोना परीक्षण मेसिन सहयोग

कपन अनलाइन 

काठमाडौं ,साउन ५।

काठमाडौं महानगरपालिकाले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड – १९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका सामाग्रीमध्ये केही सामाग्री ती दुई अस्पताललाई हस्तान्तरण गरिएको हो ।

असार ११ गते तातो पानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख झास जियकनसहितको टोलीले काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सचिवालय र बिपद् व्यवस्थापन बिभागका अधिकारीलाई सामान हस्तान्तरण गरेका थिए । ती तिब्बतको खासाहुँदै तातोपानी ल्याइएका थिए । त्यसपछि सिन्धुपाल्चोक हुँदै काठमाडौं ल्याइएको थियो ।

१४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वास्थ्य सामाग्रीमध्ये आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) ५ सय थान हस्तान्तरण गरिएको हो ।

त्यसैगरी प्रसुति तथा स्त्री रोग अस्पताललाई पिसिआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पिपिइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिएका छन  ।

प्रसुति गृहलाई हस्तान्तरण गरिएको पिसिआर मेसिनको मूल्य चार लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरिएको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ ।फोटो सौजन्य :काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।