गोकर्णेश्वर महादेव मन्दिरमा बाजा सहित दैनिक नित्य पूजा आरती शुरु
कपन अनलाइन
काठमाडौं, श्रावण ५ गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा प्राचीन राजा मानदेवकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर महादेव मन्दिरमा वर्षौदेखि रोकिएको पूजा विधि पुनः शुरु गरिएको छ ।गोकर्णेश्वर नगरपालिकाको सक्रियतामा बिहानको नित्य पूजा र बेलुकीको आरतीमा सनाई एवं दमाहा सहितको बाजा बजाउन शुरु गरिएको हो । मन्दिरको नाममा राखिएको ३९६ रोपनी जग्गा रैकर गरेपछि स्रोतको अभावमा बाजा बजाएर पूजा आराधना गर्ने विधि रोकिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।
गुठी जग्गालाई रैकर गर्दा राखिएको रकमबाट परम्परागत विधि चलाउन ७० प्रतिशत बजेट छुट्याउने नियम भए पनि सो मन्दिरमा त्यस्तो हुन नसकेको समितिले जनाएको छ । त्यसको खोजबीनका लागि गुठी संस्थान काठमाडौँ जिल्ला शाखालाई पत्राचार गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
परम्परागत विधि पूरा गर्न नगरपालिकाले रु ७५ लाखको अक्षय कोष स्थापना गरेको छ । मन्दिरमा साउनको पहिलो दिन बिहीबार नगर प्रमुख सन्तोष चालिसेले परम्परागत विधिअनुसार पूजा आराधना गर्न शुभारम्भ गरेका थिए । कान्तिभैरव गुरुकुलका वटुकले वैदिक स्वस्ति वाचनसहित परम्परागत विधिको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चालिसेले मन्दिरका नाममा भएको गुठी जग्गा रैकर गर्ने बेलाको स्रोतको खोजी गर्न लागिएको जानकारी दिए ।मन्दिरको छानो स्वर्ण लेपले फेरी मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न पनि नगरपालिकाले सहयोग गर्ने उनको प्रतिबद्धता रहेको थियो ।पशुपतिसँग सम्बन्ध जोडिएको गोकर्णेश्वर महादेव मन्दिरलाई व्यवस्थित गर्न नगरपालिकाले अभियान चलाउने जनाइएको छ । पशुपतिनाथको पूर्वोत्तर भागमा वाग्मती किनारमा रहेको गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गरिन्छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा आराधना हुन्छ । रासस
फोटो : सरोज बस्नेत