भानु,भाषा र साहित्य
कपन अनलाइन
काठमाडौं ,साउन ३/विजय कट्टेल ‘छहरा’
आज हामी सम्पूर्ण नेपालीहरु भाषा एवम् साहित्यका विराट प्रतिभा भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती हर्ष र उल्लासका साथ मनाइरहेका छौँ । उनका असल कर्मको छहारीमा बसेर सितलता ताप्दै रामायणका श्लोकहरू भट्याउन पाउँदा हाम्रो शिर कवि हृदय प्रति श्रदा ले झुकेको छ । मान्छेलाई उसले गरेका कर्मको यादले सदा सम्झना दिलाउँदो रहेछ ।
आदिकवि भानुभक्त अहिले हाम्रो सामुमा छैनन् तर उनका अमर सिर्जनाहरू घामझैँ उज्यालो र मोतीझैँ चम्किलो भएर अगाडि उभिएझैँ लाग्छ । उनले हामीलाई छोडेर गएका कोसेलीहरू हाम्रो मनमा ताजा छन् । मठ मन्दिर, बिहे बटुलो, ढिकीजाँतो मेलापर्म जताततै घन्किने र रन्किने यी रामायणका श्लोकहरू कहिल्यै पुराना हुने छैनन् । यस्ता श्लोकहरू सुन्दा हामीलाई हाम्रा पुर्खाको सम्झनामा मन फुरुङ्ग भएझैँ लाग्छ ।
एकदिन नारद सत्यलोक पुगि गया, लोकको गरौँ हित भनी
ब्रम्हा तहीँ थिया पर्या शरणमा खुशी गराया पनि ।।
बि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने गाउँको सम्भ्रान्त परिवारमा जन्मिएका भानुभक्त आचार्य पं. श्रीकृष्ण आचार्यका नाति तथा बुवा धनञ्जय आचार्य र माता धर्मावती देवी का छोरा थिए ।
बाल्यअवस्था देखिनै उनले हजुरबा को लाडप्यारसँगै राम्रो शिक्षा दिक्षा समेत पाएका थिए । संस्कृतमा लेखिएको रामायणलाई भानुभक्तले सरल भाषामा सबैले बुझ्ने गरि त्यसैताका नेपालीमा उल्था गरेर सुरिलो भाखामा गाउँन मिल्ने गरी नेपाली रस्ती बस्तीमा पुर्याए । कुशल नेतृत्वले सिँगारिएको उनको जीवन फक्रिएको फूलझैँ सुवासित भएर मौलाउन पुग्यो र उनी नेपाली साहित्य आकाशमा जताततै आदिकविको नामले परिचित हुन पुगे ।
राजा पृथ्वीनारायण शाहले राजनीतिक एकीकरण गरेको सुन्दर, शान्त नेपाललाई आदिकवि भानुभक्त आचार्यले भाषिक र सांस्कृतिक एकीकरणले दर्बिलो पारे । रामायण सबै नेपालीको साझा सम्पत्ति बन्न
पुग्यो । सबै नेपालीले मर्यादापुरुष रामको आदर्श, गुण र चरित्रलाई आत्मसात् गर्ने अवसर पाए । गाउँबस्ती सबैतिर सबैका मधुर कण्ठबाट लय हालेर रामायणका श्लोकहरू गुिञ्जन थाले यसरी ।
“घाँसी दरिद्र घरको तर बुद्घि कस्तो ?
मो भानुभक्त धनी भैकन आज यस्तो
मेरा इनार नत सत्तल पाटी क्यै छन्
जो धन र चिजहरू छन् घरभित्र नै छन्।”
विश्वका हरेक भू भागमा जहाँ —जहाँ नेपालीहरू छन् त्यहाँसम्म भानुभक्तीय रामायणले व्यापकता पायो । आदर्श पुरुष रामका चरित्रले तत्कालीन समाजमा राम्रो प्रभाव पारेकै कारणले यसको महिमा बढ्दै गयो र भानुभक्त दिन प्रतिदिन लोकप्रिय बन्दै गए । अझ नेपाली भाषाको ख्याति र सम्मान नेपाल बाहिरका मुलुकहरू अमेरिका, युरोप, अष्ट्रेलिया, अफ्रिका लगायत हङकङ र खाडी राष्ट्रमा समेत यसको दह्रो प्रभाव पर्न थाल्यो । रुसमा त भानुभक्तको सालिक समेत राखियो ।
जहाँ जहाँ नेपाली पुगे त्यहाँ भानुभक्त र रामायणको प्रभाव नपरी रहन सकेन । भुटान, श्रीलङ्का, बङगलादेश, पाकिस्थान लगायतका देशहरूमा यसको छिटपुट प्रभाव पर्यो । भारतको आसाम, सिक्किम, देहरादून, खरसाङ आदि स्थानमा भानुभक्त र उनका रामायणको अझ ठुलो महिमा र प्रशंसा बढ्दै गयो । प्रवासमा अहिले पनि उनीहरु भानुजयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मान्दछन्, आदिकवि आचार्यलाई विभूतिका रुपमा स्वीकादर्छन् ।
हामीले रामायण पढेर रामको भ्रातृप्रेम, भरतको दाजु प्रतिको अनुराग, सीताको पातिव्रत्य, हनुमानको स्वामीभक्त, विभीषणको न्यायप्रेम, रावणको अहङ्कार, सुग्रीवको मित्रता शवरीको रामभक्ति र लक्ष्मणको भ्रातृप्रेम जस्ता घटनाक्रमबाट आदर्शका पाठहरू सिक्ने गरेका छौँ । सत्यको जय र असत्यको पराजय रामायणको मूल सार मानिन्छ । रामायणको अध्ययनबाट राक्षसी आचरण र स्वभाव परिवर्तन गर्न सकियो भनेँ निश्चय पनि भानुभक्तको सदीक्षा पूरा भएको मानिने छ ।
रामायण भानुभक्तद्वारा लिखित अनूदित कृति हो । यो काव्य संस्कृत भाषामा रचित अध्यात्म रामायणबाट अनुवाद गरिएको पहिलो महाकाव्य मानिन्छ । यसमा मौलिक गुणहरू प्रसस्त रहेका छन् ।
यस कृतिले नेपाली भाषाको उत्थानमा ठूलो योगदान पुर्याएको छ भने नेपाली समाजलाई एकताको सूत्रमा बाँधेर नेपाली जातीलाई सभ्यता र संस्कृतिको पाठ सिकाउँदै शैक्षिक जागरण ल्याउनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सम्पूर्ण नेपाली वाङ्मय साधकहरूका लागि यो कृति सर्वश्व सम्पत्ति र प्रेरणाको सर्वोत्तम स्रोत मानिन्छ ।
भानुभक्त रामायणको रचनाले मात्र नेपाली पाठकको माझमा प्रिय पात्र बनेका होइनन् । उनले बधू शिक्षा, भक्तमाला, रामगीता, प्रश्नोत्तर लगायत नेपाली समाजको चित्रण गरिएका दर्जनौँ कृतिहरू पस्किएर नेपाली पाठक सामु प्रस्तुत गरे र जिन्दगीलाई काव्य साधनामै समर्पण गरे । लयात्मक पारामा सजिएका उनका सिर्जना भित्र जिब्रोका लागि आस्वाद्य तुल्याउने बिभिन्न छन्दको प्रयोगले उनका कृतिहरू लालित्यमय छन् । रस्तीबस्ती जताततै झाँगिएर पाठकको मन जित्न सफल सार्दूल विक्रीडित छन्द स्वयं कवि र पाठक सबैकालागि प्रिय मानिन्छ । यसका अलावा वसन्ततिलका, मालिनी, इन्द्रबज्रा, स्रग्धरा, शिखरिणी, स्वागता र द्रुतबिलम्बित छन्दमा पनि उनको कलम स्वतस्फुर्त ढङ्गले सशक्त अगाडि बढेको देखिन्छ ।
भानुभक्त पूर्व कुनै कविहरू छँदै थिएनन् भन्ने कुरा होइन । नेपाली साहित्यको प्राथमिक कालिन इतिहासलाई नियाल्दा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेताका वीर रसमा कविता लेख्नेहरू पनि प्रसस्त थिए । त्यस पछि कृष्ण भक्तिधारामा लहसिएर कविताको सिर्जना गर्नेहरू वसन्त शर्मा, यदुनाथ पोखरेल, इन्दिरस, वीरशाली पन्त, विद्यारण्य केसरी, छविलाल नेपाल आदि प्रभृति कविहरूको ठुलै लर्को थियो भने राम भक्तिधारामा लहसिएर कविताको सिर्जना गर्नेहरूमा भानुभक्त आचार्य, रघुनाथ पोखरेल, पतञ्जली गजु¥याल, आदि राम भक्तिधारालाई प्राथमिकता दिएर लेख्ने कविहरू थिए ।
यी मध्ये केन्द्रीय प्रतिभा भानुभक्तनै ठहर्छन् । भानुभक्तले आफ्नो जीवन कालमा लेखेर छोडेका रचनाहरूलाई मोतीराम भट्टले छापिदिएर प्रकाशमा ल्याउने काम गरे र आदि कविले विभूषित गरिदिए, श्री ३ जुध्द शमशेरबाट भानुभक्तलाई सम्मान गरियो । अरुलाई छाडेर किन भानुभक्तलाईनै आदिकवि पदले विभूषित गरियो त प्रश्न उठन सक्ला ,यसको एउटै उत्तर छ, कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्तनै हुन् ।
यसरी मोतीरामले भानुभक्तलाई सहज कवि मान्दै उनको उच्च मूल्याङ्कन गरेका छन् । उनले दिएको आदिकवि उपाधिमाथि आजसम्म कुनै खण्डित हुने तर्क जुटेको छैन । जे भएता पनि उनी स्पष्टवादी र निर्भिक थिए । उनको व्याङ्य चेतना र आशु कवित्व बेजोड थियो ।
एउटा नेपाली उखान छ, गर्ने भन्दा गराउने ठुलो ।
साँच्चै एउटा निरक्षर घाँसीले भानुभक्त जस्तो प्रकाण्ड विद्वान्लाई नेपाली साहित्यमा युगान्तकारी हलचल गराइदिए । आफूले घाँस काट्नुको रहस्य खोलेर भानुभक्तलाई अर्तीको तीतो स्वाद चखाउँदै आफूले अनुभूतिजन्य अहमको गुलियो स्वाद लिने घाँसीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद दिनु पर्दछ ।
बिरुवा रोपिदिएर मीठो फल फलाउने भानुभक्त हामी सबैका आँखाका नानी हुन जसले संसार देखायो । आज हामी त्यही रमितामा मस्त छौँ । नेपालीका घर आँगनमा पाकेको फल पु¥याइदिएर पाठकलाई आनन्दको वर्षा गराइदिने मोतिराम, घाँसी र भानुभक्त यी तिनै स्रष्टा नेपाली भाषा साहित्यका ब्रम्हा, विष्णु र महेश्वर हुन भन्दा फरक नपर्ला ।
अहिले देश गणतन्त्रमय भएको छ । सङ्घीयताले सजिएका हाम्रा सबै प्रदेशहरूमा भानुभक्तिय रामायणको महत्व पनि समान छ । किनकि भानुभक्त हाम्रा राष्ट्रिय विभूति हुन् । भानुभक्त र रामायण एक अर्काका पर्यायवाची शब्द जस्तै बनेका छन् भने हामीले यसलाई कतै र कसैबाट होचो र अर्घेल्याई गरेर हेरिनु हुँदैन । भाषा हाम्रै हो साहित्य र संस्कृति हाम्रै हुन ।
हामीलाई शरीरको जुनसुकै अङ्गमा काटे पनि उत्तिकै दुख्छ । पाश्चात्य संस्कार र संस्कृतिका ललिपपले हाम्रो भाषा, कला, साहित्य र संस्कृतिमा कतै आँच पु¥याइनु हुँदैन । हिजो हाम्रा पाखा पखेरामा गुञ्जिने श्लोकहरू आज पनि त्यसैगरी गुन्जिनु पर्छ । हामीले छातीमा हात राखेर गम्भीरता पूर्वक सोच्न सक्नु पर्छ । कतै हामीले पृथ्वीनारायण शाह र भानु भक्तको योगदानलाई सम्मान गर्नुको सट्टा बिर्सिरहेका त छैनौ ? हामी सबैले गहिरिएर सोच्न जरुरी छ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक