यसरी गर्न सकिन्छ सामुदायिक विद्यालयमा पठनपाठन

यसरी गर्न सकिन्छ सामुदायिक विद्यालयमा पठनपाठन

कपन अनलाइन 

काठमाडौं ,असार २० /प्रशुराम अधिकारी
विद्यालय धेरै मानिस जमघट र भिडभाड हुने स्थान हुन् । कोरोना भाइरसको महामारीको अवस्थामा सामुदायिक विद्यालयहरु क्वारेन्टाइन स्थलका रुपमा परिणत भएका छन् । ग्रामीण भेगमा क्वारेन्टाइन स्थलका रुपमा  विद्यालय बाहेक अर्को विकल्प पनि छैन । यस्तो अवस्थामा कसरी विद्यालयहरु सञ्चालन गर्ने ?, कसरी विद्यार्थीको शैक्षिक सत्रलाई खेर जाननदिने ?, कसरी पठनपाठनलाई सुचारु गर्ने ? भन्ने सन्दर्भमा विभिन्न विकल्पहरुमा छलफल र बहसहरु भइरहेका छन् ।
सहरी क्षेत्रहरुमा सुचना प्रविधिको पहुँच बढि छ । सूचना प्रविधिको पहुँच नपुगेकाहरु सँग पनि पुग्ने सम्भावना रहन्छ । खासगरी इन्टरनेटको पहुँच भएका विद्यार्थी तथा शिक्षकका लागि अनलाईन पठनपाठन एउटा विकल्प हो । जुन यति बेला सहरी क्षेत्रका निजी विद्यालयहरुले अभ्यास गरीरहेका छन् । तर सहरकै अधिकांस सामुदायिक विद्यालयका विद्यार्थी र ग्रामीण सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरु अनलाइन पढ्ने र पढाउने अवसरबाट वञ्चित छन् ।

तिनलाई पनि समेटेर कसरी पठनपाठन सुचारु गर्ने भन्ने कुरा अहिलेको मुख्य सरोकारको विषयहो । सूचना प्रविधिको प्रयोगद्वारा दूर दराजमा रहेका विद्यार्थीलाई पढाउने प्रक्रियालाई नै दूर शिक्षा भनिन्छ । जुन शिक्षा विश्वमा धेरै वर्ष अघिदेखि प्रचलित शिक्षा प्रणाली हो । दूर शिक्षा सूचना प्रविधिमा आधारित शिक्षा प्रणाली हो । यसकै अवधारणामा आधारित भएर विश्वभर विभिन्न मोडलमा विद्यालय, विश्वविद्यालय र अन्य शिक्षालयहरु सञ्चालन भएका छन् । नेपालमा पनि दूर शिक्षा प्रणालीमा आधारित भएर खुला विश्वविद्यालय सञ्चालनमा छ । अहिलेको महामारीको अवस्थामा शिक्षाको यो प्रणाली उपयोगी हुने देखिन्छ । तर सबै खाले विद्यार्थी तथा शिक्षकहरुका लागि यस्तो प्रणाली उपर्युक्त छ त ? यस्तो प्रश्न पनि उठ्न सक्छ ।
नेपालमा सूचना प्रविधि र सञ्चार माध्यमहरुको राम्रै विकास भएको छ । करिब करिब प्रत्येक जिल्लामा एफएम रेडियोहरु खुलेका छन् । टेलिभिजनको पहुँच पनि सहर तथाबजार क्षेत्रका साथै गाउँहरुमा समेत पुगीसकेको छ । नेपालमा कुल जनसंख्याको लगभग ६० प्रतिशत नेपाली इन्टरनेटसँग जोडिएका छन् । ल्यापटप, कम्प्युटरका प्रयोगकर्ताहरु सहरी इलाकामा रहेका भएपनि मोबाइलफोन प्रयोग गर्नेहरु हरेक गाउँगाउँमा धेरै मात्रामा छन् । यसको आधारमा के भन्न सकिन्छ भने नेपालमा अन्य सूचना तथा सञ्चारको तुलनामा मोबाइलफोन र एफएम रेडियोको प्रयोग गरेर पठनपाठन सञ्चालन गर्न सकिन्छ । सामुदायिक विद्यालय र दुर्गम ग्रामीण भेगमा पनि शिक्षाको वैकल्पिक व्यवस्थाका रुपमा मोबाइलफोन र एफएम रेडियोहरु हुन सक्ने देखिन्छ ।
विभिन्न पालिकाहरु मिलेर स्थानीय एफएम रेडियो सँग समय लिएर/मिलाएर कक्षाहरु सञ्चालन गर्नुपर्छ । विद्यालय, शिक्षक र विद्यार्थीको आपसी समझदारीबाट माध्यम, समय र पाठ्य सामाग्रीको व्यवस्थापन गरी पठनपाठन गनुपर्छ ।
विद्यालयबाट क्वारेन्टाइन हटाएर त्यहाँ भिड नहुने गरी विद्यार्थीहरुलाई पालैपालो बोलाएर पठनपाठन गराउनपनि सकिन्छ । शिक्षक र विद्यार्थीले भौतिक दूरीको नियम पालना गर्नु त पर्छ नै साथै समय–समयमा विद्यालयलाई किटाणु रहित बनाउन निर्मलिकरण गर्ने, अनावश्यक आवतजावतलाई पूर्ण रुपमानिषेध गर्ने, विद्यार्थीलाई हातधुने ठाउँ, मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गर्ने, इन्फ्रारेड थर्मोमिटरको व्यवस्था गर्ने, शौचालयको राम्रो व्यवस्था गर्ने लगायतकाकाम गर्नुपर्छ ।

पठनपाठनका अतिरिक्त अन्य गतिविधिमा भने तत्काललाई प्रतिबन्ध नै लगाउनु पर्छ । एकदिन आएका विद्यार्थीलाई विषयगत शिक्षकहरुले निश्चित केही दिनका लागि पठनपाठनमा पुग्ने पाठ्य सामाग्री र घरमै बसेर गर्न सकिने गृहकार्यहरु दिनुपर्छ साथै त्यसको निरन्तर अनुगमन गरिरहनु पर्दछ ।

इलाका अनुसार विद्यार्थीहरुलाई समूह–समूहमा बाँडी केही विद्यार्थीलाई समूहको नेता बनाई उनीहरुले शिक्षकसँग समन्वय गर्ने र नबुझेका, सिकाईमा कठिनाई महसुस गरेका विद्यार्थीहरुलाई शिक्षक सँग प्रत्यक्ष भेटाई समस्या समाधानको वातावरण मिलाउनु पर्छ ।
कक्षा अनुसार फरक फरक दिन विद्यालय आउने र हप्तादिनमा यो चक्र दोहोरिने व्यवस्था भयो भने धेरै कुरा व्यवस्थापनमा सहज हुन सक्ला । हप्ताको एकदिन विद्यालय र अन्य दिन विद्युतिय माध्यमबाट पढ्ने अवसर भयो भने अवश्यै पनि विद्यार्थीमा उत्साह जाग्ने छ । साथै प्रविधिको प्रयोगमा विद्यार्थी सानै देखि निपुर्ण हुनेछन् ।

अन्य अप्ठ्याहरुमा फोनको माध्यमबाट शिक्षकसँग अन्तरक्रिया हुन सकेमा र टोल फ्रीनम्बर, फोन, एसएमएस, मोबाइल एप्लीकेशनहरु निर्माणका माध्यमबाट विद्यार्थीले नियमित अन्तरक्रिया गरी आफुलाई परेमा समस्याको समाधान सम्बन्धीत सरोकारवाला निकायबाट हुन सकेमा पठनपाठन सहज रुपमा अगाडि बढ्न सक्नेछ ।
शिक्षकले यस्तो बेला आफ्नो दायित्वबाट कदापी पन्छिन मिल्दैन र विद्यालयले हरेक अप्ठ्यारामा पनि आफ्ना विद्यार्थीलाई पठनपाठनको व्यवस्था गर्नबाट पन्छिन मिल्दैन । शिक्षकहरु सुतेर बस्ने हैन रचनात्मक भएर विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउने हो । शिक्षकले सरकारी तलबको सम्मान गर्न भएपनि र आफ्नो दायित्व पुरा गर्न पनि अब सुतेर हुँदैन ।

आमसञ्चारका माध्यममा पठनपाठन भयो भन्दैमा शिक्षकको भूमिका सकिने भन्ने हैन झन् बढ्छ । शिक्षक समन्वय, व्यवस्थापन र मार्गनिर्देशकको भूमिकामा अझ बलियो भएर लाग्नुपर्छ । कुन विद्यार्थीको घरमा कुनकुन सुविधा छ ?, कुन विद्यार्थीले कस्तो सुविधाको उपयोग गर्न सक्छन् ?अध्ययन अध्यापनमा अभिभावकले के व्यवस्था गर्न सक्छन् ?, विद्यालयले के कुराको व्यवस्था विद्यार्थीको लागि गर्ने हो ? भन्ने कुरा र प्रत्येक विद्यार्थीको सामाजिक, आर्थिक र मनोवैज्ञानिक पक्षको विश्लेषण गरेर त्यसको उचित व्यवस्थापन गर्ने, निरन्तर अनुगमन गर्ने काम पनि कक्षागत शिक्षक र विद्यालयले गर्नुपर्छ ।

त्यसका लागि विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावक, समुदाय र स्थानीय सरकारको समन्वय एकदम जरुरी रहन्छ । यी सबै सरोकारवाला पक्षको समन्वयले मात्र एउटा विद्यार्थीले राम्रो शिक्षादिक्षाको अवसर प्राप्त गर्न सक्छ ।
विद्यालय खुल्ने नखुल्ने विषयमा भएका धेरै अन्तर्राष्ट्रिय बहस तथा प्रयासका आधारमा विद्यालय लामो समय बन्द गर्नु बुद्धिमानी देखिंदैन भन्ने बुझ्न सकिन्छ । लामो समय सम्म विद्यालयहरू बन्द रहिरहने हो भने विद्यार्थीमा नियमित विद्यालय जाने रूचि हराउन सक्नेछ र गरीब तथा सिमान्तकृत विद्यार्थीले विद्यालय छाड्ने समस्या पनि देखिने छ । कोरिया, चीन, डेनमार्क, नर्वे, सिंगापुर र ताइवान जस्ता केही देशले कोभिड–१९ कै बीचमार्च–अप्रिल २०२० देखि विद्यालयहरू फेरि खोल्न थालेका छन् ।

शारीरिक दूरी प्रविधिका साथ सावधानी पूर्वक स्वच्छता, सरसफाइ र क्वारेन्टाइनको प्रयोगले विद्यालयमा कोभिड–१९ को महामारीलाई कम गर्न सकिन्छ भनेर देखाउँछन् । यी देशहरुको सन्दर्भमा विद्यालयहरू खोल्दा यस्ता स्वास्थ्य र सुरक्षा दिशानिर्देशहरू र सामाजिक दूरी रणनीति प्रयोग गरियो, जुन सफलतापूर्वक लागू भएको देखिन्छ ।
एउटै देशमा दुईथरी शिक्षा प्रणाली हुन सक्दैन । निजी  विद्यालयमा विद्यार्थीले पठनपाठनको अवसर पाइरहने र सामुदायिक विद्यालयमा विद्यार्थी त्यसबाट वञ्चितहुने विभेदपूर्ण शैक्षिक व्यवहारको अन्त्य हुनैपर्छ । त्यसका लागि सरकारले उचित नीति र रणनीति बनाएर तत्काल कार्यान्वयन हुने स्थिति बनाउनुपर्छ साथै अब सरकारले टेलिभिजन, रेडियो, छापा र अनलाइन मिडियाबाट पढाउने गरी पाठ्यक्रमको विकास गर्नुपर्छ ।

सरकारले सामुदायिकविद्यालयकाविपन्न विद्यार्थीहरुको लागि पनि पहुँच पुग्ने किसिमको विद्युतिय पाठ्यक्रम बनाउनु पर्छ ।
आम सञ्चार र विद्युतिय माध्यममा पहुँच नभएका विद्यार्थीहरुको हकमा सकभर विद्यालयले विभिन्न निकाय र सरकारसँग अनुरोध गरेर व्यवस्था गरिदिनु पर्दछ ।

त्यस्तो व्यवस्था नहुञ्जेल सम्मका लागि नजिकका सहपाठी साथीसँग सहपठन हुने व्यवस्थाको समन्वय र सहयोग विद्यालय र शिक्षकहरुले गर्नसक्नु पर्छ । पठनपाठनमा एक आपसमा सहयोग र सहकार्य हुने कार्यलाई प्रोत्साहन गर्नुपर्छ । अभिभावकको आवश्यकता विद्यार्थीहरुको उत्साहमा मात्र नभई उनीहरुको अनुकुल वातावरण वा समस्याको बेला झनै प्रगाढ हुने गर्छ ।

कोभिड १९ नामक कोरोना भाइरसले विश्वव्यापी रुपमा शैक्षिक लगायत सम्पूर्ण आर्थिक तथा सामाजिक क्षेत्रमाअधिकांस नकारात्मक असर परिरहेको छ । यो बेलामा हरेक राष्ट्र आफ्नो देशभित्रका प्रत्येक नागरिकहरुको अभिभावकको रुपमा सक्रिय र सचेत हुनु आवश्यक हुन्छ । विद्यार्थीका अभिभावकहरु विद्यार्थीको पढ्नै नपाउने संकटको अवस्थामा निरीह भई बन्दाबन्दीको मारमा परिरहेको अवस्थामा सरकारले अभिभावकको भूमिका निभाउनै पर्छ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।