काठमाडौं महानगरपालिका नदीहरुलाई अतिक्रमण मुक्त बनाइने

काठमाडौं महानगरपालिका नदीहरुलाई अतिक्रमण मुक्त बनाइने

कपन अनलाइन

काठमाडौं,असार ५।

काठमाडौं महानगरपालिकाले नदीहरुलाई अतिक्रमण मुक्त बनाइ सौन्दर्यिकरण गर्ने घोषणा गरेको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहिवार  राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनुका साथै  काठमाडौं उपत्यकाको सम्पदाको रुपमा रहेका  बागमती, विष्णुमती, धोबीखोला, सामाखुशी, ईच्छुमती, मनोहरा लगायतका नदीनालाहरुलाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाइने उल्लेख गरिएको छ ।

सो  नीति तथा कार्यक्रम अनुसार हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै बर्ष शुरु गरिने तथा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीनालाको सरसफाई र संरक्षणको उचित व्यवस्था गरी नदीलाई मानव सभ्यता र सौन्दर्यतासँग आबद्ध गरिने उल्लेख गरिएको छ।

त्यस्तै  त्रिपुरेश्वरदेखि टेकुसम्मको वागमती किनारालाई श्री हुतराम बैद्य स्मृति पैदलमार्गको रुपमा विकास गर्नुका साथै  पचली कालोपुलदेखि टेकु दोभानसम्मको नदी किनारालाई श्री भगवानदास मानन्धर स्मृति स्थलको रुपमा विकास गरिने योजना महानगरको नीति तथा कार्यक्रममा समेटिएको छ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गर्ने र  हनुमानढोका परिसर तथा कोत क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन गर्ने पनि महानगरपालिकाको नीति रहेको छ ।

तपाइँको प्रतिक्रिया ।