“कालापानी र रुकुम घटनामा देखिएको जातियताको मुद्दा”

“कालापानी र रुकुम घटनामा देखिएको जातियताको मुद्दा”

कपन अनलाइन

काठमाडौं जेठ १४/यशराज गौतम 

कालापानी लिम्पियाधुरा र रुकुम घटना पछिल्लो साताको सामाजिक संजाल तताउने दुई प्रतिनिधि घटनाहरु हुन । यी दुई घटनाहरुको बिचमा धेरै ठूलो भिन्नता छन । एउटा घटना २०० बर्ष देखि अतिक्रमण भएको नेपालको भुमीको बिषयमा विभिन्न कोणको बुझाईहरु रहेका छन भने अर्को घटनामा दुई जना किशोर किशोरीको प्रेमको कारण वाट सिर्जित घटनाको भयानक परिणाम उब्जिएको छ । जसमा अनाहकमा ६ जना किशोरको ज्यान गएको छ । यसले सामाजिक संजालको प्रयोगकर्ताहरुको लागि स्वतन्त्र बहसको समान बिषय बनाएको छ । यी दुबै सामाजिक बहसको एउटा समान पक्ष जातियता, दमन, अपहेलेना र असमनता पनि रहेका छन ।

कालापानीको मुद्दामा हामी वीर गोर्खालिका सन्तान हौ, हामिलाई कसैको अधिनस्त स्वीकार्य छैन । हाम्रा बिरताले जोगाएको देश हो । हाम्रो एक ईन्च जमिन पनि दिदैनौ भन्ने किसिमको अभिब्यक्तिहरु सामाजिक संजालमा भेटिन्छन । तर यसो भनिरहदा हाम्रा तराईका मधेशी जातिहरुले कहिल्यै पनि हामी गोर्खालिका सन्तानहरु हौ भन्ने कुरा ब्यक्त गरेका छैनन । उनिहरुको अन्तरमनमा एउटा गुनासोले जरा गाडेको छ । हामी मधेशी हौ । हामिले आफ्नो रगत पसिनाले सिमाको रक्षा गरेका छौ । तर हामिलाई पहाडीहरुको नेपालले कहिल्यै आफ्नो देखेको छैन । हामिलाई आगन्तुक सम्झन्छ, हामी माथी धोती, भैया, मदिसे आदि शब्दहरु अपमानजनक ढंगले प्रयोग गर्छ । हामीलाई मधेशी भनेर हेप्छन हेला गर्छन । हामिले जति नै कुर्बानी गरे पनि हामिलाई दोश्रो दर्जाको नागरिकको रुपमा हेर्छन । यो कुरा हेर्दा वा सुन्दा हामिलाई सामान्य लाग्न सक्छ तर यो पेचिलो बिषय पनि हो । हामी भक्ती थापा, पृथ्वीनारायण शाह, बलभद्र कुवरको कुरा गर्दा त्यहा कुनै साह, यादब, चौधरीको नाम ईतिहासले उच्चारण गरेको छैन । अंग्रेजहरु मकवानपुर गढी, सिन्धुली गडि सम्म आईपुग्दा के त्यहा कुनै चौधरी, यादब, महतोले बिरगती पाएन होला ? तर ईतिहास यसको बारेमा मौन छ ।

पहाडी मुलका राजा रजौटाहरुले विशाल नेपाल निर्माण गरि रहदा कैयौ राजपुत, सिंह, ठाकुरहरुले देखाएका बिरताको बारेमा ईतिहास मौन छ । सुगौलिको संधी पश्चात् पटक पटक भारतिय पक्ष वाट सिमा मिचिएको छन । उनिहरु पटक पटक अन्यायमा परेका छन तर कुनै भक्ती थापा अमर सिंह थापा, बलभद्रका सन्तान उनिहरुलाई परेको अन्यायमा रक्षा गर्न गएका छैनन । उनिहरु माथी पटक पटक अन्याय हुदा आफुले सकेको प्रतिकार गर्छन अनि कसै वाट साथ नपाए पछि सहेर, पिल्सिएर बसेका छन । राज्यले उनिहरुको पिडामा मुकदर्सक भएर बस्यो । राज्य केन्द्र मुखी भयो । उनिहरुको समस्यालाई राज्यले संबोधन गर्न सकेन । स्वास्थ, शिक्षा, बिकासको दृष्टिकोणले उनिहरु पछाडी पर्न थाले । देशले उनिहरुलाई समानताको प्रत्याभुत गराउन सकेन । सेना, प्रहरी, अड्डा, अदालत, प्रसाशन आदि कुनै पनि क्षेत्रमा राज्यले समाबेस गर्न सकेन । परिणामत: पहाडियाहरु सबै क्षेत्रमा हाबी भए । उनिहरु हेरेक क्षेत्रमा पछि पर्दै गए ।

जब एउटै देशमा एउटै नागरिकता पाएर पनि जात र थरको आधारमा उनिहरुलाई सिमित गरियो तब उनिहरुलाई राज्य प्रती अपनत्व महसुस हुनै सकेनन । राज्यले नै आफ्नो नदेखे पछि राष्ट्रियताको बिषयमा खासै महत्व राख्न सकेन । त्यसैको फलस्वरुप राष्ट्रियता सवालमा तराई मौन छ र कसै कसैमा बितृश्णा पनि छ । सैयौ बर्ष देखि जातियताको आधारमा भोगेको उपेक्षा शान्त हुन अझै समय लाग्ने देखिन्छ ।

त्यसैगरी अर्को पेचिलो घटना रुकुम घटनाको पनि उस्तै चर्चा सामाजिक संजालमा छरपस्ट छ । एउटा दलित जातिको केटा नवराजले उपल्लो जातिको १७ बर्षे केटी सुष्मा मल्ल सँग प्रेम संवन्ध थियो । बिबाहको लागि प्रयास गर्दा समाजले स्वीकृति नदिने देखेपछि १९ जना साथिहरुको जमातमा केटिको घरमा जान्छ । जसको कारण ६ जनाको ज्यान जाने गम्भीर घटना घट्छ । घटनाको सामान्य पृष्ठभुमि यहि हो । तर यस घटनाले कैयौ सवाल खडा गरेको छ ।

हाम्रो समाजवाट कहिले जातिय छुवाछुत र दलित भेदभावको अन्त्य हुन्छ ? के यो घटना अन्तरजातिय बिबाहको कारणले भएको हो ? कानुनले २० बर्ष भन्दा कम उमेरको बिबाहलाई बिबाहको मान्यता दिदैन । के १७ बर्षको उमेरको केटीलाई बिबाह गराउनु कानुनको उल्लघन मानिदैन ? के हाम्रो समाजले २० बर्ष भन्दा कम उमेरको बिबाहलाई स्वीकार गरेको उदाहरण हाम्रो समाजमा छैन ? साथै २० बर्ष भन्दा कम उमेरको केटी मान्छे सँग बिबाह गर्दा बलत्कारको सजाँय भोगिरहेको उदाहरण पनि छन । अनि अर्को महत्वपुर्ण प्रश्न यो घटनाको कारणले अब ती किशोरिको जिवनमा कस्तो असर पर्ला ? साथै आफैले जन्माई हुर्काई माया ममताले पालेको छोरी प्रती अबिभावकले राम्रो नराम्रो सोच्ने अधिकार हुदैहुदैन ? त्यसको अलावा केटिलाई भगाउने उद्देश्यले हिडेको मान्छेले १९-२० जना जथ्थाको बलमा जानु आफैमा जबरजस्ती गर्ने आशय देखिन्छ । तर ब्यहोरा जे जस्तो भए पनि कुनै पनि कारणले कसैको ज्यान जानु कानुनी अपराध हो । दोशिलाई कानुनी कारबाही हुनु पर्दछ । यसमा दुई मत छैन तर समाजमा यस्ता घटना निरन्तर घट्दै जाने अनि कानुनी कारबाही गर्दै जाने मात्र गर्नाले यस्ता दुर्घटनालाई निरुत्साहन गर्दैन ।

पहिलो कुरा घटना किन घट्यो ? बिबाहको लागि अस्विकार हुनुमा जातियता एउटा बलियो कारण होला तर यो मात्र पनि कारण नहुन सक्छ । अन्य कारणहरुले पनि अमान्य हुन सक्छ । यसलाई जातियताको तुलोवाट मात्र मापन गर्नु सान्दर्भिक नहुन सक्छ । केटा र केटि बिच भएको प्रेम सजातिय हुदा हुँदै पनि अस्वीकृत भएका सुनेका, देखेका छौ । हामी आफैलाई महसुस गरौ, यदि आफ्नै छोरीलाई आफ्नो ईच्छा बिपरित कसैले खोस्ने प्रयोजनले आउछन भने हामिलाई कस्तो लाग्ला ? यो दुर्घटनाले कतिका ज्यान गए तर ती परिवारको भविश्य अब कति कठिन होला ? प्रश्न र परिणाम अनेक हुन सक्छ । तर यो दुर्घटनाले एउटा जटिल प्रश्न खडा गर्ने छ । त्यो हो; हाम्रो शिक्षा पद्धती र सामाजिक चेतना । हामी कानुन निर्माण गर्दछौ तर त्यसको प्रबाभ समाजमा पुग्न सकेको छैन । मान्छेहरु नजानी नजानी ठुला ठुला कानुनी भुल गरिरहेका हुन्छन । तर हाम्रो शिक्षा प्रणालिले समाजमा चेतना जगाउन सकेको छैन ।

हुन त सत्य तथ्य पछि बिस्तृत रुपमा आउला । तर अहिले यो बिषय सगँ अन्तरजातिय प्रेमको प्रसंगमा एउटा गम्भीर जातियताको मुद्दा पनि जोडिएको छ । कानुनी प्राबधान र कार्यन्वयनको ब्याबहारिक पक्षको बारेमा बहस सुरु भएको छ । हामी एक्काइसौ सताब्दिको जातीहिन, बर्गहिन समानताको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक मुलुकमा छौ । तर ब्याबहारमा जातिय विभेद अझ कायम छ । दलित तथा मधेसीहरु सामाजिक रुपमा अझ पनि उत्पिडित छन । सांकृतिक रुपमा अपहेलित छन । कानुनका अक्षरले समान लेखे पनि पुरातन देखि बनाएको भिन्नता समाजमा यथावत छ । सुनार, नेपाली, परियार, मुसर, चमार आदि थरहरु कुनै दिन आफ्नो पहिचान थियो भने आज त्यही पहिचान अबिसाप सरि भएको छ । हिजो जातियताको आधारमा धेरै अन्याय सहेर बसेका उत्पिडित जातिहरुमा आज चेतनाको स्तर वृद्धि भएको छ । उनिहरु समनताको लागि लालाहित छन । सामाजिक संरचनाले उनिहरुको आत्मासम्मानको उपहास गर्ने संस्कारको अन्त्य हुन पर्दछ । तब मात्र यस्ता घटना बिरुद्द सहि संबोधन हुने छ ।

(लेखक बुढानिलकण्ठ ११ जगडोल निवासी सामाजिक अभियन्ता पनि हुन् )

तपाइँको प्रतिक्रिया ।