महाभूकम्प, नाकाबन्दी, कोरोना र केपी ओली

महाभूकम्प, नाकाबन्दी, कोरोना र केपी ओली

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १२/कृष्णप्रसाद उप्रेती

२०७२ सालको महाबिनाशकारी भूकम्पले हाम्रो देशमा ठूलो उधुम मच्चायो । देश ठूलो अप्ठेरोबाट गुज्रियो । त्यसको ५ वर्ष पछि कोरोना महामारीले भूकम्पले भन्दा झन् ठूलो समस्या दिइरहेको छ देशलाई । सरकार र जनता यस्ता महामारीहरुमा कसरी बाँच्ने र बिहान बेलुका कसरी हातमुख जोर्ने भन्ने समस्या समाधानमै व्यस्त हुनु परेको आजको अवस्था छ।
सरोकारवाला र राजनीतिक नेतृत्वले समयमा बुद्धिमानी अपनाएको भए नेपाल अहिलेसम्म विकासको बाटोमा धेरै अगाडि बढिसक्थ्यो । महामारी आइपरेमा हातमुख जोर्ने समस्या भन्दा महामारी नियन्त्रणका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्न सकिन्थ्यो र यस्ता समस्या सहजै समाधान हुन्थे । तर हामी त्यो अवस्थामा छैनौँ । एकदिन मात्र काम गर्न पाइएन भने बिहान बेलुकीको गुजारा कसरी गर्ने भन्ने चिन्ता हामीमा ज्यूँका त्यूँ छ ।
राणाशासन, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था सम्मका सबै सरकारहरु जनताका पीरमर्का भन्दा आफ्नै कुर्सीका लागि ध्यानमग्न भएकाले जनताले के खाए, के लाए ? कसरी जीवनयापन गरिरहेका होलान् भन्ने विषयमा एकरति पनि चिन्तित देखिएनन् । जनताका नाम गरेर राज्यको ढुकुटी सक्ने काम मात्र गरे ।

२०६२/०६३ को आन्दोलन पश्चात देशमा गणतन्त्र स्थापना भयो र राजनीतिक आन्दोलनले एक फड्को मार्दै आर्थिक विकासको मार्गमा देश अगाडि बढ्यो । सोही क्रममा राजनीतिक दलहरुमा ध्रुवीकरण भई नेपाली कम्युनिष्ट इतिहासमा तत्कालीन सबैभन्दा ठूला दुई कम्युनिष्ट दल नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । प्रतिनिधिसभामा दुई तिहाइको ठूलो दलको रुपमा सरकार सञ्चालन गरिरहेको छ र त्यसै सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताको आशा र भरोसाको केन्द्र बन्नुभएको छ ।
नेपालमा प्रधानमन्त्रीहरु धेरै भए, गणतन्त्र आएपश्चातका प्रधानमन्त्रीहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईप्रति पनि धेरैले अपेक्षा गरेका थिए ।

बाबुराम भट्टराईलाई त पढेलेखेका प्रधानमन्त्री भनेर विपक्षी दलका समर्थकहरु समेत केही हुन्छ कि भन्ने आशामा थिए । तर सोचे अनुरुप र नेपाली जनताको भावना अनुरुप सरकारहरु अगाडि बढ्न सकेनन् र चुनाव अनि सरकार परिवर्तनको क्रम चलि नै रह्यो ।
२०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ ले घोषणा भएपछि भारतले नाकाबन्दी गर्यो ।

नेपालका तराई केन्द्रित केही दलहरुले अघोषित रुपमा सो नाकाबन्दीको समर्थन गरे । त्यस पश्चात राजनीतिक खिचानाति र दलहरुको प्रधानमन्त्री होडका बीचम केपी ओली प्रधानमन्त्री भए पछि नाकाबन्दीको विरुद्धमा देखिएको दृढ आत्मविश्वास र त्यसलाई नेपाली जनताले दिएको साथ र समर्थनले केपी ओलीको उचाइलाई अझ माथि उठायो ।

२०७२ को भूकम्पबाट पीडितहरुका पक्षमा समेत केपी ओलीको सरकारले जनप्रिय निर्णयहरु गरी कार्यान्वयनको चरणमा विशेष ध्यान दियो र केपी ओली नै प्रधानमन्त्रीका लागि योग्य थिए र छन् भन्ने महत्वपूर्ण सन्देश नेपाली जनताले प्राप्त गरे ।
महाभूकम्प र नाकाबन्दीको विषम परिस्थितिमा समेत नेपाली जनताको साथ र सहयोगबाट सबैको आशाको केन्द्रविन्दु बन्नुभएका केपी ओलीको नेतृत्वलाई विश्वास गर्दै पार्टी एकीकरण पछि हाल दुई तिहाइको सरकारको प्रधानमन्त्री केपी ओली कोरोना महामारीलाई समाधान गर्ने महान् अभियानलाई समेत नेतृत्व गरिरहुनभएको छ ।
विश्व नै आक्रान्त पार्ने गरी फैलिएको कोरोना महामारीबाट नेपाल पनि अछुत रहन सकेन । विश्वबाट नै पाएको सन्देश भनेको कोरोना महामारी सरकारले चाहेर मात्र नियन्त्रण हुन नसक्ने र जनताको साथ महत्वपूर्ण रहने भन्ने नै हो ।
केन्द्रीय सरकार, प्रदेशिक सरकार र स्थानीय सरकारहरुमध्ये धेरै सरकारहरुको समर्थन प्राप्त प्रधानमन्त्री ओलीले यस्तो महामारीका बखत प्रदेश र स्थानीय तहका सरकारहरुलाई विश्वासमा लिई स्थानीय स्तरमा स्थापना हुन सक्ने उत्पादनमूलक उद्योगहरु, प्रदेश स्तरमा स्थापना हुन सक्ने उद्योगहरु र केन्द्रीय स्तरमा स्थापना हुन सक्ने उद्योगहरुलाई विशेष प्राथमिकता दिई नेपालकै जल र जमिनका स्रोतहरुलाई अधिकतम उपयोग गरी शिक्षा र रोजगारीका लागि बाध्यतावश विदेशिनु पर्ने बाध्यता निर्मूल गर्दै देशलाई आवश्यक सबै वस्तु र सेवा देस  भित्रै उत्पादन हुन सक्ने अवस्था सिर्जना गर्ने र आयातलाई पूर्णतः विस्थापन गर्ने नीति अङ्गिकार गर्नु आवश्यक छ ।
आफू देशकै सबैभन्दा ठूलो पार्टीको अध्यक्ष समेत भएकाले प्रधानमन्त्रीले पार्टीभित्रबाट उत्पन्न समस्याहरुलाई औपचारिक तथा अनौपचारिक भेटघाट, बैठकहरुमार्फत सबैको सल्लाह, साथ र सहयोगबाट अगाडि बढ्नु आवश्यक छ । आफैँभित्र हुने फुट र वैमनस्यताले हानी मात्रै गर्छ भन्ने कुरामा प्रधानमन्त्री चनाखो हुनु जरुरी छ ।
हाल पार्टीमा देखिएको समस्या भनेको तल्लो तहसम्मका सबै कमिटीहरु निर्माण नहुनु र भएका कमिटीहरु पनि आवश्यक मात्रामा क्रियाशील नहुनु पनि हो । तसर्थ पार्टीका र सबै भातृसंगठनहरुको टोल तहसम्म क्रियाशील गराई पार्टी केन्द्रको धारणा र सरकारले गरेको काम र गर्ने योजनाहरुको बारेमा जनतालाई सुसूचित गराउनु आजको प्रमुख आवश्यकता हो । यो कामको लागि अत्यन्तै ढीला भइसकेको छ ।

अहिले दुई तिहाइको सरकार भएकाले अरुलाई देखाएर पन्छिने छुट छैन । तसर्थ नेपालको आन्तरिक मामिलामा सुझबुझपूर्ण हिसाबले नेपाली जनताको हितमा कार्य गर्ने र छिमेकी देश र अन्य मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुमधुर राख्दै विश्वमा नै नेपालको छवि उच्च बनाउन प्रधामन्त्री केपी ओली समक्ष हुनुहुन्छ भन्ने नेपाली जनताको विश्वास रहेको छ ।
विगतका सरकारहरुले गरेका गल्ती र त्यसबाट वर्तमानमा उत्पन्न हुने समस्याको समाधान पनि वर्तमान सरकारबाट नै चाहन्छ जनताले । त्यसकारण सरकार सञ्चालनका क्रममा आइ पर्ने आन्तरिक र बाह्य हस्तक्षेप एवं सरकारविरोधी विभिन्न हथकण्डाहरुलाई चिर्दै सरकार अगाडि बढ्नु पर्नेछ ।
नेपाल जस्तो दुई ठूला देशबीचको भौगोलिक र सांस्कृतिक सम्पदायुक्त देशलाई प्रभाव पार्न र भौगोलिक रुपमा हस्तक्षेप गरी आपूm मातहत रहेको आभाष दिलाउन छिमेकी देशहरु लागि नै रहेका छन् । तसर्थ सार्वभौम मुलुकको प्रधानमन्त्रीका हैसियतले निर्धक्कसाथ कुटनैतिक माध्यमबाट भौगोलिक एवं राजनीतिक र छिमेकी देशहरुबाट आइपर्ने समस्या समाधानमा सबैको साथ र सहयोगबाट उचित कदम चाल्नु पर्दछ।
तसर्थनेपाली जनताको आशा र भरोसाको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रधानमन्त्री एवं पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको वर्तमानको क्रियाशीलता, प्रतिकूल स्वास्थ्यका बाबजुद उहाँमा रहेको आत्मविश्वास र देश र जनताको हितका लागि जस्तोसुकै मूल्य चुकाउन तत्पर रहँदै नेपाल जस्तोसुकै महामारी, समस्या र कठिनाइसँग सामाना गर्न तत्पर र सक्षम छ भन्ने विश्वास दिलाउन सकिएमा आगामी धेरै वर्षसम्म पनि नेपाली जनताको मनमनमा नेकपा र केपी ओली रहिरहनेछन् र इतिहासमा सुनौला अक्षरले चम्किरहनेछन् ।

(लेखक तत्कालीन नेकपा (एमाले) काठमाडौं जिल्ला प्रचार बिभाग सदस्य तथा युवा संघ केन्द्रिय प्रचार बिभाग सदस्य हुन ।

तपाइँको प्रतिक्रिया ।