कपन-चुनिखेल-बालुवा वाट जगडोल
कपन अनलाइन
काठमाडौं बैशाख १ /यशराज गौतम
“तिर्खा लाग्नेले खोला धाउछ” यो प्रकृतिको नियम पनि हो जसलाई तिर्खा लाग्छ, उसैले खोला धाउनु पर्दछ । हुन त सिंगो देश नै श्री पशुपतिनाथले धानेको देश भन्ने गरिन्छ । त्यसको पनि एउटा तिल जत्रो गाउँ हो जगडोल । धन्य भगवान पशुपती नाथ अहिले सम्म तिमिले हामिलाइ हेरेका छौ, यसरी नै तिम्रो कृपा सधै बनिरहोस ।
हामी यहाका स्थानिय वासिन्दा पटक पटक एउटा कुरामा गर्व गर्दछौ कि हाम्रो जस्तो प्रकृतिक विशेषता भएको गाउँ सायदै कमै होला । हराभरा जङ्गल, उच्च भु-बनोट र खुला क्षेत्र यसको गौरब गर्न लायक विशेषता हुन । तर यहि र यस्ता विशेषताहरु भएको सुन्दर गाउँ दुई नगरपालिकाको ३ वटा वडामा बढिनु पर्ने बाध्यता एउटा तितो बिशेषता हो । यो कुराको महसुस हामिलाई हाल भईरहेको विश्वब्यापी महामारी कोरोना संक्रमणले गराएको छ । भगवानको कृपा छ । हामी सबै गाउँका वासिन्दा सुरक्षित नै छौ । कसैले खान नपाउने परिस्थिती सिर्जना भएको छैन । हामिले सकेको सहयोग पनि गरेका छौ । कोहि भोकै सुत्न परेको छैन । कसैलाई रोग लागेको छैन । कोहि उपचार गर्न नसकेर मर्नु परेको छैन ।
देश लकडाउनको अवस्थामा छ । कतै चुनिखेलवाट बार लागेका छन कतै गोकर्ण वाट बार लागेका छन कतै कपन पैयाटार वाट कतै कतै हामी स्थानियहरु आफै बार बनेर खटिएका छौ । लकडाउनको बेलामा अत्यावस्यक काम बाहेकको काममा घर वाट बाहिर निस्कनु हुदैन । त्यस्तो गर्नु भनेको कानुनको उल्लंघन हो । तर यसरी चौतर्फी घेरामा घेरिईरहदा हामी यहाका स्थानिय वासिन्दालाई कतै एउटा छुट्टै स्थानिय निकाय पो हो कि ! भने झै महसुस हुन्छ । फरक यति मात्र छ न यहाँ कुनै जन प्रतिनिधि छन न प्रशासनको उपस्थिती छ । साबिक चुनिखेलले च्याने खोला सम्म स्वयमसेवक खटाउछ तर उसले खोला पारी पनि आफ्नो प्रशासनिक दायित्व छ भन्ने हेक्का राख्दैन । साबिक बालुवा घर घरमा साबुन र बाल्टिन बोकेर किटनासक छर्दै गएको देखिन्छ तर यहाका वासिन्दाहरुमा भएको जनचेतनाको कमिको हेक्का छैन ।
कपन राजनितिक अगुवाहरुले सम्पन्न बर्गहरुको बाहुल्यता भएको ठाउको रुपमा चिनिन्छ तर कुनै प्रतिनिधिको नजरमा जगडोल पर्न सकेको छैन ।देशमा भएको लामो अबधिको लकडाउनको कारणवाट हुन सक्ने समस्यालाई मध्यनजर गरि राज्यले पनि रहतको कार्यक्रम ल्याएको छ । बरु दसौ जना हुने खानेले पनि राहत लगेर थुपारुन तर कुनै पनि हुदा खाने भोकै सुत्न नपरोस । नागरिकता बोकेर नगरपालिकामा फारम भर्न सक्नेले मात्र हैन सडकमा सुत्नेले पनि खान पाउनु पर्दछ । राज्यले प्रदान गरेको राहत हो कुनै प्रशासनिक घेराले कसैलाई काख कसैलाई पाखा गर्नु हुदैन । साबिक बालुवा आउँछ सडक मुनिको घेरा लगाउछ तर सडक माथीका नागरिकलाई छुट्याउछ ।
कपन आउँछ सडक मुनिका नागरिकलाई छुट्याउछ । चुनिखेलले पनि त्यस्तै गर्छ होला । संक्रमणको सम्भावनालाई कम गराउन किटनासक छर्नलाई समेत घेरा तयार हुन्छ तर यो महामारिले त्यो घेरा स्विकार गर्दैन । केही गरि जगडोलको कुनै ब्यक्तिमा संक्रमण भयो भने यसले सिमाना हेर्दैन । बाटो मुनि खुलेको पसल र भिडले बाटो माथिको मान्छे भन्दा अछुतो रहन सक्दैन । देशमा ठुला ठुला परिवर्तन भए तर बिगत देखि अहिले सम्म यो पीडा जगडोलको यथावत रहेको छ । सायद यसको बिकल्प हामी सँग छैन ।
कोरोना तब सम्म हामिमा आउन सक्दैन जब सम्न हामी आफै लिन वा कोहि हामी कहाँ पुराईदिन आउदैन । कोरोना भाईरसको संक्रमण कुनै करेंटको झट्का जस्तो हैन जो छुने बितिक्कै थाह होस । संक्रमण को सगँ छ को सग छैन त्यो तुरुन्त थाह हुने कुरा हैन । देशमा लकडाउन छ तर यस्तो लाग्छ यहाँ केही यस्ता ब्यक्तिहरु छन जसले कोरोना बिरुद्धको करण कवज नै लगाएका छन । मानौ त्यो संक्रमण ऊ र उसको साथिभाई र परिवारलाई हुनै सक्दैन । मान्छेहरु निस्फिक्र भएर घुमफिर गरि राखेका छन ।
एउटा बस्ती वाट अर्को बस्तिमा भेटघाट रासोबासो सबै सामान्य रुपमा गरि राखेका छन । एउटा ब्यक्तिले गरेको लापर्बाही र हेल्चेक्रेयाईको मारमा मुलुक नै पर्न सक्छ भने यो सानो गाउँ त के नै हो र ? यदि कसै गरि संक्रमणले हामिलाई गाज्यो भने हामिले भोग्न पर्ने कठिनाई त परै जावोस अन्तिम संस्कार गर्ने अवस्था सम्म पनि बाकी रहदैन । यो कुरा म किन लेख्दैछु भने हामी गाउँ वासिमा यो रोगको संवेदनशिलता र यसको चेतनाको कमि छ । संक्रमण वाट जोगिनको लागि अनिवार्य रुपमा अपनाउन पर्ने न्युनतम कुराहरुको बारेमा यहाका बासिन्दालाई चेतना छैन । तर यसको हेक्का स्थानिय प्रशासनलाई छैन । केन्द्रमुखी प्रशासनको जिम्मेवारिमा सिमानाका गाउँहरु पनि पर्दछन । संक्रमण बिरुद्ध लड्नु राष्ट्रिय अभियान हो । यसले यो र त्यो भनेर छुट्याउदैन ।