कोभिड–१९ को उद्गम वुहान देखि विश्वव्यापीकरणसम्मको यात्रा

कोभिड–१९ को उद्गम वुहान देखि विश्वव्यापीकरणसम्मको यात्रा

कपन अनलाइन

काठमाडौं ,चैत २४ /चिरन्जीवी नेपाल 

वुहानको पृष्ठभूमि:

हिजोसम्म चिनको बेइजिङ, साङघाइ वा खुनमिङ जस्ता केहि निश्चित शहरका नाम सुनेका विश्वभरका मानिसहरुले आज कण्ठस्थ गरेको नाम हो उहान । ऊ राजवंशको राजधानीका रुपमा इसा पूर्व ७७१ मा स्थापीत ३५०० वर्ष पुरानो यो शहर आफैंमा विशेष थियो र छ । प्राचिन चिनको प्रख्यात युद्ध ‘तीन साम्राज्यको रोमान्स’ ई.स २०८ र २०९ मा यहि उहानको आसपासका पहाडी क्षेत्रमा भएको थियो । जब एक शहर उछाङको सुरक्षाको लागि पर्खाल लगाइयो, त्यो क्षण नै उहानको स्थापना मान्न सकिन्छ ।

कैयन् रक्तरञ्जीत युद्धहरु देखेको उहानको समृद्धिको उपभोग आजको चिन मात्र हैन १३ औं शताब्दीमा कुब्ला खाँलाई पनि थियो र त आफ्नो भाइको मृत्युको सुचना पाएर पनि उहानमा विजय पाउन उनले याङचे नदी किनारको यो सुन्दर शहरमा आक्रमण गरिरहे । यसैले नै मंगोलको साम्राज्यमा पनि त्यो समयको उछाङ अनि अहिलेको उहानले प्रादेशिक राजधानीको हैसियत राखिरह्यो ।

आधुनिक कालमा आउँदा डा. सन यात सेनका अनुयायीहरुले उछाङ विद्रोह गरे जसको केन्द्र उहान नै थियो । १९ औं शताब्दीको अन्त्यतिर जब रेलको विकास भयो, नदि र जमिनबीचको व्यापारमा फेरी उहान मुख्य बनेर आयो । दोस्रो अफिम युद्धमा जब छिङ राजवंशको पराजय भयो र पश्चिमा शक्तिसंग चिन झुक्न पर्यो , थिएनचिनको सन्धीले एघारवटा शहरलाई व्यापारका विन्दुका रुपमा परिभाषित गर्यो , ती मध्ये एक उहान थियो ।

२० औं शताब्दीको मध्यमा जब चिन जापान युद्ध भयो, एकै दिनमा ७७ वटा बम उहानमा छोडिए जसले २०,००० भन्दा ज्यादा नागरिकलाई एकै चिहान पा¥यो अनि उहानको धेरै भाग ध्वस्त भयो ।

सन् १८६१ छिङ राजवंशले व्रिटिश, रसियन र फ्रेन्च साम्राज्यसंग गरेको पेकिङ सन्धीबमोजिम ब्रिटिशले याङ्चे नदीको आसपास विशाल जमिन पाएका थिए जुन खुल्ला रुपमा व्यापारको एक प्रमुख विन्दुका रुपमा विकास भयो । विसौं शताब्दीको शुरुमा स्टील, फलाम, कोइलाका विशाल उद्योगहरु स्थापित भए । सन् १९५० सम्म आइपुग्दा स्टील मुख्य उत्पादन भयो ।

माओ शासनकाल शुरु भएपछि हु पे प्रान्तको राजधानीका रुपमा उहान आयो जहाँ सन् १९५७ मा याङ्चे नदीमा उहान क्षेत्रमा पहिलो पुल निर्माण भयो, तत्पश्चात बेइजिङ र क्वाङतोङलाई जोड्ने मुख्य विन्दु उहान बन्न पुग्यो ।

देन स्याव पिङले जब दश वर्षे योजना ल्याए, उहानलाई स्टीलको राजधानीका रुपमा व्याख्या गरे । उहान रहेको हु पे प्रान्तको प्रति व्यक्ति आय करिब ९२०० अमेरीकि डलर जति छ जबकि संयुक्त राष्ट्र संघको तथ्याङ्कमा चिन देशकै प्रति व्यक्ति आय ८६८२ अमेरीकी डलर छ । यस शहरको व्यापारिक फैलावटलाइ पुष्टि गर्न यो अंक आफैंमा पर्याप्त छ ।

अब लागौं भूमण्डलीकरण तर्फ:

मानिसहरु, उद्योगहरु र सरकारहरुको एकअर्कासंगको अन्तरघुलन नै भूमण्डलीकरणको आधार हो । नियन्त्रित स्थानीय उत्पादन र पद्धतीहरुलाई अनियन्त्रित पूँजीवादी संसारसंगको जोडाइले भुमण्डलीकरणको जटिलतालाई व्यक्त गर्दछ ।

सेवा, सामान, पूँजी, प्रविधि र तथ्याङ्कको समग्रताका साथमा जब कुटनीति र द्वन्दहरु आमनेसामने हुन्छन्, तब भुमण्डलीकरण क्लिष्ट अनि सामान्यजनको बुझाइ भन्दा पर पर हुँदै जान्छ । आजको समयमा भन्ने हो भने, हवाइ सेवाको फैलँदो व्यापार, हतियारको विशाल व्यापार, इन्टरनेट र सामाजिक संजालको अन्तराष्ट्रिय र राष्ट्रिय प्रभाव भूमण्डलीकरणको हालसम्म देखिएको प्रभावका अंश हुन् ।

आज चिलीको मासुको उत्पादन तुर्कमेनिस्तान पुगिरहेको छ भने टर्कीको तेल नेपाल आइरहेको छ । एसियाबाट चिनको अलिबाबाले संसारभर मेसिन बेचिरहँदा अमेजनले अमेरीकाबाट संसारभर किताब बेचिरहेछ । यो एक उदाहरण मात्र हो । न त अलिबाबाले मेसिन मात्र बेच्छ न त अमेजनले किताब मात्रै । यसरी हेर्दा हामी देख्न सक्छौं, पूजी, सेवा, प्रविधि तथा उत्पादन कसरी संसारभर फैलिरहेछ । पुँजी, सामान र सेवा संसारभर फैलिईरहँदा यसले दृश्य र अदृश्य दुवै चिजको संसारभर व्यापार बढाइरहेको छ ।

उहान चिनको विश्व व्यापारको केन्द्र थियो १९ औं शताब्दीको मध्यदेखि २० औं शताब्दीको मध्यसम्म । यसैले युरोप र अमेरिकाले उहानलाई लामो समय चिनको सिकागोको उपमा दियो । कैयौं युरोपियन देशका कन्सुलेट अफिसहरु उहानमा थिए जसले च्याङ काइ शेकको शासनमा सहयोग गरे भलै ती सहयोगले च्याङ काइ शेकको शासन जोगाउन सकेन । अनि उहान विश्व व्यापारमा केहि सुस्ताएजस्तो, कतै हराएजस्तो देखियो । तर यो हराएको थिएन, सुस्ताएको थिएन ।

कोरोनको भूमण्डलीकरण

आज उहान चिनको लागि भुमण्डलीकरणको क्षेत्रमा महत्वपूर्ण भूमी हो । आज उहानले संसारभर के पठाइरहेको छ अनि के ल्याइरहेको छ ? कति मानिस दैनिक हु पे प्रान्तमा संसारभरबाट आउने जाने गर्दछन् ? आज उहानमा पाँच चार व्यापारीक क्षेत्रहरु छन् । पहिलो हाइ टेक क्षेत्र, दोस्रो व्यापारिक क्षेत्र, तेस्रो निर्यात प्रशोधन क्षेत्र, चौथो सफ्टवेयर पार्क ।

सन् २००० मा अन्तराष्ट्रिय मुद्रा कोषले भूमण्डलीकरणका कारक तत्वहरुका रुपमा व्यक्त गरेको तत्व मानिसहरुको आवतजावत र बसाईं सराईं हो । यो विन्दुमा आइपुग्दा बल्ल हामी कोरोनाको विश्वयात्रा बुझ्न सक्छौं ।

जनरल मोटर्स, होन्डा, माइक्रोसफ्ट जस्ता संसारका प्रमुख ३०० भन्दा ज्यादा कम्पनिहरुको उपस्थिती उहानमा छ । उहानको २०१९ मा कुल गार्हस्थ्य उत्पादन ५७८ विलियन अमेरिकी डलर थियो जुन चिनको कुल गार्हस्थ्य उत्पादनको सन् ७.८ प्रतिशत थियो, जुन राष्ट्रिय अंकभन्दा १.७ प्रतिशतले ज्यादा हो ।

यसका साथै यहाँको आयात निर्यात २४४ विलियन युआन ( ३५.३ विलियन युएस डलर) थियो जुन सन् २०१८ को भन्दा १३.७ प्रतिशत ज्यादा हो । यसैगरि यो अंक हु पे प्रान्तको अन्तराष्ट्रिय व्यापारको ६१.९ प्रतिशत हो । यसले संसारभर यसले पठाउने सेवा र सामानको अनुमान गर्न मद्दत मिल्छ ।

उहानको दैनिक पत्रिका उहान डेल्लीले उहानमा चिनियाँ नयाँ वर्षको समयमा १ करोड ५० लाख मानिस उहान हुँदै यात्रा गर्ने अनुमान गरेको थियो । मुद्रा कोषले बताएको मानिसको आवतजावत भित्र पर्ने यी १ करोड ५० लाख मानिस संसारका कुन कुन ठाउँबाट आउन सक्थे र कुन कुन ठाउँ जान सक्थे भन्ने त कठीन छ ।

जनवरी २७ सम्ममा उहानमा ८१ जनाको मृत्युका साथ २७०० जनामा कोरोनाको संक्रमण देखिएको थियो । जबकि जनवरी २८ मा उहानका मेयरले लकडाउन पूर्व ५० लाख मानिसले उहान छाडेको बताएका थिए । अब ती ५० लाख मानिसमध्ये १ लाख मात्र पनि चिनबाट बाहिरिएका भए ती युरोपका विभिन्न देश, अमेरिका तथा एसियाका अन्य देशमा गएका भए कोरोनाको विश्वयात्रामा ती मानिस नै सहायक भएको मान्न सकिन्छ ।

जनवरी २८ सम्ममा ५ जनामा कोरोना देखिएको अमेरिकामा अप्रिल ५ सम्म आइपुग्दा ३,११,६३७ जनामा देखिएको छ भने ८,४५४ जनाले मृत्युवरण गरिसकेका छन् । । अप्रलि ५ सम्ममा संसारभरका २०८ देशमा फैलिएको कोभिड–१९ ले १२ लाख मानिसलाई संक्रमित बनाइसकेको छ र अझ कतिलाई संक्रमित गराउला अनि कतिलाई मृत्युको मुखमा धकेल्ला हेर्नै बाँकि छ ।

अहिले उत्पादक र उपभोक्ताविचको काम गर्ने हवाइजहाज सेवा रोकिएका छन् । सामान ओसार्ने पानीजहाजहरु बन्दरगाहहरुमा थन्किएका छन् । सन् २०१८ मा हवाइ सेवामा सबैभन्दा धेरै यात्री दिएको चिनबाट अब कति यात्रा गर्लान ? त्यसको अर्थ विष्लेषण छुट्टै हुने नै छ ।  सन् २०२० मा विश्वव्यापी रुपमा हवाइ क्षेत्रले ६०० विलियन डलर भन्दा ज्यादा गुमाउने प्रक्षेपणहरु आइरहेका छन् ।

धेरै देशहरु पूर्ण वा आंशिक रुपमा लक डाउनमा गएका छन् । उद्योग, कलकारखानाहरु बन्द भएका छन् । यसबारेमा त अर्थविदहरुबाट संसारभरको व्यापार घाटाको हिसाब आउने नै छ । तर रोकिएका कार्यहरु सुुचारु कहिले हुन्छन् भन्नेले नै कोरोनाले पार्ने प्रभावलाई निर्देशित गर्ने छ ।

निस्कर्ष

जसरी विश्वशक्ति दोस्रो विश्व युद्ध पश्चात विश्वशक्तिको केन्द्र युरोपबाट सरेर अमेरिका पुग्यो, त्यसरी नै कोभिड–१९ संक्रमणको केन्द्र चिनबाट युरोप र अमेरिका तर्फ सरेको छ ।

तर यसले विश्व अर्थ राजनीतिमा चिनलाई फेरि केन्द्रमा ल्याएर अमेरिका युरोपलाई किनारा लगाइदियो । किनकी समाचारहरु आइरहेका छन्, युरोप होस् वा अमेरिका, स्वास्थ्य सामाग्री बेचेर अर्थतन्त्रमा मजबुती फेरि पनि चिनले नै गरिरहेको छ । कोभिड–१९ को संक्रमण फैलिरहँदा चिनले दुइ वटा बुँदालाई ध्यानमा राखेर योजना बनायो, एकातर्फ संक्रमण रोकिरहँदा अर्को तर्फ अर्थतन्त्रलाई मजबुत बनाउने ।

एउटा कुरा त पक्का छ यस संक्रमणको अवधिभर अन्य क्षेत्रबाट गुमाएको चिनले स्वास्थ्य सामाग्रीको व्यापारबाट थोरबहुत कमाउने नै छ । नयाँ संक्रमण रोकिसकेको चिन अब विश्व महाशक्ति बन्ने बाटोमा हिडिँरहँदा भुमण्डलीकरणको विषयमा विज्ञहरुले पूजीँवाद र साम्यवाद अनि अमेरिका र चिनको बाटो, मिलन अनि फरक धारहरुका बारेमा कोरोना भाइरसलाई केन्द्रमा राखेर विश्लेषण गर्ने नै छन् ।

तपाइँको प्रतिक्रिया ।