सामाजिक संजालका बुद्दिजीवी भिडलाई सुनसान सडकको प्रश्न ..?

सामाजिक संजालका बुद्दिजीवी भिडलाई सुनसान सडकको प्रश्न ..?

कपन अनलाइन

काठमाडौं ,चैत २२।

काठमाडौंका सडकहरु अहिले सुनसान छन। सडक छेउमा उभिएर हेर्दा यिनीहरुमा अगाध शान्ति अनि गहिरो र अर्थपूर्ण भाव देखिन्छ । लाग्छ यो सडकहरु लमतन्न बनेर आक्रान्त मानव मस्तिस्कलाई मौन दर्शक बनेर नियालीरहेका छन।

अहिले सडकहरुले भार खेप्नु परेको छैन अनि केहि अत्यावस्यक सवारी बाहेकको कर्कस आवाज पनि सुन्नु परेको छैन अनि धेरै मृत,अतृप्त र विस्मृत सपनाको शाक्षी बन्नु परेको छैन।

सेकेन्ड नै पिच्छे आफ्ना सपनाको दुरी नापिरहेका अविराम र अविश्राम यात्रीहरुका कथाको साक्षी पनि बन्नुपरेको छैन नत् भ्वांग परेको छातीमा बजारिएका पांग्राको पिडा संगै सडक जोडेर सरकार प्रतिको कटाक्ष पनि सुन्नु परेको छ।

यो सडकले सुन्नु परेको छ त् केवल मृत्यु छल्न एक तमास कुदेका एम्बुलेन्सको साइरन अनि पेटमा भोकको ज्वालाले पोलेका निरिह नागरिकको डर ,सन्देह र निरासा मिश्रित सुस्त पदचाप अनि भोकका लागि रोगको सामु आत्मासमर्पण गरिरहेका उनीहरुका बाध्यताका सुस्केरा।

सडक मौन बनेर हेरिरहेछ एउटा मास्क र पन्जाको भरमा बेसहाराको सहारा बन्न कुदिरहेका जनताका प्रतिनिधि अनि चाउचाउ  र चिउराले पेट भरेर जनसुरक्षाका लागि सडक माझमा उभिएका सुरक्षाकर्मी अनि विपदमा सधै जनताको आवाज सुनाउने अभिभारा पुरा गरिरहेका संचारकर्मीहरु अनि उनीहरुले जोखिमलाई दिएको ठाडो चुनौती।

मृत्युको डर ,प्रलयको आशंका र अन्यौल आगतको निरन्तर प्रहार  बाट तम्तमाइलो बनेका लाखौ मस्तिकको उद्देलनलाई नजिक बाट नियालीरहेको यो सुनसान सडकको गर्भमा भने अनेकौ प्रश्नका ज्वार उठिरहेका छन।आफ्नै माटो छिर्न नपाएर सिमापारी बाट मातृभूमि नियालिरहेका अवोध आँखाको टिलपिल आँशु छामिरहेको निसव्ध सडक केहि प्रश्नको रापले भित्र भित्र निकै आन्दोलित बनिरहेको छ।

लाग्छ यो सुनसान सडकलाई सामाजिक संजालमा देखिएका अनेकथरी प्रस्तुति,प्रहसन,प्रहार र मनोविकारले भित्र भित्रै पोल्न थालेको छ । लाग्छ सडक चिच्चाएर भन्न चाहन्छ म मौन छु तर मृत छैन सायद उ भन्न चाहन्छ म छर्लंग देखिरहेछु अनि म हेरिरहेछु ।

सुनसान सडक हेरीरहेछ संजालका भिड अनि परिवन्दले थुनिएको मस्तिक बाट फुत्किएका रंग विरंगी चेतनाहरु अनि तिनका वरिपरी घुमिरहने अन्धो जमात जो एक लाइक र एक कमेन्टमा रास्ट्रिय दायित्व पुरा गरेको गर्वबोध गर्छ।

लाग्छ बेलुका अवेर सम्म व्हिस्कीको चुस्कीमा राष्ट्रनिर्माण र संकट मोचनका सयौ योजना बुन्दै बिहान ह्यांगओभरको रन्कोमा विषाक्त बाणी संजालका भित्ताहरुमा बान्ता गरिरहेको विवेकहीन मस्तिष्कलाई सायद सुनसान सडक गिज्याइरहेछ।

गद्दावार डस्नामा पल्टिएर वास्नादार उपहारहरु सुम्सुमाउदै देशलाई गालिगरिरहेको मनुवालाई अनि सडक भनिरहेछ तिम्रा संजालका संवेदनाले गिट्टी कुटिरहेको छाप्रोमा चुल्हो बल्दैन अनि एक पोका नुन लिन तिन घण्टा हिडदा खुट्टामा उठेको ठेलाको ऐठन रोकिदैन।

अनि सुनसान सडक चिहाइरहेछ संकटमा मंगल खोजेर स्वार्थका रोटी सेकिरहेका पलायन मनुवाहरूको मनोभावमा अनि यहि सडक खोजिरहेछ आफ्नो गोजी खोलेर परोपकारमा रम्ने निश्चल मनहरु साथै  सेवामा समर्पण देख्ने सजीव जीवनहरु।

सुनसान सडक जान्दैन राजनीति न त् यो जान्दछ कुनै कुटिल नीति तर यसले महसुस पक्कै गर्दछ विषम बेलामा विरोधको पर्खाल लगाउदै आफ्नो अस्तित्व जमाउने खेलहरु अनि संकटको बर्को ओडेर हुने जालझेलहरु ।

अनि सुनसान सडक प्रश्न गर्दछ कहाँ हराए माटो र माताको रक्षामा आगो ओकल्ने कलमहरु ? अनि किन धुमिल,मलिन र कमसल बनिरहेछन युग फेर्ने ति युगान्तकारी शव्दहरु ?

मौन सडक प्रश्न गर्छ ति विचार संवाहक कविहरु हेर्दै के त्यो ओजपूर्ण आवाज बादशाहको नक्कली लुगा जस्तै नक्कली आवाजको भुमरीमा रुम्मलिएको हो ?

अनि यो सुनसान सडक सोध्दैछ ति विचारका लागि जीवन उत्सर्ग गर्न प्रेरित आत्माहरुलाई किन फरेवका पर्दाहरु च्यात्न ति हात कामिरहेछन ?किन सत्य मनमा गुम्साएर ति औलाहरु हठात बन्द मस्तिष्कका बन्द विचार तिर लर्बराइरहेछन ?

अन्तमा सडक भनिरहेछ तिमि सफलताको सिरान चढेपनि  वा तिमिमा  विफताला चिहान बनेपनि तिम्रो अन्तिम गन्तव्य आखिर यहि सडकको बाटो नापिनेछ।

नकारात्मक विषतुल्य भावनाका रागहरुले बिथोल्छ निष्ठाको बेगलाई त्यस्तैले सायद यो सडक भन्दैछ नछर्क द्वेष यसले तिम्रो अगिल्लो पाइलालाई पिरोल्छ।

अनि सडक प्रश्न गरिरहेछ तिमि के छाडन चाहन्छौ विस्मृत सम्झना कि यसस्वी सपना ?

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।