कोभिड–१९ का बारेमा समुदायले थाहा पाउनुपर्ने महत्वपूर्ण कुराहरु
कपन अनलाइन
काठमाडौं ,चैत १९ /चिरञ्जीवि नेपाल
एक भाइरस अति सुक्ष्म तथा संक्रमण गराउन सक्ने कुरा हो जसले जीवित वस्तुको शरीर वा कोषमा मात्र प्रजनन गर्न सक्छ । यसको अर्थ हो , यसले सजिवको शरीर वा कोषमा सजिवकै गुण र निर्जिव वस्तुमा निर्जिवकै गुण देखाउँछ ।
सन् १८९८ मा जब मार्टिनस् बेइजर्निकले सुर्तीमा लाग्ने Tobacco Mosaic Virus पत्ता लगाए। त्यसयता भाइरसका ५००० भन्दा ज्यादा प्रजातिहरु पृथ्वीमा हरेक प्रकारका पर्यावरणमा पत्ता लागेका छन् । भाइरसहरु लाई मुख्यतया यसको पाइने स्थानका आधारमा प्राणी भाइरस र वनस्पती भाइरसमा वर्गिकरण गरिन्छ भने यसको संरचनाका आधारमा आरएनए र डिएनए गरि पनि दुइ भागमा नै वर्गिकरण गरिन्छ ।
प्रकृतिमा पाइने भाइरसहरुको आकार अत्यन्त सानो हुन्छ ।
चलनचल्तिमा व्याक्टेरियालाई मानिसहरु सानो जीवका रुपमा बुझ्दछन् तर भाइरस एक व्याक्टेरियाभन्दा पनि सैंयौं गुणा सानो हुन्छ । सामान्यतया भाइरस २० देखि ३०० न्यानोमिटरको व्यासमा पाइन्छन् ।
तर पनि केहि भाइरसहरुको लम्बाइ १४०० न्यानोमिटरसम्म पनि पाइएको छ । हामीले जान्नुपर्ने कुरा के हो भने एक मिटर लम्बाइलाई १० लाख बराबर भाग लगाउँदा बन्ने १ भाग एक न्यानोमिटर हो ।
तसर्थ यो अति सुक्ष्म रहेको बुझ्न सकिन्छ र यसलाई हेर्न विशेष सुक्ष्मदर्शक यन्त्रको आवश्यकता पर्दछ । भाइरसको आकारमा जाँदा हामी धेरै प्रकारका भाइरसहरु फेला पार्न सक्दछौं ।
तर पनि मुख्यतयाः भाइरसको बनोटमा तीनकुरा समान छनःपहिलो, यसको बंशाणु वा जीन जुन डीएनए वा आरएनए बाट बनेको हुन्छ, दोस्रो, यसको वंशाणुलाई छोपेर राख्ने प्रोटिनको एक तह अनि तेस्रो वाह्य खोल ।
भाइरसमा हुने केहि जैविक तत्वहरु हुने तर यसमा जीवित तथा पूर्ण कोषको ढाँचा नहुने कारण यसलाई निर्जिव गरि सजिव र निर्जिवको सिमाको जीवनका रुपमा पनि व्याख्या गर्ने चलन छ । यो सजिवको शरीरबाट बाहिर रहँदा भने मणीभका रुपमा रहन्छ ।
भाइरसको आफ्नै कोषको संरचना नहुने कारण यसले एक सजिवको शरीर प्राप्त गर्ने वित्तिकै आफ्नो संख्या बढाउन थाल्छ । तसर्थ भाइरस कुनै शरीरमा पुगेपछि ढिलोचाँडो आफ्नो संख्यालाई लाखौंमा बृद्धि गर्न सक्षम हुन्छ ।
विभिन्न प्रकारका भाइरसहरु जस्तै पोलियो भाइरस, राइनो भाइरस, एचआइभी भाइरस, आदि निरन्तर उपयुक्त होस्ट सजिव पाएको अवस्थामा संख्या वृद्धि गर्न थालिहाल्छन् ।
भाइरसहरुमा निरन्तर वंशाणुमा परिवृत्ति हुने सम्भावना हुन्छ । यसको अर्थ हो, यसका आधारमा रहेका प्रोटिनहरुको संरचना विविध कारणहरुले बदलिन्छ र एक नयाँ प्रकारको भाइरसमा परिवर्तन हुन्छ । यसरी परिवर्तन या त वातावरणीय प्रभावले हुन्छ या त भाइरसप्रतिरोधी औषधीहरुका कारणले हुन सक्छ । हाल संसारभर त्रास उत्पन्न गराएको कोरोना भाइरस कुनै नयाँ भाइरस होइन ।
विशेषत २००२ र २००३ को समयमा देखिएको सार्स पनि कोरोनाकै कारण भएको थियो । वास्तवमा यस भाइरसको नाम सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रम कोरोना भाइरस २ ९सार्स–कोभ–२० हो । यसको बनौट बृत्ताकार र सूर्यको घेरामा देखिने कोरोनासंग मिल्दोजुल्दो भएका कारण यसलाई कोरोना नाम दिइएको हो । हाल फैलिरहेको भाइरसलाई कोविड–१९ नाम दिइएको छ ।
यस भाइरसको बनौटलाई अध्ययन गर्दा अध्ययनकर्ताहरुले चमेरो तथा सालकमा पाइने कोरोना भाइरसको संरचनासंग मिल्दो पाएका छन् । यसका साथै यसको वंशाणुसम्वन्धि अध्ययनमा मानिसमा पाइने कोरोना भाइरस र यस भाइरसमा एउटा एमिनो एसिडको मात्र फरक पाइएको छ ।
सालकमा पाइने कोरोना भाइरस र मानिसमा पाइने कोरोना भाइरसमा ९२ प्रतिशत समानता चिनियाँ अनुसन्धानकर्ताहरुले पाएका छन् । तर पनि यसको विस्तृत अनुसन्धान नभइसकेका कारण यसको फैलावट किन यति छिटो भैरहेको छ भन्नेमा अन्यौल नै छ ।
तर पनि प्रारम्भिक अनुसन्धानले देखाए बमोजिम विभिन्न वस्तुहरुमा यसको अस्तित्व फरक फरक समयसम्म रहेका देखाएका छन् । उदाहरणका लागि प्लाष्टिकमा ३ दिनसम्म, स्टिलमा एक दिन सम्म तथा तामाको भाडाँमा केहि घण्टासम्म रहने देखिएको छ ।
कोरोना भाइरस भएका ठाउँमा जाँदा, कोरोना भाइरस लागेको मानिसले खोकेको १५ फिटसम्मको दुरीमा समेत रहँदा समेत यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएको छ ।
जब यो भाइरसले आक्रमण गर्दछ, ज्वरो आउने, सास लिन कठीन हुने तथा थकाइ लाग्ने तथा खकार उत्पन्न हुने गरेको पाइएको छ । तर यी लक्षणहरु अन्य ज्वरो आएका बेलामा देखिने लक्षणसंग समान भएका कारण कोभिड भाइरसबाट भएको विरामी र अन्य मौसमी विरामीमा फरक छुट्याउन कठीन छ ।
यसका साथै यस भाइरसले न्युनतम ५ दिन देखि १४ दिनसम्म लक्षण देखाउन सक्ने भएका कारण १४ दिन सम्म शंकास्पद विरामीलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ । तर भुटानमा २८ औं दिनमा समेत लक्षण देखा परेको घटना ताजै छ । तसर्थ शंकास्पद विरामीले सजगता अपनाउनु त पर्छ नै ।
हाल विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई विश्वव्यापी महामारीका रुपमा उल्लेख गरेको छ । यसको अर्थ हो , संसारभर नयाँ रोग फैलनसक्ने सम्भावना प्रवल छ र मानिसहरुमा यसको प्रतिरोधी क्षमता कम छ ।
कोरोना भाइरस संसारभरका देशमा फैलिएको अनि मृत्यको संख्या यकिन गर्न नसकिएको कारण यसलाई विश्वव्यापी महामारी भनिएको हो । त्यसैले विश्व स्वास्थ्य संगठनले व्यक्तिगत सरसफाई, निरन्तर साबुन पानीले हात धुने, अनावश्यक रुपमा हात अनुहारमा नलान सुझाएको छ । हालसम्म पनि उपचारको औषधी वा भ्याक्सीन पत्ता नलागिसकेको अवस्थामा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय तथा विभिन्न आधिकारिक संस्थाहरुले प्रवाह गरेका विधिहरु अवलम्बन गर्ने, सामाजिक दुरी कायम राख्ने, अनावश्यक हिँडडुल नगर्ने जस्ता कार्यले नै यस महामारीलाई रोक्न सकिन्छ ।
कोरोना लागेपनि उपयुक्त सरसफाइ र ख्याल राख्नाले ६ देखि १० दिनमा निको हुन्छ । हालसम्म ९मार्च ३१, २०२०० पनि यसबाट भएको मृत्यु जम्मा ४.९ प्रतिशत रहेको छ । तसर्थ आत्तिनु जरुरी छैन तर सजगताको पर्याप्त आवश्यकता छ ।
यसले ती व्यक्तिहरुलाई मृत्युतर्फ धकेलेको छ जसको पहिल्यैदेखि रोग प्रतिरोधी क्षमता कम छ । यसैले फोक्सोको संक्रमण भएका, श्वासप्रश्वासको समस्या भएका तथा चाँडो ज्वरो आउने, श्वासप्रश्वास समस्या हुनेहरु ज्यादा सतर्क रहि जोगिनु नै श्रेयस्कर छ ।
उपयुक्त संरचना भएका स्यानिटाइजरमा ६०देखि ७० प्रतिशतभन्दा माथि इथालनोल, त्यसैगरि आइसोप्रोपानल ५० प्रतिशत जति , ०।१ प्रतिशत सोडियम हाइपोक्लोराइट लगायतका रसायनहरु हुनुपर्छ जसले भाइरसको वाह्य खोललाई तोडाउँछ र सतहलाई भाइरस मुक्त गराउँछ । यसैगरि साबुनले भाइरसको बाह्य खोललाई टुटाउँछ र निष्क्रिय बनाउँछ ।
यसैले घर बाहिर गएर आएपछि हात धुने तथा स्यानिटाइजर प्रयोग आवश्यक छ । तर गुणस्तरीय साबुन र स्यानिटाइजर प्रयोग गर्नु जरुरी छ । साबुन र स्यानिटाइजरको उत्पादक तथा यसको संरचना बनौट किन्ने बेलामा ध्यान दिऔं ।
आफू पनि बाँचौं अरुलाई पनि बचाऔं ।