७५ वर्षिया कुमार सुशिल कोइराला बने मुलुकको ३७ औँ प्रधानमन्त्री

२७ माघ, काठमाडौं । नेपाली काँग्रेसका सभापति एंव संसदीय दलका नेता सुशील कोइराला मुलुकको ३७ औँ प्रधानमन्त्री र गणतन्त्र नेपालका पाँचौ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा सोमबार भएको निर्वाचनमा संसदमा उपस्थित भएका ५ सय ५३ सभासदमध्येबाट कोइरालले ४ सय ५ मत पाएका थिए भने १ सय ४८ मत विपक्षमा परेको थियो । कोइरालालाई काँग्रेससँगै एमाले, राप्रपा, माले लगायतका दलले मत दिएका थिए भने दोस्रो संविधानसभामा तेस्रो दल बनेको एमाओवादी र उसले नेतृत्व गरेको मोर्चा र चौथो शक्तिका रुपमा उदाएको राप्रपा नेपालले विपक्षमा मतदान गरेका थिए । नेकपा एमालेसँग हिजो भएको ७ बुँदे सहमतिपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको समर्थनमा कोइराला प्रधानमन्त्रीका उम्मेद्वार बनेका थिए ।

को हुन् कोइराला ?

बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट वि.सं १९९६ साल श्रावण २८ गते मोरङ जिल्लाको विराटनगरमा जन्मेका शुशिल कोइरालाको राजनीतिक जीवन २००७ सालको क्रान्तिकै बेला बाल्यकालमै सुरु भएको थियो । आफ्नो जीवनमा राजनीतिक उत्तारचढाव अनुभव गरेको कोइराला सक्रमणकाल लम्भिदै गरेको नेपालको राजनीतिमा एक वर्षभित्र संविधान निर्माण गर्ने दायित्व भने कसरी पूरा गर्छन, प्रतिक्षाकै विषय रहेको छ । पिता बोधप्रसाद जागिरे जीवनले गर्दा कोइरालाको विद्यार्थी जीवन एउटै विद्यालयमा पूरा हुन सकेन । उनको विद्यार्थी राजनीतिक जीवन विरगञ्जको ठाकुरराम स्कूलबाट सुरु भएको थियो । राजनीतिक यात्रा २००७ सालबाट सुरु गरेका भएपनि कोइरालाले नेपाली काँग्रेसको सदस्यता २ ०१२ सालमा लिएका थिए ।

 

त्यसपछि काँग्रेसमा निरन्तर सक्रिय रहँदै नेपाली काँग्रेसमा निरन्तर सक्रिय रहँदै नेपाली काँग्रेसको केन्द्रीय सदस्य, विदेश विभाग प्रमुख, महामन्त्री, उपसभापति, कार्यवहाक सभापति हुँदै अहिले सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि भएका संसदीय निर्वाचनहरुमा कोइराला गृह जिल्ला बाँकेबाटै प्रतिस्पर्धामा उभिएका थिए । उनी २०४८ सालको संसदको निर्वाचनमा नेकपा एमालेका गोविन्द कोइरालालाई पराजित गरेर विजयी भएभने २०५१ सालको निर्वाचनमा पराजय र २०५६ सालको निर्वाचनमा पनि बाँकेबाटै निर्वाचित भए । तर २०६४ सालको निर्वाचनमा भने उनी विजयी हुन सकेनन् । कोइराला २०७० मंसिर मा भएको निर्वाचनमा भने बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट अत्याधिक मत ल्याई विजयी भए । दोस्रो संविधानसभा निर्वाचनपछि काँग्रेस देशकै ठूलो दल बनेपछि उनी काँग्रेस संसदीय दलको नेतामा बरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गरी विजयी भए । २०५८ सालमा भएको संसदीय निर्वाचनमा शेरबहादुर देउवासँग हार बेहोरेका थिए ।

sushil_koirala20130701001

७५ वर्षका कोइराला हालसम्म अविवाहित छन्।

 

सादा जीवन अँगालेका कोइराला अविवाहित नै छन् । आफ्नो नाममा केहि नभएका कोइराला पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला बस्नुभएको महाराजगञ्जस्थित एउटा घरमा नै बस्दै आइरहेका कोइराला हाल नेपाली काँग्रेसका सभापति छन् । घाँटीको क्यान्सरबाट पिडित कोइराला नेपाली राजनीतिमा दलहरुबीच सहमति र सहकार्यमा मात्र संविधान जारी हुनसक्ने कुरामा विश्वास राख्ने नेता हुन् । आफ्नो राजनीतिक जीवनमाम पटक पटक गरेर ६ वर्ष जेल जीवन बिताएका कोइराला ७५ वर्षको उमेरसम्म पनि सरकारी ओहदाको कुनै पनि पदमा लोभ देखाएनन् । पटक पटक मन्त्री बन्न आएको अवसरलाई अस्वीकार गरेका कोइरालाको छवि हालसम्म उच्च रहेको छ ।

तपाइँको प्रतिक्रिया ।