कपनमा खुल्ला दौड प्रतियोगिता सम्पन्न

 २०७०/१०/ २९  कपन अनलाइन  कपन बहुमुखी क्याम्पसले आफ्नो प्रथम वार्षिकोत्सवको पूर्वसन्ध्याको अवसरमा खुल्ला सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ । कपनका विभिन्न विद्यालयका विद्यार्थीहरु तथा अन्य कपनवासी समेत गरी करिब ३०० धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि ओलम्पियन धावक जीतबहादुर के.सी. ले सिठी फुकेर गर्नुभएको थियो । पुरुषतर्फ ५ कि.मी तथा महिलातर्फ ३ कि.मी दुरी रहेको उक्त प्रतियोगितामा पुरुषतर्फ सुवास राई प्रथम, रमेश सुनुवार द्वितीय तथा सुमन शेर्मा लिम्बू तृतीय, महिलातर्फ सुजाता अधिकारी प्रथम, सम्पदा ढकाल द्वितीय, रोशनी रिमाल तृतीय हुनुभएको जानकारी निर्णायकहरु एथ्लेटिक प्रशिक्षक पुष्पराज ओझा र खेलकुद विज्ञ केशवराज गौतमले घोषणा गर्नुभएको थियो ।

क्याम्पस व्यवस्थापन समितिका सदस्य अशोकराज पाण्डेका अनुसार दौडमा प्रथम हुनेलाई रु ३०००, द्वितीयलाई रु २००० र तृतीयलाई रु १००० नगद पुरस्कार सहित मेडल तथा प्रशंसा पत्र फागुन १ गते हुने क्याम्पसको प्रथम वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश सम्माननीय दामोदरप्रसाद शर्माबाट प्रदान गरिनेछ भने अन्य सहभागीलाई प्रशंसापत्र प्रदान गरिनेछ । यसैगरी विजेताहरुले कपन क्याम्पसमै पढ्ने भएमा भर्ना शुल्कमा प्रथमलाई शतप्रतिशत, दोस्रोलाई ५० प्रतिशत, तेस्रोलाई २५ प्रतिशत र अन्य सहभागीलाई ५ प्रतिशत छुट गरिने समेत पाण्डेले बताउनुभएको छ ।

तपाइँको प्रतिक्रिया ।