वेला यो बहिरो छ !

वेला यो बहिरो छ !

कपन अनलाइन

काठमाडौं, फागुन ४/ त्रिलोचन आचार्य

मैले जानु अगाडि आज कसरी भन्दैछ बाटो पनि
मैले उब्जनि के दिने श्रमविना भन्दैछ माटो पनि
पीडामा छु दुःखेर घाउ अहिले सीमा स्वयं भन्दछ
वेला यो बहिरो छ, खै विकलको आवाज के सुन्दछ ?

यी भाका मनका अवोध जनका सुन्दैन सत्ता पनि
केले टार्दछ छाक खै गरिबले बुझ्दैन भत्ता पनि
कोशी झर्छ रुँदै सुनेन उसको विश्वास यो यामले
वेला यो बहिरो छ, हुन्न यसरी बोलेर आवाजले ।

जो पोख्छन् पसिना सदैव तिनको सानो छ बोल्ने मुख
डाँको गर्दछ जो सुनिन्छ नि उही संसारका सम्मुख
रोजी ओखति पाइँदैन दुःखको खोजी नलागीकन
वेला यो बहिरो छ, जाग्छ र कहाँ, उफ्री नजागीकन ।

मुर्दा शान्ति बढी रहेछ युग नै देखिन्छ यो शुन्य झैँ
सक्ने कै छ पछाडि कानुन स्वयं बन्छन् उनै धन्य झैँ
निर्धाका पछि कुद्छ आँसु र सधैँ बग्छन् बनी साउन
वेला यो बहिरो छ, मानिसहरू भो छाडिदेऊन् रुन ।

हुन् सक्ने सपना, परन्तु अरु ता देखेर के हुन्छ र ?
हुन् कार्यान्वित लक्ष्य नत्र सब ती लेखेर के हुन्छ र ?
खेती दिन्दिन लाउदैछ झुटको मान्छे स्वयं के भनी ?
वेला यो बहिरो छ, एकसुरमा कुद्दैछ जान्ने बनी ।

चाहे हुन् घटना अनेकथरिका हत्या बलत्कारका
चाहे मानिसनै बनुन् निरिहभै सामान व्यापारका
सक्नेकै घर गोठ हो जगत यो चल्दैन आत्था पिर
वेला यो बहिरो छ, कान यसका खोल्नै छ हाली झिर ।

तपाइँको प्रतिक्रिया ।