प्रिन्सिपलद्वारा लिखित पुस्तकमा कक्षा १० पढ्ने विद्यार्थीको समिक्षा

प्रिन्सिपलद्वारा लिखित पुस्तकमा कक्षा १० पढ्ने विद्यार्थीको समिक्षा

कपन अनलाइन

काठमाडौँ, माघ ३/ एभान्जोलिना कार्की

बुढानिलकण्ठ नगरपालिका वडा नं – १२ कपन स्थित जुगल स्कुल-कलेज कक्षा १० मा अध्ययनरत एभान्जोलिना कार्कीले आफ्नै विद्यालयका प्रिन्सिपल विवेक विनयीद्वारा लिखित पुस्तक विद्यार्थी जनआन्दोलन डायरी ०६२-०६३ माथि समिक्षा गरेकी छिन । शीतकालीन छुट्टीको समय सदुपयोग गर्दै उनले रोचक समिक्षा गरेकी छन् । हेरौं उनको समिक्षा ।

पूर्वको उर्वरशील भूमि इलाममा जन्मेर काठमाडौँमा वौद्धिक पहिचान बनाउँदै गरेका सिर्जनशील युवा हुन् – विवेक विनयी । भद्र स्वभाव, शिष्ट र मितव्ययी आचरणका धनी विवेक विनयीको पछिल्लो कृति विद्यार्थी जनआन्दोलन डायरी २०६२–२०६३ हालै साहित्यिक बजारमा आएको छ । उच्च साहस, अदम्य क्षमता र सङ्घर्षशील स्वभावका कारण विवेक विनयी सामान्य युवाभन्दा फरक देखिन पुगेका छन् ।

 

नेपालको लोकतान्त्रिक आन्दोलन २०६२–२०६३ को समयमा जनताको पक्षबाट बलियोसँग निरङ्कुश सत्तासँग सङ्घर्ष गर्ने यी युवाको सिर्जनशील क्षमतानै अन्ततः यो कालजयी पुस्तकको स्वरूप बन्न पुग्यो । हरेक आन्दोलन र परिवर्तनमा युवाहरूको योगदान अतुलनीय हुन्छ । परिवर्तनको पक्षमा दर्बिलो उपस्थिति राखेर आन्दोलनमा घाइते बन्न पुगेका यी स्रष्टा निरङ्कुश सत्तासँग थोरै पनि टसमस भएनन् । प्रहरीको लठ्ठी, गोली, अश्रुग्याँस, लात्ती, मुड्की खाएर पनि देशको परिवर्तनमा बलियो उपस्थिति राखे । त्यही साहस, त्यही जोसको परिणाम नै विद्यार्थी जनआन्दोलन डायरी २०६२–२०६३ को जन्म हुन पुग्यो ।

२०६२–२०६३ को उन्नाइस दिने आन्दोलनलाई बिस वटा शीर्षक दिएर अत्यन्त कौतूहल र मार्मिक ढङ्गले प्रस्तुत गरिएको उनको लेखन र विषयले वर्तमान युवाहरूलाई समेत निक्कै प्रेरणादायी बन्न सक्छ । देशको परिवर्तनमा लागेका धेरै युवाले आन्दोलनको बेला कुटाइमात्रै खाएनन् । आफ्नो जीवन नै समर्पण गरेर शहिद बन्न पुगे तर एक सिर्जनशील युवा विवेक विनयीले भने उक्त आन्दोलनको चरम दमनलाई त्यहीँ बिर्सन सकेनन् र हरेक दिनको घटनालाई साहित्यिक रूपमा डायरी लेखेर पछिल्लो पुस्तामा हस्तान्तरण गरे । यो पुस्तक २०६२–२०६३ को महान जनआन्दोलनको एउटा ताजा र यथार्थ तस्विर बन्न पुग्यो ।

साहित्य लेख्ने र पढ्ने विवेक विनयी जतिबेला चरम प्रहरी दमनबाट घाइते भए त्यतिबेला उनले विश्वका चरम तानाशाह एल्डोफर हिटलरले मारेका पन्ध्र वर्षीया एन्ना फ्र्याङ्क भन्ने किशोरीलाई सम्झिएका थिए । उनी धर्मले जिउज थिइन् । त्यतिबेला जिउजलाई खोजी खोजी हिटलरले मारेका थिए । त्यसमा ती अबोध किशोरी पनि थिइन् । उनले हिटलरसँग लुकेर बस्दा आफ्नो त्रासदीपूर्ण भोगाइबारे डायरी लेखेकी थिइन् । पछि एन्नाको हत्यापछि उनको बुबाले उक्त डायरी प्रकाशित गरिदिएका थिए । संसारभर प्रसिद्ध उक्त पुस्तकबाट विव्क विनयी पनि प्रभावित थिए । परिवर्तनको संवाहक बन्ने क्रममा चरम यातना भोगेका विनयीले पनि त्यही पीडा र त्यही निरङ्कुशताको यथार्थलाई पुस्तकका रूपमा प्रकाशित गरिदिए जसले २०६२–२०६३ को जनआन्दोलनको यथार्थ चित्र उतारिदिएको छ ।

एक युवामा देशको लागि दृढ अठोट झल्काउने यो पुस्तकबाट आत्मविश्वास भयो भने मानिसले जस्तै रोगबाट पनि छिट्टै आराम गर्न सक्छ । यसको प्रत्यक्ष उदाहरण भएका छन् लेखक विवेक विनयी । उनी आन्दोलनको पाँचौँ दिनमै सक्त घाइते हुँदाहुँदै पनि छोटो समयमै पुनः आन्दोलनमा सक्रिय बन्न पुगेका देखिन्छन् । त्यो लेखकको लोकतन्त्र प्रतिको दृढ आत्मविश्वास कै परिणाम हो ।

जनघाती निरङ्कुश राजतन्त्रको विरुद्धमा आफ्नो जीवन उत्सर्ग गर्न तयार एक युवक विवेक विनयीको जनआन्दोलन डायरी हरेक पाठकहरूका लागि एक पठनीय कृतिको रूपमा प्रकाशित भएको छ ।एक अदम्य साहस र देशप्रति जिम्मेबार विद्यार्थीले जनआन्दोलनमा लिएको साहसिक निर्णयले सबैलाई प्रेरणा दिनेछ । २०६२–२०६३ कोे लोकतान्त्रिक आन्दोलनको यथार्थ चिहाउने यो पुस्तक आन्दोलनको दस्तावेजसमेत बन्न पुगेको छ ।

तपाइँको प्रतिक्रिया ।