प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा वीरगंजमा कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्र उद्‍घाटन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा वीरगंजमा  कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्र उद्‍घाटन

कपन अनलाइन
पर्सा, माघ ३ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्रको बिहीबार वीरगंज महानगरपालिका-६ स्थित वडा समितिको कार्यालय लाठगल्लीमा आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन्।

लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र बीरगञ्ज महानगरपालिकाको सहकार्यमा उक्त केन्द्रको उदघाटन गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले परामर्श केन्द्रमार्फत स्थानीय निकाय, संचारकर्मी र प्रहरी सबै पक्ष सहकार्य गरेर अगाडि बढ्न सके सुरक्षित वातावरण निर्माण गर्न सकिने उल्लेख गर्दै सबैले हातेमालो गरी अगाडि बढेमा समृद्ध नेपाल बनाउन सकिने बताए। स्थानीय तहले अघि बढाएको विकास निर्माण कार्यका लागि सुरक्षा संयन्त्रको रुपमा नेपाल प्रहरीले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गरे ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्की र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त लामा, स्थानीय जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

फोटो सौजन्य: नेपाल प्रहरी

तपाइँको प्रतिक्रिया ।