लट्ठी हरायो कता ?
कपन अनलाइन
काठमाडौँ,पुस ११/ त्रिलोचन आचार्य /कविता
ल्याएँ टेक्न भनेर चट्ट खिरिलो काटेर हाँगातिर
होला हिँड्न अवश्य साथ दरिलो खोल्सा र छाँगातिर
भन्थेँ राख्दछु त्यो सधैँ सँगसँगै जानेछु आफैँ जता
मेरो साथ छुटेर आज प्रिय त्यो, लट्ठी हरायो कता ?
लाग्थ्यो सुन्दर गाउँ हेर्न पनि यै टेकेर जाने छु म
आए शत्रु बनेर क्वै जन कतै छेकेर जाने छु म
त्यो विश्वास गयो भयो मन रुने अत्यासमा छु म ता
अर्कैको अगुवा बन्यो कि भन त्यो, लट्ठी हरायो कता ?
भन्थ्यो मार्ग बताउँला म पुगिने नौलो उज्यालोतिर
भन्थ्यो मुक्ति छ अन्धकार मनको फालिन्छ के को पिर ?
मै नेतृत्व दिनेछु कुद्छु अघि मै आऊ म जान्छु जता
भन्थ्यो, खोज्दछु भेटिँदैन तर त्यै, लट्ठी हरायो कता ?
गाह्रो भो अब हिँड्न किन्तु अघिको, बाटो हराई सक्यो
रक्षा गर्न बढाउँ के म घरको माटो हराई सक्यो
भन्थ्यो हेर्न पु¥याउँनेछु म जहाँ देख्छौ बगैँचा त्यता
थ्यो बाँड्दै सपना अनेकन अहो ! लट्ठी हरायो कता ?
भन्थ्यो मार्ग हिडाउँला म सजिलो, “खाल्डा र पैह्रा पुरी ?”
भन्थ्यो सभ्य समाज बन्दछ यहाँ, बज्छन् मिठा बाँसुरी ?
देख्छौ सुन्दर शान्त रम्य दुनियाँ पैmली रहेका लता
भन्ने, खै बलियो खरो अनि दरो, लट्ठी हरायो कता ?
पुग्ने छौ अब भोक हैन जनता सम्मृद्धिका फाँटमा
पुग्दैनन् अब ता उमेर नपुगी मान्छे कुनै घाटमा
भन्थ्यो स्वर्णिम दिव्य भव्य दुनियाँ देखाउँने हूँ म ता
गर्दै केवल अस्त–व्यस्त जग यो, लट्ठी हरायो कता ?
कपन, काठमाडौँ ।