गरीबको सपनालाई टेकेर महल बनाउने कमरेडहरु
कविता
–दामोदर भट्टराई
परिर्वतन खोज्दै तिमी
बारुद, बम र गोली बोक्न गएपछि माया कसको पाउने हो ?
आफ्नाको रगतमा होली खेल्ने भएपछि,
खै, कस्तो शान्ति काँहा आउने हो ?
जुँगामा ताउ लगाउन आमालाइ नै बेचेपछि,
असल छोरा खै काँहा कसले पाउने हो ?
आफ्नै स्वार्थ पुरा गर्न बुबालाइ नै दाउमा राखेपछि ,
असल छोरी खै काँहा कसले पाउने हो ?
छोरा जन्मेको थियो त्यतिखेर,
जब तिमी शान्तिका लागि बन्दुक बोक्ने भएका थियो ।
आदेश पाए कसैको तिमिले छोरालाई नै ठोक्ने भएका थियौ ।।
छोरी विद्यालय जादै थिइन त्यतिखेर,
जब तिमि आफ्ना संग लड्दै थियौ ।
हामी जस्तै नारीहरुको सिउँदो उजाड बनाउने योजना कस्दै थियौ ।।
तिम्रो नयाँ नेपालले, शत्रुसंग भन्दा
परिवार भित्र शंका गर्ने बनायो ।
सपना थियो हाम्रो छोराछोरीको बाबा–आमासंगै बस्ने
त्यसलाइ पनि चक्नाचुर बनायो ।
तिम्रो परिर्वतनका शब्दले गाँउलाई पनि सुनसान बनायो ।
शहर त शहर नै होला भनेको मान्छेले मान्छेलाई बेच्न ठाउँ बनायो ।
गरीबको सपनालाई टेकेर महल बनाउने कमरेडहरु,
अझै पनि मुठ्ठि कस्न छोडेका छैनन ।
अरुको प्रशंसा गर्न नसक्ने, राम्रो भएको देख्न नसक्ने विचारहरु
अझै पनि मस्तिष्कमा गोडेका छैनन ।
फगत परिर्वतनका कुरा गर्न अझै छोडेका छैनन ।
तिम्रो बन्दुकको परिर्वतनले आज,
दिनदहाडै हाम्री छोरीको अस्मिता लुट्दिैछ ।
तिम्रो बारुदले तर्साएको हाम्रो छोरा,
खाडी अनि अरबमा २४ घण्टा कुटिदै छ ।।