वागदान बोल्नेहरु पैसा नदिँदा ४ लाख लिटरको ट्यांकी अझै सम्पन्न हुन सकेन

कपन अनलाइनकपनमा निजी क्षेत्रबाट बनेको नेपालकै सबैभन्दा ठूलो पानी ट्यांकी अझै सम्पन्न हुन सकेको छैन । कपन जोरधारा खानेपानी संस्थाले निर्माण गर्न लागेको यो ट्यांकी वर्षा अघि नै सम्पन्न गर्न लक्ष्य राखिएको थियो । हाल करिब ९० प्रतिशत काम सम्पन्न भैसकेको ट्यांकीको भित्री भाग प्लाष्टर गर्ने काम भैरहेको छ । करिब ६० लाख लागतमा सम्पन्न हुन लागको यस महत्वाकांक्षी परियोजना ढिलो हुनुमा गतवर्ष भागवत् महायज्ञमा वागदान बोल्नेहरुले पैसा नदिएकोले हो ।

 

गत वर्ष साउनमा जोरधाराले ४ लाख लिटरको ट्यांकी निर्माणका लागि भनेर श्रीमद्भागवत महायज्ञ लागाएको थियो । सो यज्ञमा नगद वा जिन्सी दानभन्दा पनि वाग्दान बोल्नेहरु धेरै थिए । तर महायज्ञमा पैसा दिने भनेर सपरिवार फूल,माला र अबिरले रंगिएर नाच्दै सम्मानपत्र चाहिँ लिने तर समयमा पैसाचाहिँ नदिनाले जोरधारा खानेपानीलाई अप्ठेरो परेको हो । करिब ८ लाख वागदान वापतको रकम अझै उठ्न बाँकी रहेको छ । कपनमा नाम चलेका व्यक्तिहरुले १ वर्ष बित्दा पनि पैसा दिएका छैनन् । यसरी वागदान बोलेर पैसा नदिनेहरुले कम्तिमा ५,००० देखि बढिमा ८५,००० सम्म रहेको छ । जोरधारा खानेपानीको ट्यांकी निर्माणको लागि भनेर कपनमा राजनीतिमा सक्रिय पार्टी तथा चिनेजानेका नेताहरुले समेत वागदानमा बोलेको पैसा दिएका छैनन् । पार्टीका मै हुँ भन्ने नेताहरुले बोलेका ५,००० देखि ३३,००० सम्मका रकम अझै दिएका छैनन् ।

 

यो पैसा समयमा उठेका भए जोरधाराको ट्यांकीबाट पानी वितरण कार्य सुरु भैसकेको हुन्थ्यो भन्छन् जोरधारा खानेपानीका अध्यक्ष डिल्लि ढकाल । करिब १० प्रतिशत काम बाँकिरहेको  ट्यांकीको काम त जसरी पनि गरिएला तर उमंग सहकारीको २० लाख ऋणले हामीलाई सताएको छ,  थप्छन् ढकाल । सबैले बोलेको पैसा  दिए भने हामीसँग ऋणको भार कम हुने जनाउँदै उनले एउटै गाउँको चिनेका तथा राजनीतिक दलका प्रतिनिधिसमेत भएकाले केही भन्न नसकेको गुनासो पोखे । तर अझै हेलचेक्राइँ गरेर बोलेको पैसा नतिरे आउँदो  १५ दिनपछि  उनिहरूको नाम सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ जोरधारा खनेपानी संस्थाले ।

 

जोरधारा खानेपानीले कपनमा नै रहेका उमंग बचत तथा ऋण सहकारीबाट नगद २० लाख ऋण लिएर यो ४ लाख लिटरको ट्यांकी निर्माण गर्न सुरु गरेको थियो । गत माघ ८ गते सिलान्यास गरिएको यो ट्यांकी निर्माणका लागि गाउँ विकास समिति कपनले रु. १९७,६३० प्रदान गरेको थियो भने जोरधारा खानेपानी संस्थाले संस्थागत आम्दानीबाट १२,५५००० लगानी गरेको छ । हालसम्म कुल ५५,३६,३५६ रुपैंया यस ट्यांकी निर्माणमा खर्च भैसकेको छ ।

 

यसैबीच जोरधारा खानेपानी संस्थाले आगामी भाद्र १५ गते शनिवार सर्वदलीयसहितको विशेष भेला डाकेर आजसम्मको आयव्ययको हिसाब सार्वजनिक गर्ने जनाएको छ । सोही अवसरमा वागदानमा पैसा बोलेकाहरुसँग पैसा उठाउन एक समिति निर्माण गरिने कुरा जोरधारा अध्यक्षले कपन अनलाइनसँग बताए ।

तपाइँको प्रतिक्रिया ।