नेपाल इजरायल साँस्कृतिक आदान प्रदान कार्यक्रम सम्पन्न

कपन अनलाइन / आशोक राज पाण्डे/

कपनमा सामाजिक गतिविधिमा अग्रणी संस्था समाज उत्थानको लागि भरोसा, लगायतका अन्य ३ वटा संस्थाका संयुक्त पहलमा ‘बाल सारथी’ नामक अति विपन्न परिवारका बालबालिकाहरुका लागि अध्ययन गर्न खोलिएको संस्थाको सहयोगार्थ ‘रेन्बो डान्स कल्चरल इभ–२०१३’, नेपाल–इजरायल साँस्कृतिक आदान प्रदान कार्यक्रम यहि शुक्रबार राष्ट्रिय सभा गृह प्रदर्शनी मार्गमा सम्पन्न गरको छ । नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपालका लागि इजरायलका राजदुत होनान गोदार, पूर्व मेयर केशव स्थापित, महानायक राजेश हमाल, एकीकृत बाग्मति सभ्यता विकास उच्च स्तरीय समितिका पूर्व अध्यक्ष महेश बहादुर बस्नेत लगायतका अन्य विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

साँझ ५ः३० बजेबाट शुरु भएको कार्यक्रममा नेपालका तर्फबाट बज्र कला कुञ्ज तथा बाल सारथी स्कूलका विद्यार्थीहरुले नेपाली संस्कृति झल्काउने कुमारी नृत्य, भैरव काली नृत्य, महामञ्जुश्री नृत्य, अन्नपूर्ण नृत्य र यमनाई नृत्य प्रस्तुत गरेका थिए भने इजरायलका तर्फबाट इलाट टोभीको नृत्य निर्देशनमा करिब ४ वटा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्नुहँुदै प्रमुख अतिथि सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रामकुमार श्रेष्ठले यस्ता खालका कार्यक्रमले दुई देश बीच पारस्परिक सम्बन्ध अझै प्रगाढ हुने र सामाजिक गतिविधिमा पनि सहयोग पुग्ने कुरा बताउनुभयो ।

त्यस्तै कार्यक्रममै बोल्नुहुँदै नेपालका लागि इजरायली राजदुत होनान गोदारले नेपाल इजरायलको पुरानो साथी भएकोले नेपाललाई सधैँ साथ र सहयोग रहने कुरा बताउनुभयो । कार्यक्रमकै बारेमा कपन अनलाईन सँग बोल्नुहुँदै भरोसाकी अध्यक्ष रन्जिता के.सी. ले पार्थना गर्ने ओठ भन्दा सहयोग गर्ने हातहरु पवित्र हुने हुँदा यस्तो खालको कार्यक्रम गरिएको बताउनुभयो र आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रम गर्ने बताउनुभयो । स्मरण रहोस् भरोसाले गत महिना मात्र पनि कपन ९ स्थित जनजागृति माध्यामिक विद्यालयमा करिब ८० वटा स्कूल ब्याग वितरण गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।