(कथा) – पल्लो पसल
पल्लो पसल
– कविता पौडेल
मेरो किराना पसलको पारिपट्टी भाँडा पसल थियो । त्यहाँ बिक्री हुने भाँडाकुँडाहरू त्यसै घरमा भएको कारखानामा बनाइन्थे । गिल्टीका भाँडा बनाउँदाको टाङटुङ-टाङटुङले जतिखेर पनि कान खान्थ्यो । भाँडा पसलेको जेठो छोरा बी.ए. मा पढ्दै थियो, माइलो आई.ए.मा । कान्छो छोरा भने सानै थियो । भाँडा पसलेको परिवारले आवश्यक सामानहरू हाम्रै पसलबाट किन्थ्यो । मलाई भाँडा पसलेको जेठो छोरा असाध्यै मिजासिलो लाग्थ्यो । बाहिरबाट झट्ट हर्ेदा ऊ काल-मुश्ले डरलाग्दो थियो, अझ त्यसमाथि कानमा लगाएको मुन्द्रोले उ कुनै गुण्डा हो कि जस्तो देखिन्थ्यो । ऊ बोल्न थालेपछि भने उसको डरलाग्दो रूपलाई उसको मिजासले प्यारो बनाइदिन्थ्यो । उसको बाहिरी रुपसँग नमिल्ने उसको नाम थियो-भोला चौबे ।
एकदिन भोला हातमा केही फलफूल लिएर हाम्रो पसलमा आयो । “काकी यो प्रसाद लिनुस् । आमाले पठाइदिनुभएको ।” यति भन्दै ऊ मुढा तानेर बस्यो । ऊ सधैँ जस्तो हँसिलो थिएन, उसको मुख निन्याउरो थियो । “के भयो र भोला – किन निन्याउरो देखिएका छौं – आज पनि बासँग झन्डा गर्यौं कि क्या हो – हेर आमा-बासँग मुखमुखै लाग्न हुँदैन है । आफूभन्दा ठूलाले भनेको त अलिकति सहनुपनि पर्छ ।” सधैँ जस्तो उसको घरमा झगडा परेको हो कि भन्ने लख काट्दै मैले भनें । “काकीले पनि मेरै दोष देख्नुहुन्छ ।” उसले रुन्चे मुख लगाएर भन्यो । “भन न त के भयो -” “हर्ेर्नुस् न काकी, मेरो त बिहे गरिदिन लागेका छन् । मलाई अहिले नै विवाह गर्न मनै छैन । बासित कुरा गरेर केही फाइदा छैन, मेरो कुरै सुन्नुहुन्न । यो कुरामा त आमा पनि बातिर नै लाग्नुभएको छ । एम.ए. सम्मको पर्ढाई नसकी मलाई विवाह गर्ने मनै छैन । म के गरौं, कता जाउँ !” उसले गहभरी आँसु पार्यो । मैले उसलाई के भनौं र – थप भन्ने कुरा केही थिएन । उसका बा-आमा आफ्नो जिद्दिका पक्का थिए । मैले सम्झाएर सम्झिने खालका थिएनन् ।
भोलाको बिहेको प्रितिभोज थियो । म भोलाकी आमाको नजिक गएर बसें । उनी त्यति खुसी देखिएकी थिइनन् । “बधाई छ दिदी ! जेठो छोराको बिहे गरेपछि त हँसिली पो हुनुपर्छ ।केको निन्याउरो मुख लगाएर बस्नुभएको छ त -” भोलाकी आमा त्यसै टोलाएर बसेकी हुँदा मैले नै मुख फोरे । के को खुसी मनाउनु छ र बैनी ! धनी घर छ भनेर छोराको बिहे गरियो । भित्रभित्रै ऋणले डुबेका रैछन् । खाली हात फर्कनु पर्यो । दुइचारवटा भाँडाकुँडा, एउटा दराज, सोफासेट र पलंग बाहेक दाइजोमा केही दिएनन् । हाम्रो त कूलको इज्जतै गयो ।” “तपाई पहाडडिहरूको जस्तो कहाँ हुन्छ र हाम्रो – दाइजो कम ल्याउने बुहारी भित्र्याएपछि त हाम्रो इज्जतै रहन्न । छोरोले बिहे गर्नै मानेको थिएन । दाइजोमा कार दिन्छन् रे हिंड भन्दै मैले फकाएर बिहे गर्न राजी गराएकी थिएँ । यस्तो हालत गराउँछन् भन्ने जानेकी भए छोरालाई बिहे गर्न किन कर गर्थे र -” “पहाडियाहरूमा पनि हिजोआज दाइजोको लोभ धेरै बढ्दै छ । यो कुरा त नराम्रो हो दिदी । जे भयो-भयो, अब चित्त बुझाउनु पर्दछ । अब यो कुरा झिकेर के फाइदा छ र दिदी – बुहारी साट्न मिल्दैन क्यारे ।” “त्यसो भनेर कहाँ हुन्छ – मैले त भनिदिएकी छु, गौना फर्काउन आउँदा केही नभए पनि एउटा कार लिएर आउनु, नत्र यो घरमा ठाउँ छैन भनेर ।” यति भन्दै भोलाकी आमा जुरुक्क उठेर भित्र गइन् । उनको त्यस्तो व्यवहारले मेरो मन ज्यादै खिन्न भयो । म केही नखाई फर्किएँ ।
भोलाको बिहे भएको १५ दिनजति बितेका थिए । साँझको छ बन्दैथियो । मङ्सिरको महिना हुनाले झमक्क रात परिसकेको थियो । हातमा एउटा पोको बोकेर भोला आइपुग्यो । “के छ त भोला हालखबर – बिहे गरेपछि त देखिनै छाड्यौ । नयाँ दुलही घरमा कत्तिको रमाएकी छन् -” “के हालखबर हुनु र काकी – पहिले-पहिले मैले बिहे गर्न नमान्दा झगडा हुन्थ्यो, अहिले दाइजोको बारेमा झगडा हुन्छ । मैले ससुराल गएर लाजै नमानी कार मागेर ल्याउनु रे । ससुरालीहरू व्यापार विग्रिएर ऋणमा डुबेका छन्, कसरी माग्नु मैले कार – आमाले त साह्रै गर्न थाल्नुभएको छ । कहिले-कहिले त झगडा चर्किएर भातै खान पाइन्न । आज पनि दिउसैदेखि ठाकठुक भइराखेको छ । के थाहा, आज पनि भोकै सुत्नुपर्ने हो कि – मैले त होटलबाट खाना लिएर आएको छुर्,र् इ ।” उसले हातको पोको देखाउँदै भन्यो ।
त्यतिखेरै भोलाकी आमा आइपुगिन् । “ए, के गफ गरेर बसेको छस् यहाँ – जा खाना खान, तेरी स्वास्नी कुरेर बसेकी छ ।” छोरोको अनुहारतिर राता आँखा देखाउँदै उनले भनिन् । भोला लुरुक्क पर्दै आफ्नो घरतिर लाग्यो । उसकी आमा हाम्रो पसल अगाडि उभिएर उही चिर-परिचित दाइजोको विषयमा फत्फताउन थालिन् । मलाई उनको फतफत सुन्नुभन्दा अलि छिटो शटर बन्द गरेर डेरातिर जानु ठीक लाग्यो । भोलाकी आमाले, “पसल बन्द गर्ने बेला भइसक्यो र बैनी यति चाँडै -” भन्दै थिइन् । मैले, “आज अलि छिटै जानु छ दिदी” भन्दै शटर ताने ।
पल्लो पसल भएको घरभित्र दिनदिनै झगडा हुनथाल्यो । छर-छिमेकीहरू त्यस झगडाबाट वाक्क भइसकेका थियौं । यसैले शुरुसुरुमा जस्तो त्यस घरको झगडाबारे चासो दिन छोडिसकेका थियौं । माघको महिना थियो । जताततै कुहिरो लागेर उताको मानिस यताबाट देखिँदैनथ्यो । हामीले त्यस ठाउँबाट पसल सार्ने निधो गरिसकेका थियौं । सामान ओसार्ने ट्र्याक्टर पसलअगाडि आइसकेको थियो । हामीहरूले धमाधम ट्र्याक्टरमा सामान राख्न थाल्यौं । पल्लो पसल भएको घरबाट मानिसहरू रुँदै चिच्याएको सुनियो । मलाई लाग्यो- उही दाइजोको झगडा होला । यता- उताका मानिसहरू कुदाकुद गर्दै भाँडापसलतिर जान थाले । झगडा अलि बढ्तै भएछ कि भन्ने सोचेर म पनि त्यतै लागें । भोलाकी आमा छाति पिटी-पिटी रोइरहेकी थिइन् । “मेरो बाबु, तिम्रो हत्या गर्ने मै हुँ । लौ न ! मलाई पनि सँगै लैजाउ । त्यस नकच्चरीलाई खुवाउन भनेर पो मैले मीठाईमा विष हालिदिएकी थिएँ । तिमीले त पहिले नै मीठाई खाइसकेका थियो । त्यस नकच्चरीको साथमा फेरी पनि मीठाई खाउला भन्ने मलाई के थाहा -” आँगनमा भोला र उसकी श्रीमतीका लासहरू राखिएका थिए । भोलाकी आमाको बिलौना जारी थियो । एक हुल प्रहरीको टोली भित्र पस्यो । आँसु पुछ्दै म बाहिर निस्किएँ ।