गगन थापाको निर्वाचन क्षेत्रमा काँग्रेसको अबस्था

गगन थापाको निर्वाचन क्षेत्रमा काँग्रेसको अबस्था

 

 

 

 

 

 

कपन अनलाइन 

काठमाडौ ,भाद्र २२/विचार/ केशवराज  पाठक

त्यसो त गगन थापा नेपाली राजनीतिमा सेलिव्रेटीको हैसियत राख्दछन् । उनीप्रतिको मोह वा क्रेज सबैका लागि लोभलाग्दो हुने गर्दछ । नेपाली काँग्रेसको राजनीतिभित्र मात्र नभै समग्र नेपाली नेताहरुमध्ये पनि गगन थापाले सबै तह तप्काका मानिसलाई छोएका छन् ।

थापालाई भविष्यमा नेपाली काँग्रेसको सभापतिमात्र हैन प्रधानमन्त्रीको रुपमा देख्न चाहनेहरुको संख्या काँग्रेसभित्र मात्र हैन बाहिर पनि उल्लेख्यमात्रामा रहेको छ । देउवा प्रम हुनु पूर्व प्रचन्ड सरकारमा पुगनपुग ९ महिना बसेर स्वास्थय मन्त्रीका हैसियतमा उनले गरेका कामलाई सम्भवतः नेपाली स्वास्थ्य क्षेत्र तथा चिकित्सा क्षेत्रमा कोशे ढुंगाको रुपमा हेर्न सकिन्छ ।

प्रजातन्त्रको पछि कै मन्त्रीहरुको कुरा गर्ने हो भने उनले एक मन्त्रीको हैसियतमा गरेको काम सम्भवतः आजसम्मकै सबैभन्दा प्रशंसनीयमध्ये अब्बल नै रह्यो । स्वास्थ्य मन्त्रीका हैसियतमा थापाको यो कामलाई उनकै पार्टीका सभापति शेरबहादुर देउवाले मूल्याँकन गर्न सकेनन् भनेर जनदवावसमेत सिर्जन भएको थियो ।

सांसद थापा संग  लेखक

अध्ययनशीलता तथा मोहभंग नहुने खालको वाकपटुकताले झनै थापाको राजनीतिक उचाईमा चारचाँद लागेको छ । भनिन्छ, उनलाई देखेर नेपाली राजनीतिका मै हुँ भन्ने पात्रहरु पनि इश्र्या गर्ने गर्छन् । सरकारले मंसिर १० मा संसदीय र प्रादेशिक चुनावको घोषणा गरेपछि अब सबैको ध्यान राजनीतिमा संभावना भएका पात्रहरु र उनको निर्वाचन क्षेत्रमा अबस्थाको बारेमा विशेष चासो राख्न चाहेका छन् । गगन थापा जस्तो मान्छेको क्षेत्रमा उनको संभावित उम्मेदवारी र विजयको बारेमा सम्भवतः अन्य नेताभन्दा धेरैलाई चासो रहेको छ ।

काठमाडौको महत्वपूर्ण निर्वाचन क्षेत्र नं. ४ मा मंसिरमा हुने भनिएको निर्वाचनमा संसदीय उम्मेदवारको टिकट गगन थापाले नै पाउने बारेमा कसैमा दुईमत छैन । थापा स्वयम्ले चुनावमा उठ्न नचाहे भने मात्र अरुले पाउने चान्स भएको मानिन्छ । ०७० सालमा भएको दोस्रो संबिधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ४ मा सभासदको रुपमा गगन थापाले पाएको बिशाल अन्तरको विजयलाई अब फेरी उनले दोहोर्याउन सक्लान् ? यो कोणबाट धेरैभन्दा धेरै कार्यकर्ता, सुभेच्छुक र विपक्षीहरु सुक्ष्म तरिकाले बुझ्न चाहिरहेका छन् । ४ वर्षअघि पुगनपुग १३ हजार मतान्तरले गगन थापाले विजय हाशिल गरेको क्षेत्रमा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले अप्रत्याशितरुपमा लाजलाग्दो हार बोहोर्यो ।

यस क्षेत्रका सांसद गगन थापा स्वास्थ्य मन्त्री रहेर देशभर प्रशंसित भैरहँदा स्थानीय तहमा भने किन हार बेहोर्नु पर्याे भन्ने विषय आफै पेचिलो रहेको छ । देशभरको जुनसुकै निर्वाचन क्षेत्रबाट चुनाव उठे पनि चुनाव जित्न सक्ने हैसियत राख्ने भनिएका गगन थापाको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं. ४ मा स्थानीय तह निर्वाचनमा काँग्रेसले बोहोरेको हारले आउँदो संसदीय र प्रादेशिक चुनाव पनि प्रभावित हुन्छ भन्ने डर काँग्रेसवृत्त र स्वयम् गगन थापालाई पनि रहेको हुनुपर्छ ।

करिब डेढ वर्ष अघि भएको नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशनले काठमाडाँै क्षेत्र नं. ४ मा विषको बिउ रोपेको थियो । त्यही बीउ अहिले यहाँ आकार लिँदैछ । त्यही विषको बिउको फैलिएको आकारले सम्भवतः स्थानीय तह निर्वाचनमा काँग्रेस पराजित हुन पुग्यो ।

सो महाधिवेशनद्वारा निर्वाचित क्षेत्रीय सभापति राजु श्रेष्ठ र सांसद गगन थापाको वेमेलका कारण यस क्षेत्रको पार्टी संगठनमा धाँजा परेको छ । सांसद, केन्द्रिय सदस्य र स्वास्थ्य मन्त्री बनेका गगन थापालाई क्षेत्रीय सभापतिले सम्मान गर्न नसक्नुले निम्तिएको समस्या सांसदद्वारा विकास निर्माणमा क्षेत्रीय समितिलाई रोल नदिनुसम्म पुगेर हरेक क्रियाशिल कस्को मान्छे भनेर प्रस्ट्याएर बस्नु परेको अबस्था छ । को कस्को को कस्को मान्छे भन्ने विवादमा नै संगठन विस्तार र प्रचारप्रसारको काम रुमल्लिँदा काठमाडौ क्षेत्र नं. ४ को स्थानीय तह निर्वाचनमा काँग्रेस कमजोर देखिएको हो । स्थानीय तहको चुनावी प्रचारप्रसारमा नै पनि काँग्रेसले एकभएर हिँड्न सकेन । क्षेत्र नं. ४ को काँग्रेस संगठनले स्थानीय तहको चुनावमा चुनावी रणनीतिक कौशलता कतै पनि देखाउन सकेन ।

कसैलाई समेटर लान नसक्नु साथै चुनावको बेला स्वास्थ्य मन्त्री रहेका आफ्नो क्षेत्रको सांसदलाई भजाउन नसक्नुको असक्षमता पनि क्षेत्र नं. ४ को संगठनलाई लागेको छ । यो सँगै सांसद थापाले क्षेत्रलाई समेटर नहिँडेको मात्र हैन सांसद विकास कोषको रकममा क्षेत्रले जानकारीसम्म नपाएको गुनासो बारम्बार देखियो । निर्वाचित सभापतिलाई बाइपास गरेर पूर्व सभापति न्हुच्छेनारायण श्रेष्ठलाई विकास निर्माणको जिम्मा दिँदा पनि क्षेत्रीय राजनीतिको मनोभावमा ठूलो समस्या देखिएको हो ।

गगन थापाको किचेन क्याबिनेटको बारेमा पनि धेरै आलोचना हुने गरेको छ । स्थानीय तह निर्वाचनपछिका ३ महिना क्षेत्र नं. ४ अन्तर्गत को बुनपाका ८ वटा वडासहित कामनपाको वडा नं. ७ र १ मा काँग्रेसको गतिबिधि पूर्णतः शुन्य रह्यो । गगन थापाले कुनै कार्यक्रम राखे भने काँग्रेसीहरुको भेला देखिने नत्र काँग्रेसीहरुको सामान्य भेला समेत देखिन सकिएन ।

वुनपामा सानदार विजय हासिल गरेको एमालेले स्थानीय तह निर्वाचनपछिको यही ३ महिनामा मतदाता परिचयपत्रको फोटो खिच्ने क्रममा गैरकानुनी कामसम्म गर्न भ्यायो तर काँग्रेसले मतदाता फोटो खिच्ने टोली आएको थाहा सम्म पाउन सकेन ।

मतदाता फोटो खिच्ने अन्तिम दिन समय सक्किएको ३ घण्टा पछि पनि एमाले स्थानीय नेताको घरमा फोटो खिच्दै गरेका कर्मचारी भेटिँदासम्म पनि काँग्रेस चीर निन्द्रामै थियो । गगन थापाले यो निरौलाकाण्डको रुपमा चर्चित यो काण्डलाई सदनमा आवाज उठाए, निर्वाचन आयोग गए तर क्षेत्र नं. ४ का सभापतिले आफ्नो सामाजिक सँजालमा समेत यो कुरा लेखेनन् ।

मंसिर १० केन्द्रित भएर पार्टीलाई एक बनाउने प्रयासमा यतिखेर सांसद थापा र सभापति राजु श्रेष्ठ लागेको देखिन्छ । यो देखावा वा हकिकत के हो भन्ने बारेमा सबैलाई आशंका भए पनि पछिल्ला दिनको एकाध कार्यक्रममा उनीहरुसँगै देखिएका छन् । तर हाउभाउमा कुनै आफ्नोपन नदेखिएको कार्यकर्ता खुलेर बताउँछन् । प्रदेश सांसदको संभावित दावेदार मानिएको क्षेत्रीय सभापति राजु श्रेष्ठले अझै गगन थापालाई सम्मान नगरेको धेरैले अनुभूति गरेका छन् ।

यदि हालका दिनमा देखिएको यो केही मिलनको संकेतलाई फराकिलो पार्ने हो र त्यो अनुभूति कार्यकर्ताले गर्ने हो भने काँग्रेसको राजनीतिलाई यस क्षेत्रमा सफल हुन गारो छैन । तर के डेढवर्ष अघिको त्यो विषको बिउलाई नष्ट गरेर पार्टीलाई लयमा ल्याउन सकिएला ? यो भूमिका अब गगन थापाले स्वयम्ले गर्न पर्नेछ । डेढ वर्षको कटुतालाई अन्त्य गरेर पार्टीनै सर्वाेपरी भन्ने भावना क्षेत्रीय सभापतिसहितका नेतामा ल्याउन गगन थापाले कति सक्लान् भन्ने कुरा नै अबको प्राथमिक विषय हो । क्षेत्र नंं ४ को गाउँ क्षेत्र(वुनपा) मा एमाले बलियो देखिएको छ ।

यो प्रदेशमा सांसद उम्मेदवार दिँदा युवा, पढेलेखेको तथा ड्यासिङ हुनु आवश्यक छ । गगन थापाको धेरै भोट आउँछ अनि प्रदेश साँसदले पनि जितिहाल्छ भन्ने सोचियो भने वुनपापट्टिको प्रादेशिक सांसद काँग्रेसको हातबाट गुम्न सक्छ ।

हाल हल्लामा चलेका नाम नै प्रदेशको सांसदको क्याटागोरीमा पर्ने हो भने सम्भवतः गगन थापाको क्रेजले प्रदेशको नैया पार हुन मुस्किल छ । क्षेत्र नं. ४ मा महानगरतिरको प्रदेश सांसद नगरतिरको प्रदेश सांसदभन्दा अलि बढि सुरक्षित मानिन्छन् तथापि आन्तरिक बिरोधाभासले यताको गाडीको ब्रेक पनि फेल हुनसक्ने आशंका गर्न सकिन्छ ।

निष्कर्षमा मंसिरमा हुने भनिएको संसदीय र प्रादेशिक चुनावमा काठमाडौँ क्षेत्र नं. ४ को मैदानको काँग्रेसको बेडापार गर्ने अभियानको मियोमात्र हैन दाउने गोरु र गोरुलाई हिँडाउने व्यक्तिको भूमिकामा पनि गगन थापा नै हुनु पर्ने अबस्था देखिएको छ ।

तपाइँको प्रतिक्रिया ।