कृषि बालीमा विषादीः जनस्वास्थ्यमा वर्वादी  (राजेशमान के.सी.)

कृषि बालीमा विषादीः जनस्वास्थ्यमा वर्वादी  (राजेशमान के.सी.)

कपन अनलाइन

काठमाण्डौ ,असार २७।

कृषि बालीमा हानिकारक मानिने कीरा फट्यांग्रा तथा झारपात नष्ट गर्ने र कृषि उत्पादनमा बृद्धि ल्याउने सोचका साथ रासायनिक विषादीको प्रयोग गर्ने गरिन्छ । यसरी प्रयोग गरिने रासायनिक विषादीमा बी.एच.सी., डि.डी.टी., अल्ड्नि, डाइअल्ड्नि, मालाथिन, पाराथीजन, नाइटेजन, ब्रोमाइड, लेड, आर्शनेट, क्याल्शियम आर्शनेट, वेगन, लिनडेन आदि प्रमुख रुपमा रहेका छन् । यस सम्बन्धमा विशेषज्ञहरुले दिएको एक जानकारी अनुसार विशेषगरी कृषि बाली र खाद्यान्नमा लाग्ने हानिकारक कीराहरु मारी उत्पादन बढाउने अभिप्रायले झण्डै २५० किसिमका कीटनाशक, ४० किसिमका झारनाशक तथा विभिन्न ढुसी नाशक विषादीहरु प्रयोगमा ल्याउने गरिएको छ ।
विश्वमा परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रियासंगै यस किसिमका रासायनिक विषादीहरुको प्रयोग गर्ने कार्यको थालनी सर्वप्रथम विकासोन्मुख मुलुकहरुबाटै भएको हो । नेपालको सन्दर्भमा भन्नुपर्दा सन् १९६० तिर खासगरी औलो नियन्त्रणको लागि भनी यस किसिमका विषादीहरुको प्रयोग गर्न थालिएको हो । पछि गएर नेपालमा पनि यसको प्रयोग परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्ने अभिप्रायले यस्ता विषादीहरुको प्रयोग गर्न थालिएको हो । विभिन्न दात्री मुलुकहरुबाट सहयोग स्वरुप प्रदान गरिएका ढुसीनासक तथा कीटनाशकको रुपमा प्रयोग गरिने यस्ता विषादीहरु हाल प्रतिवर्ष सयौं टनको अनुपातमा प्रयोग हुने गरेका छन् । नेपालमा प्रयोग हुने यस्ता विषादीहरुमध्ये अर्गानोफोस्फेट, अर्गानोक्लोरिन, कार्वाइड आदि प्रमुख छन् । यस्ता प्रतिबन्धित एबं् म्याद नाघिसकेका रासायनिक विषादीहरुको उचित ब्यवस्थापन नै अहिले सरकारको लागि ठूलो समस्या बन्न पुगेको छ ।
निःसन्देह कृषि क्षेत्रमा यस किसिमका रासायनिक विषादीहरुको उपयोग अत्यधिक र अव्यस्थित तवरले गरिंदा वातावरणीय विनाशमा सघाउ पुर्याउंछ । खासगरी यस्ता रासायनिक विषादीको प्रयोग अत्यधिक मात्रामा गरिंदा प्राकृतिक वातावरणीय सन्तुलनका लागि विद्यमान स–साना कीरा फट्यांग्रा एबं् कीटपतंगहरुको विनाश गराउंदछ भने कतिपय मूल्यवान बोट विरुवाहरु समेत नष्ट पार्दछ । साथै यसबाट जलीय र स्थलीय जीवजन्तुलाई पनि क्षेति पुर्याउने पक्का छ । त्यति मात्र नभई कृषि वालीमा प्रयोगमा ल्याइने यस्ता रासायनिक विषादीले हावा, पानी, माटो मात्र नभई तरकारी, फलपूmल लगायत अन्य खाद्य पदार्थहरुमा समेत प्रतिकूल असर पुर्याउंछ । यसरी रासायनिक विषादीको  प्रयोग मार्फत उत्पादित खाद्यान्नको प्रयोग मानिस लगायत अन्य पशुपंक्षीको लागि पनि मन्द विष सरह हुने कुरा वैज्ञानिक रुपमै पुष्टि भइसकेको छ । कृषि वालीमा लाग्ने विभिन्न कीरा र रोगहरुको सही पहिचान नहुनु, विषादीको उचित मात्राबारे ज्ञान नहुनु र आवश्यक सावधानी अनि सजगता नअपनाउनु आदि जस्ता कारणहरुले गर्दा खाद्य बालीहरुमा यस्ता विषादीहरुको प्रयोग अहिले प्रमुुख समास्याकै रुपमा देखा परिरहेको छ । बालीनालीमा विषादीहरुको  जथाभावी एबं् अव्यवस्थित प्रयोगले मानव स्वास्थ्यमा समेत प्रत्यक्ष वा परोक्ष रुपमा असर पुर्याउने कुरा अध्ययनबाट पुष्टि भइसकेको छ । खासगरी फोस्फेटयुक्त विषादी जस्तै डायजिनोन, मालाथिन, कार्वोप्mयूरल आदिको प्रभाव धेरै समयसम्म रहिरहने र यिनीहरुको प्रयोगबाट बालीनालीमा लाग्ने हानिकारक कीराहरु मर्नुका साथै विभिन्न उपयोगी जीवहरु समेत नष्ट हुन पुग्दछन् । मानव स्वास्थ्यमा पुर्याउने हानीका बारेमा कुरा गर्दा कतिपय यस्ता विषादीहरुको प्रभावबाट मानव भ्रुणको बृद्धिमा क्षेति पुग्नुका साथै क्यान्सरजस्तो घातक रोग समेत उत्पन्न हुने सम्भावाना रहने कुरा स्वास्थ्यविदहरु बताउने गर्दछन् । बिडम्बना नै मान्नु पर्दछ कि देशमा जतिसुकै कृषिकेन्द्र र प्राविधिकहरुको संख्या थपिंदै गए तापनि अधिकांश कृषकहरु यस्ता रासायनिक विषादीहरुको उचित ज्ञान र प्रयोजनबारे अनभिज्ञ नै रहेका छन् । बरु यसको विपरित कृषकहरु विषादी वितरकको आधारमा यस्ता कीटनाशक औषधिहरुको प्रयोग गर्ने गर्दछन् । औषधिको मात्रा र सावधानीबारे ख्याल राखिंदैन । यसले गर्दां राजधानी लगायत देशका अन्य कतिपय शहरहरुमा उपलव्ध हुने विभिन्न फलपूmल, तरकारी एबं् सागसव्जी समेत विषादीबाट मुक्त छन् भनेर भन्न सकिंने अवस्था छैन ।
यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठनद्धारा केही महिनाअघि प्रकाशित एक प्रतिवेदन अनुसार विश्वमा अहिले प्रतिवर्ष झण्डै ५ लाख मानिसहरु विषादी औषधिको कारणबाट मर्ने गरेका छन् भने औषधिको प्रतिकूल असरबाट पीडितमध्ये झण्डै ४० प्रतिशत विकासोन्मुख मुलुकहरुमा देखा परेका छन् । संगठनका अनुसार विकासोन्मुख मुलुकहरुमा प्रति मिनेट एकजना व्यक्ति विषादीको प्रयोगबाट ग्रसित हुने गरेको र यसको शिकार विशेषगरी बालबालिकाहरु हुने गरेका छन् । साथै विषादीको गलत उपयोग नै यसको प्रमुख कारण रहेको कुरा पनि प्रतिवेदनको निचोडमा उल्लेख गरिएको छ । त्यसो त विषादीलाई व्यवस्थित तुल्याई त्यसको हानीबाट बच्न विश्वका सबैजसो राष्टहरु्ले सन् १९९२ मै पेस्टिसाइड सम्बन्धी संयुक्त संयुक्त राष्ट् संघीय सम्मेलन ९ग्ल्ऋए०ले पारित गरेको २१औं एजेन्डालाई मध्ये नजर राख्दै यस सम्बन्धी विभिन्न नीति नियमहरु पनि तर्जुमा भई सकेका छन् । नेपालले आजभन्दा झण्डै अढाई दशक अघि अर्थात् सन् २००२ मै उक्त महासन्धीमा हस्ताक्षर गरिसकेकोे हो । त्यस्तै नेपालमा सन् १९९१ मा पेस्टिसाइड सम्बन्धी ऐन र त्यसपछि सन् १९९३ मा पेस्टिसाइड नियमावली पनि तर्जुमा भइसकेका हुन् । यसका अतिरिक्त वातावरणीय संरक्षण ऐन, १९९६ लागू भएको पनि झण्डै तीन दशक पुगी सकेको छ । तर पनि नेपालमा यस्ता विषादी औषधिको प्रयोगबाट हामी अझै पनि सुरक्षित छौं भन्न सकिने अवस्था  छैन ।
त्यसैले नेपाललाई यदि सांच्चै नै यस्ता विषादीको असरबाट बचाउने हो भने कृषि क्षेत्रमा रोग, कीरा नियन्त्रणमा जैविक र अन्य प्रांगारिक मलको प्रविधिमा जोड दिनु जरुरी भईसकेको छ । साथै कृषकहरुलाई यस्ता कीटनाशक औषधिबारे प्राविधिक ज्ञान दिलाउनुका साथै सम्बन्धीत प्राविधिकको सिफारीशमा मात्र विषादी प्रयोग गर्न दिइनु पर्दछ । बालीनालीमा लाग्ने रोग र कीटाणु नष्ट गर्न मगाउने गरिएका यस्ता कतिपय विषादीहरु समयमै कृषकलाई उपयोगका लागि वितरण नगरिने र कमिसनको प्रलोभनमा आवश्यकभन्दा बढी मात्रामा मगाइने गरेका कारण पनि समस्या उत्पन्न भएको विज्ञहरु बताउंछन् । विषादी औषधिहरुको प्रयोजनको सम्बन्धमा यहां एउटा मननीय कुरा के छ भने म्याद नघिसकेका विषादी सम्बन्धीत मुलुकले सुरक्षित तवरले विसर्जन गर्न नसके संयुक्त राष्ट्र संघको समन्वय र अगुवाईमा आयात गरिएकै देशमा लगि विसर्जन गर्नुपर्ने प्रावधान विषादीको सुरक्षित विसर्जन सम्बन्धी अन्तर्राष्ट्यि अभिसन्धी, स्टकहोमले गरेको छ । त्यसैले सरकारले जनस्वास्थ्यको सम्बेदनशीलतालाई दृष्टिगत गर्दै सो अभिसन्धी प्रभावकारी रुपमा कार्यान्वयन गरी विषादीको समुचित व्यवस्थापन र प्रांगारिक मलको उपयोगमा जोड दिनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।