बुढानिलकण्ठमा निरौला काण्ड र काँग्रेस–माओवादी राजनीति

बुढानिलकण्ठमा निरौला काण्ड र काँग्रेस–माओवादी राजनीति

कपन अनलाइन

काठमाडौ भाद्र ८ /विचार /केशव राज पाठक 

भनिन्छ राजनीतिमा जति शिष्टता वा जनतामैत्री देखाउन खोजे पनि प्रायः ती सबै पक्षहरु राजनीतिक दाउपेचको एकरुपमात्र हुने गर्दछ । हिजोको आज नराम्रोलाई राम्रो वा राम्रोलाई नराम्रो भन्न कतै सकिन्छ भने त्यो राजनीतिमा मात्र सम्भव छ । यस्तै यस्तै खाले घटना राजधानीको महत्वपूर्ण बुढानिलकण्ठ नगरपालिकामा घटेको छ । ३ महिनाअघि तत्कालिन मन्त्री गगन थापा निजी गाडीमा निर्वाचन क्षेत्रमा आउँदा एउटा पार्टीले वितण्डात्मक सोचका साथ अनर्गल किसिमले पैसा बाँड्न आएको भनेर हल्लाखल्ला गर्यो ।

राजनीतिक दाउपेचमा यसले ठूलो महत्व पायो । यो घटना भएको करिब ३ महिनापछि चुनावसँगै महत्व राख्ने विषयमा अर्काै काण्ड बनेको छ तर यो विषयलाई जुन हिसाबले प्रचारात्मक बनाइनु पर्ने हो अरु दलहरुले बनाउन सकेको देखिएन । हेर्दा सामान्य लागे पनि मतदाता परिचयपत्र बनाउने समय सक्किएको करिब ४ घण्टापछि बुनपाक्षेत्रका चिनिएको एमाले नेताका घरमा फोटो खिच्दै गरेका कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधारण भेटिएको प्रकरण आफै गम्भीर विषय थियो । बुढानिलकण्ठ नगरपालिकामा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेले अपार बिजय हासिल गरेपछिको उर्जालाई सो पार्टीले आगामी चुनाव केन्द्रित बनेर आफ्ना मानिसलाई महत्व दिएर मतदाता थपिरहँदा बाँकी पार्टी भने चुनावी हारको सदमा यति विक्षिप्त बसे कि नाकै मुनी घटिरहेका कतिपय घटनालाई देख्न सकेनन् ।

साउन १६ गतेदेखि शुरु भएको छुटेका मतदाताको फोटो खिच्ने काममा एमाले आफ्नो शक्ति महत्वका साथ प्रयोग गर्यो । कानुनतः गरिने यस्ता कामले पार्टीको भविष्य सुरक्षित हुनु तथा सांगठनिक स्वरुप मजबुत हुने भएकाले आफैमा महत्वपूर्ण मानिन्छ । अलिअलि जसको शक्ति उस्को भक्ति हुनुलाई सामान्यरुपमा पचाउन सकिन्छ । तर भाद्र ३ गते ५ बजे कानुनतः मतदाता फोटो खिच्ने काम सकिएपछि बुढानिलकण्ठ नगरपालिकामा एमाले संगठनको अस्थायी प्रमुख चलाइरहेका दीपक निरौलाले बुढानिलकण्ठ–चक्रपथ मूलमार्गमा रहेको आफ्नो घरको सिसैसिसाको कोठामा बसेर आफूले चाहेका मतदाताको फोटो खिच्ने काम गरे ।

जनताको लागि राजनीति गर्ने भनिएको एउटा पार्टीको सम्भवतः कालो साँझको रुपमा दीपक निरौलाको सो कार्य लिन सकिन्छ । धेरैले यसरी रातारात आफ्ना वा एमालेपक्षीय वा एमालेलाई भोट हाल्ने हाल्ने व्यक्ति छानेर फोटो खिच्ने काम सो दिन मात्र नभै लगातार हुने गरेको बताएका छन् । ३ गते राति फोटो खिच्ने यन्त्र ल्यापटप, कर्मचारी, वडा नं. ९ का जनप्रतिनिधिसहित निरौलालाई प्रहरीले रंगेहात समात्यो र मुचुल्का गरेर महाराजगन्ज प्रहरी प्रभागको थुनामा राख्यो । १ दिन थुनामा बसेपछि निर्वाचन आयोगको मुद्धा भएकोले दोषीहरु छुटे । स्थानीय तह जितको मातमा उम्लिएका निरौलाले गरेको यो कर्तुतलाई उनीसहित एकाध पात्रबाहेक अन्य यस क्षेत्र एमाले नेता वा कार्यकर्ताले मुख आँ गरेर बोलेका छैनन् ।

एमाले नेताहरुको आश्चर्यजनक मौनता

काठमाडौँ क्षेत्र नं. ४ र ५ मा बिभक्त भएको बुढानिलकण्ठका चिनिएको प्रायः सबै एमाले नेताहरु यो विषयमा बोल्न चाहँदैनन । निरौलाले गरेको यो काम गलत भनेर मौन सम्मती दिन्छन् तर पार्टीका नाममा सार्वजनिक स्टेटमेन्ट दिन चाहँदैनन् । कार्यकर्ता लेबलबाट एक दुई जनाले माओवादी र काँग्रेसले भरतपुरमा मतपत्र च्यात्न हुने हामीले राति फोटो खिच्न नहुने जस्ता सस्ता कुराहरु फेशबुकमा लेखेको पाइएको छ । बुनपाको एमाले नेताहरुमध्ये सिनियर उद्धब खेरल जो अहिले नगरपालिकाको मेयर हुन् उनले निरौलाको घरमा भएको काम गलत भएको भनेर विज्ञप्ति निकालेर नगरपालिका कार्यालय खोलेका छन् । उनी पनि यो विषयमा सो विज्ञप्तिबाहेक सार्वजनिक रुपमा अन्य कुनै प्रतिक्रिया दिने मनस्थितिमा छैनन् ।

अन्य चिनिएका नेताहरु क्षेत्र नं. ४ का अध्यक्ष कुसुम कार्की, क्षेत्र नं. ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ, क्षेत्रीय सचिव ध्रुवराज न्यौपाने, जयराम थापालगायत कसैले पनि यो विषय लेखेका वा बोलेका छैनन् । संभवतः गल्ती गरेको अनुभूति सबैले गरेका छन् । प्रहरीले मुचुल्का गरेर सम्बन्धित सबैलाई थुनामा राखेको विषयमा हैन भनेर भन्ने शक्ति सम्भवतः कसैमा छैन । यद्यपि निरौलाले प्रेश विज्ञप्तिमार्फत आफूले आफ्नो घरमा फोटो नखिचेको बताउँदै सो कार्यक्रम तीजको रहेको बताएका छन् ।

किन चुपचाप छ काँग्रेस–माओवादी केन्द्र ?

यो घटना थाहा पाउने पहिलो व्यक्तिहरुमध्ये काँग्रेसका गोकर्ण केसी र माओवादी केन्द्रका रविन अधिकारी हुन् । ३ गते ८.१५ मा यो घटना थाहा पाएपछि गोकर्ण केसीले नेका क्षेत्र नं. ५ का सभापति रमेश खड्का र क्षेत्र नं. ४ सभापति राजु श्रेष्ठलाई खबर गर्ने जमर्काे गरे । रमेश खड्काको पहलमा घटना भैरहेको ठाउँमा प्रहरीलाई बोलाइयो । खड्काकै ठूलो प्रयासमा प्रहरीले मुचुल्का उठाएर निरौला र उनका टोलीलाई लिएर थुनामा राख्यो । बुढानिलकण्ठको यो विषय भोलिपल्ट नै सदनमा समेत उठ्यो ।

यो घटना सार्वजनिक भएको भोलिपल्ट सांसद गगन थापाले यो विषयलाई सदनमा उठाए । निर्वाचन आयोगमा गएर यो विषयमा छलफल गरे थापाले । थापाको पहलमा सांसद शेखर कोइरालासहित निर्वाचन आयोगमा डेलिगेसन गएर छानबिन गर्ने काम अगाडि बढेको छ । तर स्थानीय स्तरमा संलग्न नेपाली काँग्रेसको संगठन भने यो विषयमा खासै सक्रिय देखिएको पाइँदैन । नगरपालिका कार्यालयको ढोका खोल्न नेका क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठको भूमिका भए पनि यो विषयमा जनमत बटुल्न उनी सक्रिय भएको पाइएन । त्यसो त उनी लामो समयदेखि विदेशमै रहेका थिए । स्थानीय तहमा मेयर पदमा हारेपश्चात सभापति श्रेष्ठको बडिल्याँग्वेज निकै निष्क्रिय रहेको देखिन्छ । निरौलाकाण्डको विषयमा भएको एक भेलामा कार्यक्रमको सभापति भएर बोल्ने क्रममा श्रेष्ठले काँग्रेसले नै आफूलाई मेयर पदमा हराएको आशय व्यक्त गरे ।

कांग्रेसले  नै आफुलाई हराएको कारण अहिले नगरपालिकामा एमालेले वितण्डा मच्चाउन पाएको उनको आशय थियो । यद्यपि उनले निरौलाकाण्डको बारेमा भने एउटा विज्ञप्तिसम्म प्रकाशित गरेका छैेनन् । क्षेत्र नं. ५ का सभापति रमेश खड्काले भने घटना भएकै दिन फेशबुक मार्फत घटनाको बिरोध गरेका थिए । बुनपाको सबैभन्दा धेरै एरिया समेट्ने क्षेत्र नं. ४ काँग्रेसको केही नेताहरुले सामाजिक संजालमार्फत निरौला काण्डको बिरोध भए गरे पनि सामुहिकरुपमा नेतृत्व लिने गरी यो विषयमा अगुवाई भएको भने देखिदैन ।

काँग्रेसको यो प्यासिभ रोल देखेर मानिसहरु यस्तो विषय एमालेले पाएको भए आगो बाल्थ्यो तर काँग्रेसलाई चासो छैन भन्ने अभिव्यक्ति दिइरहेको छन् भने एकदुई काँग्रेस कार्यकर्ताले सेटिङ गरेर तैँ चुप मै चुप गरेको भन्ने आसयमा सामाजिक सँजालमा लेखेका छन् । जे जसो लेखे पनि बुनपा काँग्रेसलाई राजनीतिकरुपमा प्राप्त भएको महत्वपूर्ण अवसर उपयोग नगरेको देखिन्छ ।

राष्ट्रिय तथा प्रादेशिक चुनावको मुखमा भएको यो घटनालाई काँगेसले मात्र हैन माओवादी केन्द्रले पनि राजनीतिकरण गर्न चुकिरहेको देखिन्छ । माओवादी केन्द्रले पनि यो विषयमा एउटा विज्ञप्तिसम्म प्रकाशित गरेको छैन । घटना देख्ने व्यक्तिमध्ये बुनपा माओवादी केन्द्र अध्यक्ष रविन अधिकारी आफै भए पनि उनले किन विज्ञप्तिसम्म प्रकाशित गरेनन् भनेर धेरैले चासो राखेका छन् । गृह मन्त्रालयसमेत लिएको माओवादी केन्द्रले यति गम्भीर प्रकृतिको विषयमा किन ठोस आवाज लिएर जनतामाझ गएनन् भन्ने विषय आफैमा सोचनीय बनेको छ ।

निष्कर्ष

यो घटनाको स्वरुप बुढानिलकण्ठ नगरपालिकामा पार्टीको साखसँग जोडिएको छ । नयाँ फोटो खिचिएका ३००० भन्दा धेरै व्यक्तिहरुमा एमालेले पकड बनाएको कुरा अब कसैमाझ लुक्ने अबस्था छैन । स्थानीय तहमा ४ हजारमाथिको लिड गरेको एमालेले नयाँ मतदातामार्फत आफ्नो अबस्था झनै मजबुत बनाएको देखिन्छ ।

यसले एमालेलाई प्रत्यक्षरुपमा आसन्न राष्ट्रिय र प्रादेशिक चुनावमा लिन सक्नेछ । काँग्रेसका एकदमै मजबुत सम्भावित उम्मेदवार गगन थापाको क्षेत्रमा निरौलाले आफ्नो व्यक्तित्व दाउमा राखेर गरेको यो कामले एमालेलाई फाइदा दिने कुरा प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । यहाँको नेपाली काँग्रेसको संगठनले यो विषयलाई एमालेको कालो कर्तूत भनेर अगाडि बढाउन सकेको भए आसन्न चुनावमा यसले नेकालाई फाइदा दिलाउन सक्थ्यो तर क्षेत्रीय सभापतिको सामाजिक सँजालसमेत यो विषय मौन बस्नाले यो विषय पनि नेकाको आन्तरिक विभाजनको छायाँमा परेको अनुभूति गर्न सकिन्छ ।

सदनमा गगन थापाले यो विषयमा बोल्नु तथा निर्वाचन आयोगमा जाने भूमिकामा पनि थापाको अग्रसरमा यो विषय अगाडि बढेपछि गगन थापा बिरोधी भनेर चिनिने यताको संगठन यो विषयमा सक्रिय नुहुनुको पिडा आसन्न चुनावमा काँग्रेसले बोहोर्न सक्नेछ ।

संगठनका हिसाबले अब बुनपा माओवादी केन्दका लागि अर्थपूर्ण  नरहे पनि रविन अधिकारी यो क्षेत्रका जिउँदो जाग्दो नेताको रुपमा सबैले स्वीकार्छन् । सबैले महत्व दिएका अधिकारीले यो विषयलाई चाहेजति महत्व नदिनु र एउटा विज्ञप्तिसमेत नदिनुले माओवादी संगठनले पनि पाएको एउटा महत्वपूर्ण इस्यू मिस गरेको छ । त्यतिमात्र नभै आन्तरिक समस्यामा रुमल्लिएको बुनपा माओवादीभित्र यसले कालन्तरमा अप्ठेरो नै पार्नेछ ।

तपाइँको प्रतिक्रिया ।