अपराध र सुरक्षा विषयमा लेखिएको चर्चित पुस्तक 'ओपन सेक्रेट का लेखक के पि ढुंगानासँगको साहित्यिक वार्ता

P1030901पछिल्ला समय नेपाली साहित्यमा केही नयाँ प्रयोगका पुस्तकहरु चर्चाका विषय बने । तिनै चर्चाका शिखरमा रहेको एउटा पुस्तक के पि ढुंगानाको ओपन सेक्रेट पनि  हो । अपराध र सुरक्षा विषयमा पहिलो पटक नौलो प्रयोगका साथ लेखिएको यो पुस्तक यो वर्षको सर्वाधिक विक्री भएको किताबमध्ये एक हो । सर्वाधिक चर्चा परिचर्चा बटुलिरहेको पुस्तकका बारेमा यस पुस्तकका लेखक तथा नागरिक दैनिकका पत्रकार के पि ढुंगानासँग कपन अनलाइनका सम्पादक केशव पाठकले गरेको साहित्यिक वार्ताः  

 

कपन अनलाइनः पछिल्ला समय पत्रकारितामा हात चलाउनेहरु पुस्तक लेखनमा सक्रिय रहेको देखिन्छ । पत्रकारितामा लाग्नुको फाइदा हो यो ?
के पि ढुंगानाः पुस्तक लेख्ने भनेको दुईवटा विषय हुन्छ । पहिलो, एउटा व्यक्तिको लक्ष्य भनेको भोलिको दिनमा गएर लेखक नै हुन्छु भन्ने टार्गेट राखेर प्रारम्भदेखि नै आफूलाई समर्पित गर्छ बौद्धिक क्षेत्रमा । उ साहित्यकार बन्दछ । दोस्रो, पत्रकारितामा संलग्न भएका व्यक्तिहरु जो लेखकीय स्वरुपम आएका छन् तिनीहरुमा दुई विशिष्टिता रहेको छ । पहिलो, पत्रकारितामा संलग्न भएको व्यक्ति लामो समयदेखि एउटा कुनै विशिष्ट विषय दखल राख्ने, समाचार स्रोतहरुसँग जाने, त्यही विषयको अध्यययन, चिन्तन, मनन गर्ने, विश्लेषण गर्ने र विवेचना गर्ने गर्दछ । यसरी त्यो व्यक्तिलाई एकै विषयमा विशिष्ट ज्ञान एवम् सूचनाको संग्रह हुन्छ । त्यो विशिष्ट ज्ञानलाई आम मानिसमा ल्याउन समाचार र विश्लेषणका क्षेत्रबाटमात्र सम्भव हुँदैन । यसरी विशिष्ट प्रकृतिमा रहेको ज्ञानलाई विशिष्ट प्रकृतिले प्रस्तुत गर्नका निम्ति पुस्तक लेखन सबैभन्दा उत्तम विषय हो । तर आफू दक्ष भएको विषयचाहिँ हुनु पर्यो । पछिल्लो समय नेपालमा जुन किसिमको ट्रेण्ड बसेको छ, यो पनि आफूले जानेको र लामो समयदेखि साक्षात्कार गरिरहेको विषयलाई पुस्तकका रुपमा ल्याउने काम भएको हो । यो सकारात्मक पक्ष हो । एक किसिमको केही गरुँ भन्ने हुटहुटीले पनि पुस्तक लेखाउँछ । हामीले जानेका कुराहरु र पुष्टि भएका कुराहरु, थाहा पाएका तथ्यहरु आम मानिसमा पस्किएर प्रतिक्रिया नलिइन्जेससम्म असहजता महशुस भैरहेको हुन्छ । विशिष्ट किसिमको विषयवस्तु हामीसँग आएर थुप्रिएर बसेको हुन्छ त्यसलाई पाठकहरुसमक्ष प्रस्तुत गर्न पुस्तक विशिष्ट आधार हो । यो नेपालका मात्र ट्रेण्ड होइन । विदेशतिर हेरियो भने पनि साहित्यिक क्षेत्रमा पत्रकारितसँग संलग्न व्यक्तिहरुको विशिष्ट योगदान र विशिष्ट उपस्थिति रहेको छ । तर मेरो बारकोड चाहिँ के हो भने म सुरक्षा र अपराध क्षेत्रमा विगत १२ वर्षदेखि दखल राख्दछु यो अवस्थामा मैले कविता लेखेर चाहिँ हुन्न । मैले जानेका विषयलाई आख्यानिक आधारमा ढालेर पुस्तकको रुपमा आम मानिसलाई जानकारी गराएको हँु मैले । जुन क्षेत्रका बारेमा पुस्तक लेख्नु भनेको यो क्षेत्रका लागि राम्रो पनि हो । पत्रकारितका क्षेत्रका मलगायत अरुले हात हाल्नुका कारण सायद यही नै हो ।
कपन अनलाइनः नेपालमा पत्रकारहरुले पुस्तक लेख्न थालेका लामो समय भएको छैन । पत्रकारिताको जगत फराकिलो हुँदै गएको अहिलेको अवस्थामा पत्रकारको इमेज बोकेको मानिसले पत्रकारिताका माध्यमबाट पुस्तक बिकाउन सजिलो हुने कारणले पनि पुस्तक लेखक बनिहाल्ने प्रवृत्ति बढेको हो कि ?
के पि ढुंगानाः मैले अलिकति अघि पनि भनेँ मुख्य कुरा केही गरुँ भन्ने हुटहुटी नै हो । पत्रकारसँग जुन सूचनाको खानी हुन्छ त्यसलाई आम मानिसमा पुर्याउन उ लालयित हुन्छ । पत्रकारसँग संकलन भएको ज्ञान सिमिति दायराका लागि काम लाग्ने हो कि समाजका लागि पनि काम लाग्ने कुरो हो ? मख्य विषय यहिँबाट सुरु हुन्छ । समाजका लागि पनि काम लाग्ने छ भन्ने निक्र्याेल गरेपछि उ किताबका मार्फत जनमानसमा पुग्ने खालका एक प्रकारका संचारकर्मी नेपालमा हुनुहुन्छ । अर्काे चाहिँ रहरले पनि संचारकर्मीे यो हुलमा मिसिन पुग्छ । लेख्ने त हो समाचार लेखिरहेको छु भने मलाई किताब लेख्नको निम्ति के गारो भो र भन्ने भावना पनि छ यहाँ । पत्रकार भएपछि चिनेजानेको बाटै हजार कपि किताब त बिकाई हालिन्छ भनेर तपाइले भनेझैँ रहरले लेख्नेहरु पनि छन् । फेरि अर्काे एकप्रकारका लेखक पनि छन् ती चाहिँ करले लेखक बन्नेहरु हुन् । फलानो किताब लेखेर लेखक भएर हिरो भैसक्यो, मचाहिँ खाली एउटा पत्रकारको बिल्ला बोकेर वा पहिचान बोकेर किन बस्ने भनेर करले पुस्तक लेखनमा हात हाल्नेहरु पनि छन् यहाँ । मैले भनेको यी तीनवटै समूहको प्रशस्त उपस्थिति हामीकहाँ रहेको छ । तीमध्ये मैले भनेको पहिलो क्याटागोरीको व्यक्ति जो आफ्नो ठूलो ज्ञानको भण्डार र संग्रह समाजमा बाँड्दा उत्तम भन्ने ठानेर पुस्तक लेखेको हुन्छ उसलाई पत्रकार हुनुको वा नहुनुको कारणले किताब विक्नु वा नबिक्नुको सँग त्यति तात्विक अन्तर हुँदैन । किताब बिक्नु नबिक्नुमा किताबको गुणस्तर नै सबैभन्दा ठूलो महत्वको विषय हो यसमा पत्रकार हुनु वा नहुनुले खासै महत्व राख्दैन ।
कपन अनलाइनः पछिल्लो समय केही त्यस्ता उदाहरण पनि आए, पत्रकारका नामका कारण किताबचाहिँ बिक्यो तर त्यो पुस्तक गुणस्तरका कारण त्यति महत्व थिएन । साथै पत्रकारहरु प्रायः उपन्यास लेखनमा दौडेको पाइएको छ । तर आलोचकहरु उपन्यासमा हुने पर्ने गहनता पत्रकारले लेखेको उपन्यासमा पाइएन भनिरहेका छन् । उपन्यास पनि अखबारी भाषाको हुनु पुग्यो भन्ने आरोप लाग्ने गरेको छ के भन्नुहुन्छ ?
P1030897के पि ढुंगाना: रहरले र करले पुस्तक लेख्ने संचारकर्मीहरुको संख्या बढिरहेको छ । अझ यसो भनौं अबपछिका दिनमा म यो संख्याको भेल नै आउने अवस्था रहेको छ । धेरै सञ्चारकर्मी साथीहरु लेखकका रुपमा उदाउँदै हुनुहुन्छ । यीमध्ये कोही लेखक महासागरको रुपमा उपस्थित हुन्छन् भने कोही सामान्य खहरेको रुपमा । त्यसैले छानेर पढ्नु नै पाठकको बुद्धिमानी हो । चर्चाको हिसाबले कोही पाठकले एउटा पुस्तक किन्यो तर ज्ञानको हिसाबले त्यो खोस्टो रहेछ भने यो पुस्तक नै त्यो लेखकको अन्तिम पुस्तक हुनपुग्दछ ।
अखबारी लेखनको शैलीको कुरा गर्दा पत्रकारितामा लागेकाहरुको अखबारी शैली आउनु अनौठो कुरा होइन । तर त्यो सहज, सरल र बोधगम्य छ भने त्यसलाई ठूलो रुपमा लिन पर्दैन । हामी समाचार लेख्दा पनि हजुरआमाले बुझ्ने शैलीमा समाचार लेख्नु पर्छ भनेर प्रशिक्षित भएका मानिसहरु हौं । त्यसैले पत्रकारितामा लागेका मानिसहरुको लेखनमा कहिँकतै अखबारी छाप आउनु स्वभाविक हो । कुनैकुनै पत्रकारले अत्यन्तै बौद्धिकखालको पुस्तक पनि लेख्नु भएको छ ।
कपन अनलाइनः आम पाठकहरुलाई पुस्तक जति सरल भयो उति उसलाई अध्ययन गर्न सहज हुँदो हो तर साहित्यिक क्षेत्रका वौद्धिक पाठकहरु तथा आलोचकचाहिँ साहित्यिक कृति हुनका लागि चहिँ भाषागत गहनता र गहिराई भएको हुनै पर्छ भनिन्छ नि । त्यसैले अहिले पत्रकारहरुले लेखेको पुस्तकचाहिँ केही समयका लागि बिक्ने पुस्तकमात्र भएर रहने हो कि ? तत्कालका लागि ५ १० हजार किताब बिक्ुनसँग मात्रै पुस्तक महत्व साँटिएको आभाष हुँदैन ?
के पि ढुंगानाः जुन सुकै क्षेत्रमा ट्रेनसेटरहरु निकै कम हुन्छ । माधवीले जुन किसिमको ट्रेन सेट गर्यो, पछिल्ला समयमा आएर पल्पसा क्याफेले जुन ट्रन सेटअप गर्यो साथै कर्णालीब्लुजले जुन ट्रेन सेटअप गरिरहेको छ यी सबै नेपाली साहित्यिक क्षेत्रका टर्निङ पोइन्ट हुन् । माधवीको भाषा पल्पसा क्याफेमा पाइँदैन, पल्पसा क्याफेको भाषा कर्णाली ब्लुजमा पाइँदैन । भाषामा क्लिष्टमा मात्र भएर मात्र राम्रो हुने होइन । त्यस्तो हुने हो भने सबैभन्दा क्लिष्ट भाषा कानुनका मिसलहरु जति क्लिष्ट नेपालमा केही छैन । ती त पुस्तक बन्न सक्दैनन् । साहित्यमा आख्यान र गैर आख्यान दुई विधा हुन्छन् यदि तपाइँ आख्यान लेख्नु हुन्छ भने सरल र वोधगम्य हुनै पर्छ । सामन्य विषयलाई केलाई केलाई लेखिएका आख्यानहरु पनि लेखिएका छन् आजभोलि । सेतो धर्ति पढ्यौं भने त्यसको मिठास हामी पृथक मिठो पाउँछौं । आञ्चलिक भाषा प्रयोग गरिएको छ । यसो भनिरहँदा कालजयी किताब अहिले लेखिइरहेको छ भन्ने पनि होइन । अबको २० वर्षपछि वा ५० वर्षपछिका मानिसले पढ्दा पनि वाह भन्ने खालका रचनकाचाहिँ छिटफुट नै छन् ।
P1030912कपन अनलाइनः यहाँले आफ्नो पुस्तक ओपन सेक्रेट को ल्पटचाहिँ कसरी तयार गर्नु भयो ?
के पि ढुंगानाः मैले पुस्तकमा जे जे सामग्री प्रस्तुत गरेको छु मैले त्यो पुस्तक लेख्नका लागि भनेर तयार गरेको हैन । विगत १२ वर्षदेखि म जुन क्षेत्रमा संलग्न छु, मैले यही क्षेत्रको लागि समाचार लेख्नका लागि भनेर नै यी सामाग्री तयार पारेको हुँ । तर समाचार लेख्दाखेरी निश्चित दायारा, पद्धति, सीमाहरु हुन्छन् । मसँग भएका सामग्रीलाई सबै समाचार बनाउँछु भन्दा त्यो मैले काम गर्ने पुरै अखबारमा एउटै खबर हुन सक्ने हुन्छ । त्यसैले यत्रो समाचार भनेर सीमा हुन्छ, त्यत्रै समाचार लेख्नु पर्ने बाध्यता हुन्छ ।
अपराध, राष्टिय सुरक्षा, अन्तरदेशीय अपराधजस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै जाँदा यस्ता विडम्बनापूर्ण तथ्य र तथ्यांकहरुसँग मैले साक्षात्कार गर्न पाएँ कि मलाई एक किसिमले के गरुँ के गरुँ भयो । यो तथ्यलाई मैले समाचारको रुपमा प्रस्तुत गर्दा त्यो लाक्षणित रुपमामात्र संभव भयो । किनकी यसमा दुई देशको सम्बन्धको सीमा हुन्छ । त्यसैगरी प्रकाशक र सम्पादकको सीमा हुन्छ । मैले अनुसन्धान गर्दै जाँदा मलाई के लाग्यो भने मैले उठाएको विषय नौलो पनि हैन, सत्ता संचालकहरु जानकार पनि छन् । समाचार संकलन गर्ने क्रममा सत्ताका संचालकहरुसँग पनि नजिक भएँ । सत्ताका संचालकहरु यो विषय बारे जानकार छन् । तर आम जनमानस पूर्ण जानकार छैन, मेरो छिमेकी वा भनौं मेरो परिवार नै यो विषयमा जानकार छैन । यी सबै वर्गलाई जानकार गराउन पुस्तक सजिलो माध्यम हो भन्ने मैले ठहर गरेँ । अब मात्र मैले पुस्तकलाई गर्ने मेहनत गर्न सुरु गरेँ ।
कपन अनलाइनः यहाँले जुन विषयमा किताब लेख्नु भयो यो आमरुपमा नेपालमा लेखिने विषय हैन । तपाइँ स्वयम् र सरोजराज अधिकारीले यो विषयमा कृति तयार गर्नु भयो । अब किताब नै बनाउँछु भनेर चाहिँ कहिले सोच्नु भयो ?
P1030909के पि ढुंगाना ः ०६६ को सेरोफेरोतिरको सुरुवात हो यो । जब ०६६ माघ २७ मा जमिम साहको हत्या भयो । यो हत्यासँगको पाटो यति गम्भीर देखियो यो घटना ०५५ सालको घटनासँग जोडियो । ११ वर्ष अघि र पछिको घटनामा धेरै कुरा मेल खाएको बुझेपछि मलाई के लाग्यो भने जो योजनाकार हो त्यो कति बलियो होला ? बीच बीचमा बुटवल तथा नेपालगञ्जका घटनाले पनि यो विषयलाई पृष्ठपोषण गरेको देखियो । ०६६ सालमा केही सिरिजवाइज घटना भएका छन् अन्तर्राष्टिय अपराधको । जेलमा गएर गोली हानिनु साथै घण्टाघर अगाडिको गोली काण्ड यसका उदाहरण हुन् । मलाई यी विषयले साह्रै उकुसमुकुस बनायो । अनि म ०६६ माघपछि किताब लेख्ने सुरमा पुगँे ।
विश्वभरीका दृष्टान्त हेर्ने हो भने विषयवस्तु गैरआख्यान र शैली आख्यान भएको रचनाहरु बढि चलेका छन् । मैले यो पुस्तक लेख्ने भनेको सामान्य पाठकलाई हो । लाजिम्पाटमा दिउँसै एउटा मानिस किन मारिन्छ भन्ने कुरा आम मानिसलाई बुझ्न सजिलो होस् भन्ने मेरो ध्येय यो पुस्तकमा रह्यो । प्रहरी कार्यालयको ५० मिटरको दुरीमा रहेको घण्टाघर छेउमा मु्स्लिम समुदायको मानिस मारिन्छ, कस्ले मार्यो थाहा छैन भने मैले यो बारे आफूसँग भएको तथ्यलाई किन सहज र सरल रुपमा सामान्य मानिसमा नल्याउने त भन्ने सोच नै यो पुस्तक हो । त्यसैले यो गैर आख्यानिक शैलीको आख्यान हो । तर यो गैर आख्यान पुस्तक हो । यो पुस्तकमा भएका संवादहरु सबै तथ्यमा आधारित छन् । संवाद मात्र नभई पात्र, परिवेश, घटनासमेत पनि तथ्यपरक छ । करिब ३ वर्षको मेहनत हो यो पुस्तक ।
कपन अनलाइनः समाचार लेख्ने मानिसलाई एउटा कृति त्यो पनि उपन्यास लेख्ने आत्मबल कसरी प्राप्त भयो ? कोही स्वदेशी वा विदेशी लेखक वा लेखनबाट प्रभावित हुनु भयो ?
के पि ढुंगानाः नेपाली कृति बजारमा गैरआख्यानात्मक पुस्तकहरु निकै कम छ त्यो पनि विषयगत झनै कम छ । अझ सुरक्षा क्षेत्रका किताब त हुँदै नभएको अवस्था पनि थियो । सुरक्षा भनेको सबैलाई एकदमै ठूलो सरोकार राख्ने विषय पनि हो । पठन संस्कृतिका आधारमा विश्वबजार हेर्ने हो भने क्राइम र सेक्युरिटिमा लेखिएको पुस्तकहरु नै बेस्ट सेलर बनेका हुन्छन् । मेरो स्वभाव पहिलेदेखि नै गैरआख्यानिक क्षेत्र थियो । नेपालमा पार्टीमा गएर आएको एक कारले बिर अस्पताल अघि केही मानिसलाई मारेको कुरालाई फलोअप गरिरहँदा मैले डायनाको मृत्युसँग घोत्लिन मन लाग्यो । उनी पनि सडक दुर्घटनामा मरेकी थिइन् । डायनासँग रहेका केही महत्वपूर्ण तथ्य तथा एक पुस्तक पनि अध्ययन गरेँ । यो पुस्तकले मलाई केहीमात्रामा किताब लेखनतिर अकर्षित गराएको हो । त्यसैगरी रसियन ग्यांगस्टार, जापानिज माफिया साथै भारतमै भएको मुम्बइ बम ब्लास्ट, भोपाल ग्यास काण्ड आदिमा लेखिएका पुस्तकहरुका अध्ययनले पनि मलाई पुस्तक लेखनमा तानेको हो ।
कपन अनलाइनः कृतिको कुरा गर्दा यो खालको साहित्य कति टिक्ने खालको हो ? तपाई यो कृतिले कति लामो समय बचाउला ?
के पि ढुंगानाः मलाई लामो समय टिकाउला जस्तो लाग्छ । किनभने सामान्य विषयबस्तुलाई मिठो बनाएर पस्केको पुस्तक हैन यो । मेरो सस्तो प्रयास पटक्कै हैन यो । यो देशको राष्टियतासँग जोडिएको विषय हो, देशको सुरक्षासँग जोडिएको विषय हो । राष्टभित्र भएका व्यक्तिहरुको गद्धारी साथै राष्ट बाहिर भएका सहयोगीहरुको गद्धारीलाई पर्दाफास गरिएको पुस्तक हो यो । यस्ता किताब बिरलै निक्लन्छ भन्ने लाग्छ मलाई । यहाँ ४० वर्ष पत्रकारिता गर्नु भएको अग्रजहरु हुनुुहुन्छ । उहाँहरुले यो विषय लेख्नु भएको भए मैले यो विषय उठाइरहन पर्दैनथ्यो । पुस्तक नै लेख्ने भए त म जे विषयमा पनि त कलम चलाउन सक्थेँ नि । यो चुनौतिपूर्ण विषय हो । यो चुनौति सामना गर्नु पनि सजिलो छैन । यो विषयमा कलम चलाउनु पूर्व मुटु पनि ठूलो हुनु आवश्यक छ । त्यसैले मलाई प्रशस्त आयु भएको विषय हो यो जस्तो लाग्छ । मैले कल्पना नै नगरेका पाठकहरु पाएको छु मैले । टिनएजरहरुसमेत पुूस्तक पढिरहेका छन् ।
कपन अनलाइनः ओपन सेक्रेट ले उठाएको विषयका कारणले यो पुस्तक पनि राम्रो चल्यो । यदि यो विषयवस्तु बिनाको लेखनको कुरा गर्ने हो भने चाहिँ तपाईं किताब लेख्ने क्षमताको मानिस हो कि हैन ?
के पि ढुंगानाः म मेरो विषयवस्तुभन्दा बाहिर गएर लेखक बन्ने क्षमताको मानिस हैन । मेरै विषयवस्तुका लागि मात्र म दक्ष । म यहाँबाट गएर डाँडामा बसेर गाउँलेहरुको जीवनीमा आधारित भएर उपन्यास लेखुँ भन्दा म सक्दिन । म हावा चलेको देखेर वा पानी परेको देखेर कविता लेख्ने क्षमताको मानिस हैन । म आख्यान लेख्न सक्दिन, म गैर आख्यान लेख्न सक्छु तर कृषिसम्बन्धि गैर आख्यान लेखँु भनेर पनि म सक्दिन । सुरक्षा र अपराध नै हो मैले केही लेख्ने क्षेत्र वा विषय । यो विषय मबाट झिकिदियो भने म फगत पाठक हुँ ।
कपन अनलाइनः यो विषयबाहेक अरु क्षेत्रमा म लेख्न सक्दिन भनिरहनु भएको छ । नेपाली साहित्यले तपाइँलाई बचाउला ?
के पि ढुंगानाः म लेखक नै बनिरहनु पर्छ भन्ने त्यस्तो ममा हुटहुटी पनि छैन । मबाट दोस्रो पुस्तकको आशा राख्ने ठूलो जमात भइसकेका छन् । म जहाँ जान्छु सँग अर्काे किताब कहिले निक्लन्छ भनेर जिज्ञासा राख्नेहरुको ठूलै लाम लाग्ने गर्छ । तर दास्रो किताबका बारेमा मलाई नै थाहा छैन । मैले दोस्रो किताब लेख्नै पर्छ भन्ने पनि छैन । यो मेरो पहिलो र अन्तिम दुइटै कृति पनि हुन सक्छ । मनमा भएको सबैभन्दा ठूलो हुटहुटी मैले पोखिसकेँ । पछि उब्जिन पनि सक्छ । पत्रकारिता अनुसन्धान विश्लेषणको पेशा हो । दाल भात तरकारीका म दैनिक सक्रिय रहन्छु । अहिले पनि यो समाजलाई नै हल्लाउने किसिमको केही तथ्य मसँग छ । अध्ययन अनुसन्धानमा व्यस्त छु । यसले मलाई किताब लेख्न प्रेरित पनि गर्न सक्छ ।
कपन अनलाइन ः अमर न्यौपानेको सेतो धर्तिले तपाईंको यो किताबलाई चर्चा परिचर्चा बटुल्ने मौका कम दियो भन्ने गरिन्छ । पछि सरोजराज अधिकारीको चक्रब्युहमा चन्द्र सूर्य प्रकाशनपछि पनि तपाइँलाई अलि छायाँ पार्यो भन्ने तपाईलाई पनि लाग्छ ?
के पि ढुंगानाः सेतो धर्ती मेरो पुस्तक प्रकाशन हुनुभन्दा ३ महिना अघि प्रकाशन भएको हो । सेतो धर्तीको र मेरो पुस्तकको प्रकाशन गृह पनि एकै हो । अमरजीको आख्यान हो, विशिष्ट शैलीको छ । मेरो गैर आख्यान विषयको आख्यान थियो । उहाँको मेरो पुस्तकीय क्षमता तथा शैली नै फरक फरक हुन् । त्यसैले प्रतिस्पर्धा पनि खासै छैन । मैले लेखेको अपराध र सुरक्षा नेपालका लागि भर्जिन विषयबस्तु थियो त्यसैले मेरो पुस्तकप्रतिको चासो अलि बढि नै भयो । १० दिनमा पहिलो प्रिन्टको ५००० पुस्तक सकियो । पुस्तक यति बिक्यो कि पुस्तकमा भएका केही गल्ति अझै सच्याउन पाइएको छैन ।
सरोजराज अधिकारीजीको किताब बजार आए पछि पाठकहरुलाई च्वाइस भएको चाहिँ पक्कै हो । एउटै विषयवस्तुका दुई किताब भएका कारण । पाठकले छानेर पढ्ने मौका पाए । त्यसपछिबाट अलि किताब बिक्रीको गति अलि स्लो भएकोचाहिँ हो । तर ओपन सेक्रेट र चक्रब्युहमा चन्द्र सूर्यका धेरै पक्ष फरक छन् । सरोजजीले आफ्नो पुस्तकमा घटनाको राजनीतिक विश्लेषणलाई जोड दिनु भएको छ मैले घटनाको वास्तविकतालाई बढि जोड दिएको छु । मेरो पुस्तक लेखेको ६ महिनापछि सरोजजीले यसै विषयमा पुस्तक लेख्नु भयो । मलाई लाग्छ यस विषयमा अब थुप्रैले कलम चलाउनेछन् ।
कपन अनलाइनः तपाई आफ्नो किताब बढि बिकेकोले सन्तुष्ट भएको मैले पाएँ । एउटा लेखक रमाउनेचाहिँ पुस्तक विक्रीमा नै हो ?
के पि ढुंगानाः एउटा लेखक रमाउने पाठकको प्रतिक्रियामा हो । तर पाठकले प्रतिक्रिया दिनका निम्ति त किताब त बिक्न पर्यो नि । बौद्धिक पाठक तथा समालोकहरुले मेरो पुस्तक रुचाउनु भएको छ । यस्तै विषयमा रमाउने त हो नि लेखकले । त्यसो त म चिन्तित पनि छु, १२ वर्ष लगाएर मैले आफूलाई सञ्चारकर्मी भनेर स्थापित गरेको छु । यो पत्रकार के पि ढुंगानाको परिचयलाई यो पुस्तकले एकै वर्षमा खाएको अनुभव गरिरहेछु । अहिले मलाई ओपन सेक्रेटको लेखक भनेर चिन्नेहरुको संख्या बढेको छु ।
कपन अनलाइनः पल्पसा क्याफेपछि नारायण वाग्लेले मयुर टाइम्स लेखे । नारायण वाग्लेको किताब भनेर मयुर टाइम्स पनि धुमधडाका बिक्इो तर गुणस्तरको आधारमा खासै केही चर्चायोग्य पक्ष नरहेको धेरैले महशुस गरे । किताब बिक्नु नै मात्र पनि ठूलो कुरा त होइन रहेछ नि ?
के पि ढुंगानाः कतिपय प्रतिशत पाठक मलाई पढेर सन्तुष्ट भए भन्ने कुरा सबैभन्दा महत्वपूर्ण विषय हो । अहिलेसम्म जति पनि समालोचना भएको छ सबैले महत्वपूर्ण कृति भनेका छन् । शत् प्रतिशत पूर्ण त हैन तर राम्रो छ भन्ने कुरामा सबैको समान राय भेटेको छु । सबै नेपालीले अनुभव गरिरहेको डर र जिज्ञासा यो पुस्तकले मेटाएको छ । राजनीतिक दलका नेताहरु पनि यो पुस्तकबाट सन्तुष्ट पाएको छु मैले । नेपाली साहित्यलाई यो नौलो अनुभव पनि हो त्यसैले सबैले सकारात्मक प्रतिक्रिया दिएको अनुभूत गरेको छु ।
कपन अनलाइनः आफै आफ्नो कृति समिक्षा गर्दा कस्तो पाउनु हुन्छ ?
के पि ढुंगानाः मैले ८ वटा व्यक्तिमा केन्द्रित विषबस्तुमा यो पुस्तक लेखेको हुँ । जसमा सातजना मारिएका र एकजना मार्ने प्रयास मात्र भएको र नमरेको पात्रहरु मेरो पुस्तकमा छन् । यी ८ व्यक्तिमा आधारित भएर फैलिएको अपराधको जालोलाई यो पुस्तकले समेटेको छ । यो अपराधको जालोमा पनि एउटा राज्यमा अर्काे राज्यको सुरक्षा अंगले आफ्नो स्वार्थ पूरा गर्नका निम्ति अर्काे राज्यमाथि मच्चाएको आतंक हो यो । त्यसकारण छिमेकीको सञ्जालभित्र जति प्रवेश गर्न सक्नु पर्ने हो त्यति प्रवेश गर्न नसकेको हो । नेपालमा पनि रहेर तिनीहरुको पृष्ठपोषण गर्नेहरुलाई जति हदसम्म नंग्याउनु पर्ने हो त्यसमा पनि मेरो केही कमजोरी रहेको छ । यद्यपि यसमा दायरा र सिमितताहरु थिए । देशको डरलाग्दो अवस्थालाई चित्रण गर्नु पर्दाका केही दायारा र सिमितताबीचको डरलाग्दो अवस्थाको चित्रण हो यो । किताब प्रकाशन पूर्व यो किताबका बारेमा कुनै पनि हल्लाखल्ला गर्न मिल्ने अवस्था थिएन यति थोरै पनि हल्ला हुन्थ्यो भने यो किताब निकाल्न नदिने षडयन्त्र हुने सम्भावना व्यापक थियो ।
कपन अनलाइनः यहाँलाई यो केही कमजोरीको आभाषचाहिँ सरोजराज अधिकारीको पुस्तक निस्किए पछि बढि लाग्यो कि ?
के पि ढुंगानाः हैन । मलाई पहिल्यै नै अनुभव थियो । मेरो पहिलो किताब हो । सरोजजीको यो तेस्रो किताब हो । मेरो पुस्तकको निष्कर्ष र उहाँको पहिलो खण्डको पनि निष्कर्ष समान भएकोले सफल नै भएको छु जस्तो लाग्छ । मैले लेखेको पुस्तकलाई यदि कुनै बेला चुनौतिको अवस्था आयो भने मैले सप्रमाण पुष्टि गर्न सक्छु भन्ने आधारका विषयलाई मात्र बढि फोकस गरेँ । प्रामणिकता बाहेकका कुनै पनि कन्टेन्ट मैले प्रस्तुत गरेको छैन । मैले मेरो पुस्तकमा उल्लेख गरेका कतिपय व्य्रक्तिहरु अहिलेपनि नेपालमा प्रभावशाली व्यक्तिहरु हुन् । त्यसैले डकुमेन्टसहितको प्रमाण भएका तथ्यहरुका आधारमा तयार भएको पुस्तक हो यो । म यो पुस्तकमा एक इन्च पनि दायाँ बायाँ हल्लिएको छैन । म कपनअनलाइन मार्फत पनि चुनौति दिन्छु म मेरो पुस्तकमा लेखेको एउटा लाइन , एउटा डाइलग, एउटा व्यक्तिको नाम, एउटा घटनाक्रम पनि गलत पुष्टि भएमा म मार्केटमा गएका सबै पुस्तकका पाठकलाई पैसा फिर्ता तयार छु । र ती किताब रत्नपार्कमा जलाइदिन्छु । मैले लेखक बन्ने पर्छ भनेर किताब लेखेको हैन । त्यसैले म गम्भीर पनि छु र कन्फिडेन्ट पनि छु ।

तपाइँको प्रतिक्रिया ।