उत्तरदाहित्व बिहिन अहिलेको मिसन पत्रकारिता
● मोहनराज बराल “मुन”
सामान्यतया पत्रकार भन्ने बित्तिकै सही विल्कुलै साँचो समाचार सम्प्रेशण गर्ने बुझिन्छ । सत्यको बारेमा आवाज उठाउने । न्याय र समानताको बारेमा बोल्ने । स्वतन्त्र र मानव अधिकारको बारेमा लड्ने भएकाले नै यो राज्यको महत्वपूर्ण चौथो अंग हो । कतै घटना घटे भने सत्य र यथार्थ कुराहरु जनतामा ल्याउने काम पनि पत्रकार ले नै गर्दछन ।
पत्रकारिताका माध्यमबाट जनमत निर्माण, परिचालन गर्ने मात्र होइन सरकारलाई सचेत पार्न सकिन्छ । यसैले प्रेसको भूमिकालाई लिएर बेलायतका प्रसिद्ध राजनीतिज्ञ एडमन्ड वर्कले पत्रकारितालाई राज्यको चौँथो अंगको संज्ञा दिएका थिए ।
नेपालको पत्रकारिताको ईतिहासलाई नियाल्ने हो नेपालमा सन् १८५१ तिर जंगबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्याएपछि मात्र विधिवतरुपले प्रवेश पायो । यसैलाई गिद्धे प्रेस भनिन्छ । बि.स. १९५५ मा पहिलो पटक सुधासागर साहित्यिक मासिक पत्रिका प्रकाशन भएको देखिन्छ । यसरी हेर्ने हो भने पनि नेपालमा पत्रकारिताको इतिहास धेरै पुरानो भईसक्यो । २००७ सालको परिवर्तनसँगै नेपालमा ब्यवसायिक रुपमा नै पत्रकारिताका अभ्यासहरु हुन थालेको हो । तर २०४६ सालको परिवर्तनसंगै ब्यवसायिक रुपमानै पत्रकारिता फस्टाउन थाल्यो । तर हाल हाम्रो देशमा पत्रकार र पत्रकारिता एउटा झोले शैलिमा रुपान्तरण भएको छ । यो आज मात्रै होइन हिजो पनि त्यस्तै थियो । अस्तीका दिनहरुमा पनि त्यस्तै नै थिए । नेपालमा २०४६ सालको परिवर्तनसंगै मिडिया र मिडियाकर्मिहरु पनि थुप्रिए । नयाँ नयाँ प्रविधिहरु भित्रिए । तर बिकास र ब्रिद्धी संगै मिडियाकर्मिहरुको मानसिकता र न्याय सम्पादनमा सन्कुचित राजनीतिक स्वार्थता उही नै भए ।
हाम्रो देशमा आ-आफ्नै शैलीको पत्रकारिता गर्ने मिडिया हाउसहरु रहेका छन । जसमध्ये एउटा मुख्य हाउस सरकारी मिडिया हाउस हो । यो हामीले तिरेको करबाट सन्चालित हो । यसमा राज्यको लगानी रहेको हुन्छ । तर पनि यसको वर्गमा जनता र देश पर्दैन । त्यसका सम्पादकहरु स्वतन्त्र हुनुपर्ने हो । तर हामीकहाँ जस्तो सुकै बलिदानबाट ठुला ठुला परिवर्तन भएता पनि यिनका काम भनेको ‘गोयवल्स’ हुनु हो । हिजो पनि यही प्रथा थियो । आजपनि यही नै छ प्रथा । यिनको काम भनेकै सरकारको भजन गाउनु हो । बिपक्षीले सरकारको बिरोध गर्यो भने बिपछी नेता या पार्टिहरुको विगतका कमी कमजोरीहरुको बारेमा खोजी पत्रकारिता गर्नु हो । अहिले गणतन्त्र आयो तर यिनका सम्पादकहरु “नयाँ सिसीका पुरानो झोलहरु” झैं हुन ।
जतीवेला नेपालमा सरकारी मिडीया मात्रै थियो र अन्य मिडियाहरु प्रतिवन्धित थिए, त्यो बेला मुलुकमा युद्ध या आन्दोलन भएको बेला, पञ्चायतकालिन अवस्थाहरुमा सरकारी मिडियाको एक छत्र राज थियो । जनताको आँखा अगाडि राज्यले गरेको दमनलाई सदर गर्दै राज्यका मिडियाहरु प्रसारित हुँदा राजनीतिक पार्टीमा आस्था राख्ने, देशको राज्य सत्ताले गरेको दमन विरुद्ध गरिएका पत्रकारितापनि आन्दोलनका बेलामा साच्चै नै ति जनता कै मिडिया भए । तर जब २०४६ साल पछी देशमा राजनैतीक परिवर्तन भयो, तीपनि पार्टीका मिडिया हाउस भए । पार्टीका झोले पत्रकारितामा रुपान्तरण भए । आन्दोलनताका राष्ट्रियता तथा जनजिविकाको बारेमा पत्रकारिता गर्ने त्यस्ता मिडियाकर्मिहरुले नेताका गुणगान, पार्टिलाई नाफा कसरी बनाउन सकिन्छ भनेर पत्रकारिता गर्न थाले । पार्टीलाई फाईदा छ भने तिललाई पहाड बनाउने तर घाटा हुनेछ भने पहाडलाई तिल बनाएर पत्रकारिता गर्ने नै यिनिहरुको मुख्य धर्म हुन्छ । यसो गरेबापतको ब्याज भनेको भोली पार्टी सत्तामा पुग्यो भने पार्टीको मुखपत्र या पत्रीकामा सरकारी बिज्ञापन, पत्रकारको फुली लगाएर मन्त्रीहरुसँग देश विदेश घुम्ने तथा सरकारी मिडिया हाउसहरुमा ‘टिके’ सम्पादक हुने हो । यो जनता प्रती हैन कि पार्टी प्रतिको वफादार “मिसन पत्रकारिता” हो ।
२००७ साल पछि नेपालमा ब्यवसायिक रुपमा नै पत्रकारिताका अभ्यासहरु हुन थालेको हो । तर २०१७ सालमा पन्चे आगमन सगै यिनमा अंकुस लगाइयो । २०४६ सालमा परिवर्तन भयो । तब नयाँ नयाँ मिडियाहरुको पनि जन्म भयो । प्राइभेट रुपमा मिडियाहरुको पनि जन्म भयो । त्यस्ता मिडियाहरु आफुलाई मुलधारको भन्न मनपराउँछन् । यिनीहरु आफुलाई स्वतन्त्र मिडियाकर्मी भनेर चिनाउँछन् । हुनपनि हो, स्थापना कालदेखी २०६२, ६३ सालसम्म हेर्दा यिनीहरु मुलधार, स्वतन्त्र र सत्य तथ्य कुराहरु बाहिर ल्याउने नेपालकै ठुला मिडिया हाउसहरुनै हुन । हिजो यिनले जनताको न्यायको लागि स्वतन्त्रता र मानवअधिकारको बारेमा ज्ञानेन्द्रको बन्दुक सँग लडेकै हुन । यिनले शाही सत्ताबाट आठौ दलको आरोप खेपेकै हुन ।
भारतका लोकप्रिय कवि अकबर इलाहाबादीले यसरी भनेका थिए, ‘जब तोपको मुकाबिला गर्नु छ भने अखबार निकाल !!! आखिर त्यो बेलामा यी कबिको भनाई जस्तै भए । फलत: २०६२,६३ को आन्दोलन सफल पनि भयो । तर आज आएर हिजो गरेको लडाईंको व्याज खाने काम मात्रै भैरहेको छ । स्वयम आँफैमा ब्यबसायिक पत्रकारिता गर्ने हाउस हुन । अफसोच राज्यलाई तिर्नु पर्ने कर, भ्याट आँफै छलीरहेका छन । बैंक ठग्ने, कर नतिर्ने काला व्यापारीहरु यिनको खोजी पत्रकारीतामा पर्दैनन । त्यस्ता समाचारहरुलाई यिनले आफ्नो व्यबसायमा जोड्छन । नाफा घाटामा तौलिन्छन् ।
जब नेपालमा द्वन्द भयो, लडाईं भयो त्यो बेला राज्य र विद्रोही दुबै पक्षबाट मान्छे मारिए । त्यो बेलामा शान्ति र लोकतन्त्रलाई उठान गर्दै पत्रकारिता गर्नेहरु पनि थिए । तर हाल यिनका पत्रकारिता भनेको कुनैलाई अँगाल्ने र कुनैलाई बिरोध गर्ने एक तर्फी शैली मात्रै भैरहेछ ।
फेरी हिजोआज परोपकारी पत्रकारिता भन्ने सुनिन थालीएको छ । यसमा स्वयम केही पत्रकार लागेका छन । यसरी पत्रकारिता गर्नेहरुले राज्य र जनता प्रती साच्चै नै उत्तरदायी भएर पत्रकारिताको धर्म निर्वाह गरिदिने हो भने राज्यलाई लुट्ने लुटेराहरुबाट करोडौ रुपैयाँ कर उठ्न सक्छ । यसरी पत्रकारिता गर्नेहरुले जनता र राज्यलाई घचघचाउने हो भने एक गरीबको भागमा एक जोर कपडा हैन सिप उपलब्ध हुन्छ । यसरी राज्यलाई नै कमजोर बनाउँदै लगिएको छ, राज्यलाई नै उत्तरदायीविहिन बनाईएको छ ।
आफ्नो व्यक्तिगत र निजि स्वार्थ पुर्ति गर्ने थलो होइन पत्रकारीता । यो त आम जनताको बोलि बोल्न सक्ने र जनताको हितमा लाग्न सक्ने एक स्वच्छ पेशा हो । तर अहिले यसप्रकारको कार्य पत्रकारीता पेशाबाट हुन सकिरहेको छैन । अत : हाम्रा पत्रकारिता आफ्नो स्वार्थ अनुकुल नभए त्यो विरुद्ध रिसिबी साध्ने सबैभन्दा सजिलो माध्यम भएको छ । जघन्य झुटका कुराहरु छापिएको पूस्टि भैसक्दा पनि हाम्रा सम्पादकहरु क्षमा याचना गर्दैनन । भारतमा ठुला र मुल धारका भनिएका मिडियाहरुले आफ्नो वेब साइट्मा आफ्नो पत्रीकाको आम्दानी खर्चको बारेमा खुलस्त जानकारी दिन्छ । तर हाम्रोमा यस्तो छैन । बरु बिज्ञापनको लोभमा काला व्यापारीका कर्तुतहरुलाई “चुपचाप मौन समर्थन” गरिन्छ । बिज्ञापन पाइएन भने त्यसको बिरुद्धमा खोजी पत्रकारिता गरिन्छ । यस्ता हाम्रा पत्रकारिता न त देश न त जनताको हित मा नै छ । फगत दायित्व बिहिन छन् । फगत आफ्नै लागि मात्रै एकोहोरो मिसन छ ।
(साभार नेपाल प्लस)