एमाले उम्मेदवारलाई आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग

 कपन अनलाइन, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा (एमाले) तर्फबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवार अम्बिका रुपाखेतीसँग चौबीस घन्टे स्पष्टीकरण सोधेको छ ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको सिलसिलामा एमाले उम्मेदवारले आज तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवम् दल र निर्वाचन चिह्नसहितको टि–सर्टलगायत निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ विपरीत मोटरसाइकल र्याली निकालेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न आदेशानुसार अनुरोध छ ।”

धादिङको निर्वाचन तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन आज धादिङबेँसी पुग्नुभएका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव स्वयम्ले स्थानीय सिम्लेमा उम्मेदवारहरुले आचारसंहिता विपरीतका गतिविधि गरेको फेला पार्नुभएको थियो । सो क्रममा डा यादवले तत्काल र्याली रोक्नसमेत निर्देशन दिनुभएको थियो । (फाइल फोटो)

तपाइँको प्रतिक्रिया ।