तीन सयभन्दा बढी निर्विरोध

कपन अनलाइन 

काठमाडौँ, २५ वैशाख । स्थानीय तहको पहिलो चरणको यही वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनेमध्ये तीन सय १६ जना विभिन्न पदमा निर्विरोध भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मनाङको नारफु गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका मिङमानर छिरिङ लामा र डोल्पाको शेफोक्सुण्डोमा नेकपा(एमाले)का टाँसी तुञ्दुप गुरुङ निर्विरोध हुनुभएको हो । त्यस्तै शे–फोक्सुण्डोमा धावा गुरुङ र डोल्पो बुद्ध गाउँपालिकामा मल्लटसी गुरुङ स्वतन्त्र उम्मेदवारका रुपमा उपाध्यक्षमा निर्विरोध हुनुभएको छ ।

प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लामा १३ हजार पाँच सय ५६ पदका लागि पहिलो चरणको निर्वाचन यही वैशाख ३१ गते आइतबार हुँदैछ । आयोगका अनुसार उपप्रमुखमा दुई, वडाध्यक्षमा ५६, खुल्ला सदस्यमा एक सय १६, महिला सदस्यमा ६३ र दलित महिला सदस्यमा ७७ निर्विरोध भएका छन् । निर्विरोध हुने पुरुष एक सय ६९ र महिला एक सय ४७ छन् ।

दलगत रुपमा काँग्रेसका ९४, एमालेका एक सय ४२, नेकपा (माओवादी केन्द्र)का ३६, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका पाँच तथा नयाँ शक्ति पार्टी र नेपाल परिवार दलका एक एक उम्मेदवार निर्विरोध भएका हुन् । त्यस्तै २१ पुरुष र ११ महिला स्वतन्त्र र स्पष्ट रुपमा पहिचान नखुलेका तीन जना पनि निर्विरोध भएको जनाइएको छ । निर्विरोध हुने दल र सङ्ख्या तालिकामा देखाइएको छ –

पदअनुसार वर्गीकरण
पुरुष महिला जम्मा
अध्यक्ष २ २
उपाध्यक्ष २ २
वडाध्यक्ष ५४ २ ५६
वडा सदस्य खुला १११ ५ ११६
सदस्य महिला ६३ ६३
दलित महिला सदस्य ७७ ७७
जम्मा १६९ १४७ ३१९
दलगत वर्गीकरण
पुरुष महिला जम्मा
काँग्रेस ५८ ३६ ९४
एमाले ७९ ६३ १४२
माओवादी केन्द्र १० २६ ३६
नेमकिपा २ २
राप्रपा १ ४ ५
नयाँ शक्ति १ १
स्वतन्त्र २१ ११ ३२
परिवार दल १ १
खुल्न नसकेको ३ ३
जम्मा १६९ १४७ ३१६

रासस

तपाइँको प्रतिक्रिया ।