झोर कृषि पकेट क्षेत्र ः अधिकारी

कपन अनलाइन 
काठमाडौंको उर्वरायुक्त कृषि क्षेत्र कंक्रिटले भरिँदैछ । गाउँगाउँका खेतीयोग्य जमिन पनि घर घडेरीमा परिणत हुँदैछन् । टोखा नगरपालिका क्षेत्रमा पर्ने झोरलाई भने एमालेले कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । एमालेबाट टोखा नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका प्रकाश अधिकारीसँग निर्वाचन केन्द्रित कुराकानी ः

टोखामा कस्तो कृषि पकेट बनाउने योजना छ ?
टोखा घना वस्तीको रुपमा विकास भइरहेको छ । खेतीयोग्य जमिन लोपहँुदै गइरहेको छ । झोरलाई कृषिको पकेट क्षेत्रको रुपमा अघि बढाउँछौं । टोखाको शहरी क्षेत्रमा भने हामी खेतीयोग्य जग्गामा आधुनिक खेती र कौसी खेतीलाई हामी प्रोत्साहन गर्नेछौं । यो हाम्रो प्रतिबद्धता मात्र होइन ।

यहाँको विकासबारे अरु योजना कस्ता छन ?
टोखा राजधानीको पूरानो नेवार वस्ती हो । यसको ऐतिहासिक र सांस्कृतिक महत्व छ । टोखा प्राकृतिक सम्पदाको धनी सुन्दर शहर हो । त्यसैले हामी टोखालाई सांस्कृतिक सम्पदाको नगरको रुपमा विकास गर्नेछौं । यस क्षेत्रको संस्कृृति, सभ्यता संरक्षण र सम्बद्र्धनमा हामी जुट्नेछौं । स्वच्छ सफा सुन्दर हराभरा टोखा नगरपालिका बनाउने छौं । यहाँ भएका मठ मन्दिर र कलात्मक वस्तुहरुको संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिनेछौं । जसबाट टोखा सांस्कृति पर्यटकीय क्षेत्र बन्नेछ ।

टोखामा खानेपानीको समस्या कसरी हल हुन्छ ?
टोखा नगरपालिकामा विशेष गरी खानेपानीको समस्या छ । त्यसका लागि हामीले श्रोतको पहिचान पनि गरिसकेका छौ । कहाँ, कुन श्रोत परिचालन गरेर हुन्छ खानेपानीको समस्याबाट टोखावासीलाई मुक्त गर्नेछौ ।

बिष्णुमति त ढलमति हुँदैछ । कसरी व्यवस्थापन गर्ने सोच्नु भएको छ ?
हो, ढल मिसिएर बिष्णुमति नदी अहिले प्रदुषित छ । नदीमा ढल हाल्न नदिने र खोलाको दुबै किनारमा करिडोर बनाएर वृक्षारोपण गर्नेछौ ।

बढ्दो शहरीकरण भएको गोंगबु क्षेत्रबारे के सोच्नु भएको छ ?
गोंगबु क्षेत्रलाई हामी व्यापारिक क्षेत्रको रुपमा विकास गर्ने योजनामा छौं । धापासीलाई भने बौद्धिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य हो । यो हाम्रो प्रतिबद्धता मात्र होइन ।

तपाईको चुनावी तयारी कस्तो छ ?
पार्टीले उम्मेदवार बनाएपछि हामीले समावेशी टिम बनाएर चुनावी अभियान सञ्चालन गरिरहेका छौं्र । मैले २०५४ सालको स्थानीय निर्वाचनमा गोंगबु गाविसको उपाध्यक्ष निर्वाचित भएर यस क्षेत्रका जनताको सेवा गरेको छु । जनताको हरेक गतिविधिमा प्रत्यक्ष सहभागी हुँदै आएको छु । यस क्षेत्रका जनताको नजिकबाट सुखदुःख बुझ्ने मौका पाएको छु । समस्याहरु के छन् भन्ने मलाई राम्ररी थाहा छ । टोखा नगरपालिकालाई कसरी समुन्नत र समृद्ध बनाउन सकिन्छ भन्ने मसँग योजना र भिजन छ । यो नगरलाई हामी भ्रष्टाचारमुक्त बनाउनेछौ । विगतको कामको अनुभव र मूल्याङ्कनको आधारमा मलाई र हाम्रो टिमका साथीहरुलाई भोट दिनेमा म ढुक्क छु ।

निर्वाचनको परिणाक कस्तो आउने आँकलन गर्नु भएको छ ?
जित्नेमा म पूर्ण आशावादी छु । म मात्र होइन, एमालेको हाम्रो सिंगो टिमले नै चुनाव जित्नेमा हामी ढुक्क छौं । हामी चुनावी प्रचारप्रसारमा पनि लागेका छौं । जनताले देखाएको मायाले पनि हामीलाई जित्नेमा विश्वस्त बनाएको छ ।

प्रस्तुती ः दीपु पोखरेल

तपाइँको प्रतिक्रिया ।